BIZMANDU
www.bizmandu.com

डिजिटल पूर्वाधारलाई एमालेले बनायो चुनावी नारा, ‘विकास र सुशासनको आधार बनाउँछौं’

२०८२ फागुन ७

डिजिटल पूर्वाधारलाई एमालेले बनायो चुनावी नारा, ‘विकास र सुशासनको आधार बनाउँछौं’
डिजिटल पूर्वाधारलाई एमालेले बनायो चुनावी नारा, ‘विकास र सुशासनको आधार बनाउँछौं’


काठमाडौं। नेकपा एमालेले युवाहरुलाई १० हजार डलर बराबरको बैंक कार्ड व्यवस्था गर्ने बताएको छ।

Vigo
GBIME
Tata

एमालेले बिहीबार चुनावी घोषणापत्रमार्फत सूचना प्रविधि क्षेत्रमा आईटी/टेक उत्पादनहरूको अनुसन्धान, उत्पादन, तथा निर्यात प्रवर्धन गर्न र स्टार्टअप व्यवसायमार्फत अनलाइन अन्तर्राष्ट्रिय कारोबारलाई सहज बनाउन युवाहरूलाई प्रति व्यक्ति १० हजार डलर बराबरको बैंक कार्ड उपलब्ध गराउने बताएको हो।

 यो सुविधाले स्टार्टअप उद्यममा जोडिन चाहने युवाहरूलाई एआई, कन्टेन्ट क्रिएसन, डिजिटल मार्केटिङ एप विकास तथा अन्य आईटी र अनलाइन सेवासम्बन्धी तालिम तथा सेवा उपयोग गर्न सहज बनाइ १० लाख युवालाई स्वरोजगारतर्फ उन्मुख गराउने एमालेको विश्वास छ।

यस्तै १८ देखि २८ वर्ष उमेर समूहका युवालाई एक वर्षसम्म हरेक महिना १० जिबी इन्टरनेट डाटा निःशुल्क उपलब्ध गराउने एमालेको प्रतिबद्धता छ।

एमालेले ४ जी सेवा ७७ जिल्लामा विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।

नेपाली उद्यमीलाई विदेशमा कम्पनी स्थापना गर्न तथा विदेशी कम्पनीहरूमा कुनै पनि प्रकृतिको सेयर खरिद गर्नसक्ने व्यवस्थालाई थप सहज र व्यवस्थित बनाउने एमालेको प्रतिबद्धता छ।

एमालेले डिजिटल पूर्वाधारलाई विकास र सुशासनको आधार भनेको छ।

‘सूचना तथा सञ्चार प्रविधिको अधिकतम प्रयोग गरी सुशासनमा आमूल परिवर्तन ल्याउनेछौं। नेपालको आफ्नै भू-उपग्रह स्थापना गरी ग्रामीण तथा दुर्गम क्षेत्रमा आधारभूत दूरसञ्चार सेवा र डिजिटल कनेक्टिभिटी सुनिश्चित गर्नेछौं,’ घोषणापत्रमा भनिएको छ, ‘सूचना प्रविधि क्षेत्रका अवसरको उपयोग गर्दै विद्यमान चुनौती सामना गर्नसक्ने विधि र संरचना निर्माण गर्नेछौं।’

एमालेले घोषणापत्रमा ‘कृत्रिम बुद्धिमत्ता (एआई) र जेनेरेटिभ एआईमा आधारित नवप्रवर्तनलाई उच्च प्राथमिकता दिदै सोभरेन लार्ज स्याङ्वेज मोडल विकास र प्रयोगमार्फत् छोटो समयमै ठूलो प्रभाव पार्नसक्ने क्षेत्रहरुमा एआइ प्रविधि तत्काल लागू गर्ने’ उल्लेख गरेको छ।

डिजिटल नेपाल फ्रेमवर्कलाई समयानुकूल परिमार्जन गरी प्रभावकारी रुपमा कार्यान्वयन गर्ने एमालेको प्रतिवद्धता छ।