काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली युवाका लागि आगामी ५ वर्षमा १५ लाख रोजगारी सिर्जना गर्ने गरी योजना बनाएको बताएका छन्।
काठमाडौंको राष्ट्रिय सभागृहमा चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्दै सभापति थापाले कांग्रेसले चलाएको मिसन रोजगारीलाई निरन्तरता दिन र संविधानमा लेखिएको मौलिक हकअन्तर्गतको रोजगारी सिर्जना गर्ने गरी संकल्पपत्र तयार गरेको बताए।
उनले यत्तिकै ५ हजार रोजगारी नभइ कृषि, पर्यटन, भौतिक पूर्वाधार, सूचना प्रविधि लगायतका क्षेत्रगत विधामा योजना बनाएर रोजगारी सिर्जना गर्ने संकल्प लिएको बताए।
उनले भने, ‘५ हजार युवाका लागि कार्यक्रम बनाउने छौँ, चाहे त्यो संसद्मा होस् या सरकारमा होस्। यस बारेमा कार्यक्रम नै बनाएका छौँ।’
उनले युवालाई डिजिटल स्वतन्त्रता र सिर्जनाको सम्मान गर्ने योजना कांग्रेससँग रहेको जिकिर गरे।
‘अहिलेका युवासँग थुप्रै कला, साहित्य र सिर्जनाहरू छन्। उहाँहरूले सिर्जना गर्नु भएको छ,’ उनले भने, ‘तर, त्यसलाई बेच्न बजारमा पाइराख्नु भएको छैन। यसबाट स्वतन्त्रता खोज्नु भएको छ। यसका बारेमा हामी प्रष्ट छौँ।’
युवामा सीप र सिर्जनालाई चलायमान बनाउनुपर्नेमा उनले जोड दिएका छन्।
‘कुनै युवा वा युवतीले आफूले अध्ययन गरिरहेको शिक्षा वा सीपपछि गएर काम नलाग्ने हुनु भएन। उसलाई दक्ष बनाइ राख्न अध्ययन गरिरहेको सीपमा थप गतिशीलता दिनु जरूरी छ। किनकि अहिले बजार प्रतिस्पर्धाको छ,’ उनले भने।
यस्तै, उनले ब्रेन ड्रेनसँगै ब्रेन गेन अर्थात् युवाको दक्ष जनशक्ति पलायनसँगै दक्ष जनशक्तिलाई संस्थागत रुपमा कसरी ल्याउने भन्नेतर्फ पनि योजना बनाएको सुनाए।
उनले भने, ‘विदेश पलायन भएका युवालाई नेपालमै कसरी संस्थागत ढंगबाट काम गर्ने वातावरण सिर्जना बनाउन सकिन्छ भन्ने कुराको योजना तयार पारेका छौँ।’