BIZMANDU
www.bizmandu.com

जनतालाई महँगीबाट राहत दिन कांग्रेसका १२ प्रतिज्ञा, १० लाखसम्म कमाउनेलाई आयकर नलाग्ने

२०८२ फागुन ७

जनतालाई महँगीबाट राहत दिन कांग्रेसका १२ प्रतिज्ञा, १० लाखसम्म कमाउनेलाई आयकर नलाग्ने
जनतालाई महँगीबाट राहत दिन कांग्रेसका १२ प्रतिज्ञा, १० लाखसम्म कमाउनेलाई आयकर नलाग्ने

काठमाडौं। नेपाली कांग्रेसले जनतालाई महँगीबाट राहत दिन १२ बुँदे प्रतिज्ञा गरेको छ।

Tata
GBIME
Nepal Life

कांग्रेसले बिहीबार चुनावी प्रतिज्ञा पत्र सार्वजनिक गर्दै जनतालाई राहतस्वरुप वार्षिक १० लाख रुपैयाँसम्मको वार्षिक आयमा आयकर नलाग्ने व्यवस्था गर्ने बताएको हो।

‘महँगीको चरम मारमा परेका आम सर्वसाधारणलाई तत्काल राहत दिनु आफ्नो प्राथमिक दायित्व हुनेछ। यसमा लागि बजारमा हुने सिन्डिकेट, कार्टेलिङ र कृत्रिम अभावलाई निर्मूल पार्न प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐनको पूर्ण कार्यान्वयन गरी खुला र स्वस्थ प्रतिस्पर्धा सुनिश्चित गर्छौं,’ प्रतिज्ञापत्रमा भनिएको छ, ‘वार्षिक १० लाख रूपैयाँसम्मको व्यक्तिगत आयमा आयकर नलाग्ने व्यवस्था गरी मध्यम र न्यून आय भएकालाई राहत दिन्छौं।’

महँगीबाट राहत दिन बिचौलियाको प्रभाव घटाउनेदेखि घरभाडा नियमन गर्ने सम्मका विषय कांग्रेसले प्रतिज्ञा पत्रमा समेटेको छ।

‘बजारमा मूल्य र गुणस्तरको पारदर्शिता कायम गर्न डिजिटल प्रविधिको प्रयोगमार्फत मूल्य सूचना प्रणाली लागू गरी बिचौलियाको अनावश्यक प्रभावलाई न्यून पाछौं। खेतबारीदेखि भान्सासम्म आपूर्ति संयन्त्र बनाएर उपभोक्तालाई सस्तो मूल्य र किसानलाई उचित लाभ दिलाउछौं,’ कांग्रेसको चुनावी प्रतिज्ञा पत्रमा भनिएको छ, ‘घरभाडा नियमनका लागि स्पष्ट निर्देशिका ल्याउनुका साथै न्यून आय भएका परिवारका लागि सरकारी जग्गामा सस्तो सामूहिक आवास र सहुलियत आवास कर्जाको व्यवस्था गर्छौं। सहरमा बस्ने विद्यार्थी र कार्यरत युवाका लागि सार्वजनिक-निजी साझेदारीमा सुलभ होस्टल सञ्चालन गरी बसोबास खर्च घटाउँछौं।’

आयातित ग्यासको विकल्पमा सहुलियत दरको बिजुली र विद्युतीय चुल्हो प्रवर्धन गरी भान्साको मासिक खर्च घटाउने कांग्रेसको योजना छ। खाना पकाउने ग्यासमा दिइने अनुदानलाई वास्तविक गरिब र लक्षित वर्गको बैंक खातामा सिधै पुग्ने प्रणाली लागू गर्ने कांग्रेसले प्रतिज्ञापत्रमा उल्लेख गरेको छ।

कांग्रेसले सडक लगायत रणनीतिक पूर्वाधारहरूको विस्तारमार्फत वस्तु ढुवानीको खर्च घटाई बजार भाउ सस्तो बनाउने बताएको छ। ‘सार्वजनिक शिक्षा र उपचारको गुणस्तर बढाउँदै स्वास्थ्य र शिक्षामा नागरिकले आफ्नो गोजीबाट गर्नुपर्ने खर्चलाई न्यूनतम गर्छौं,’ कांग्रेसले भनेको छ।