काठमाडौं। व्यापार बढ्दा सिमेन्ट कम्पनीको वित्तीय विवरणमा सुधार आएको छ। सिमेन्ट कम्पनीले चालु आर्थिक वर्ष दोस्रो त्रैमासमा सुधारिएको रिपोर्ट सार्वजनिक गरेका छन्।
नेपाल स्टक एक्सचेन्जमा सूचीकृत ४ वटै सिमेन्ट कम्पनीको वित्तीय अवस्थामा सुधार आएको छ। सिमेन्ट कम्पनी सबैले नाफा बढाएका छन्। सर्वोत्तम सिमेन्टले सबैभन्दा धेरै २.२३ गुणाले नाफा बढाएर ५३ करोड ८३ लाख रुपैयाँ कमाएको छ।
कम्पनीले यो वर्ष पुससम्म कमाएको मुनाफा गत वर्ष सोही अवधिको तुलनामा १२३.०१ प्रतिशत धेरै हो। सर्वोत्तमले गत वर्ष ६ महिनामा २४ करोड १४ लाख रुपैयाँ नाफा कमाएको थियो। कम्पनीले ६ महिनामा ४ अर्ब ८ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ।
यो रकम पोहोरभन्दा २.५२ प्रतिशत धेरै हो।
शिवम् सिमेन्टले ६ महिनामा ५२८.५२ प्रतिशतले नाफा वृद्धि गरेको छ। कम्पनीले यो वर्ष साउनदेखि पुससम्म ३५ करोड ७० लाख रुपैयाँ नाफा कमाएको छ। गत वर्ष ६ महिनामा कम्पनीको नाफा ५ करोड ६८ लाख रुपैयाँमा सीमित थियो।
गत आर्थिक वर्ष पुससम्म १२ करोड २० लाख रुपैयाँ नोक्सानीमा गएको सोनापुर मिनरल्स एण्ड आयल कम्पनी यसपालि व्यापार बढाएर नाफामा गएको छ। कम्पनीले यो वर्ष पुससम्म ४ करोड ७५ लाख रुपैयाँ नाफा कमाएको छ।
नेपाल सिमेन्ट उद्योग संघका अध्यक्ष रघुनन्दन मारुले निर्माण सामग्रीको माग बढ्दै गएका कारण आफूहरुको ब्यालेन्स सिटमा सुधार देखिएको बताए।
‘बजारमा डिमाण्ड उत्साही हुने गरी बढेको त छैन। तर, पहिलेभन्दा अलिकति स्टेबिलिटी आएको छ। बैंकहरूको ब्याजदर घटेका कारण हाम्रो वित्तीय लागत कम भएकाले पनि रिपोर्ट राम्रो देखिएको हो,’ उनले भने, ‘चुनावपछि बजारमा माग बढ्ने अनुमान गर्न सकिन्छ। सरकारले पनि पुँजीगत खर्च बढाउँछ।’
घोराही सिमेन्टको व्यापार २०.१९ प्रतिशत वृद्धि भएर नोक्सानी घटेको छ। सिमेन्टले यो वर्ष ६ महिनामा २ अर्ब रुपैयाँ आम्दानी गरेको छ। पोहोर ६ महिनामा ६६ करोड ७१ लाख रुपैयाँ नोक्सानीमा रहेको सिमेन्टले नोक्सानी घटाएर २६ करोड ४९ लाख रुपैयाँमा झारेको छ।
आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा निर्माण क्षेत्रको वृद्धि ऋणात्मक हुँदा सिमेन्ट तथा उत्पादन क्षेत्रका कम्पनीको वित्तीय अवस्थामा असर परेको थियो।
दुई आर्थिक वर्षको ६ महिनामा उत्पादन तथा प्रशोधन क्षेत्रका कम्पनीको वित्तीय अवस्था
| कम्पनी | २०८२/८३ साउन-पुस खुद नाफा (हजारमा) | २०८१/८२ साउन-पुस खुद नाफा (हजारमा) | फरक % | २०८२/८३ साउन-पुस सञ्चालन आम्दानी (हजारमा) | २०८१/८२ साउन-पुस सञ्चालन आम्दानी (हजारमा) | फरक % |
|---|---|---|---|---|---|---|
| सर्वोत्तम सिमेन्ट | ५३८३५० | २४१४०५ | १२३.०१ | ४०८२५८३ | ३९८२२५४ | २.५२ |
| हिमालयन डिष्टिलरी | ४४८३६७ | ४०४९१९ | १०.७३ | ३२३३०८८ | ३०३२२३२ | ६.६२ |
| युनिलिभर नेपाल | ४३०९०० | ४७७८०० | -९.८२ | १७८१२०० | १९४५६०० | -८.४५ |
| शिवम् सिमेन्ट | ३५७०६४ | ५६८१० | ५२८.५२ | ३०९८२८६ | ३१०१६९६ | -०.११ |
| बोटलर्स नेपाल तराई | १३५४९४ | -११८९४१ | – | ३३६८६४१ | २९६८६९५ | १३.४७ |
| सोनापुर | ४७५०३ | -१२२०८५ | – | १६९०३५७ | ९१५८०५ | ८४.५८ |
| बोटलर्स नेपाल बालाजु | ३१२६८ | -२४५०४२ | – | ४७५२३०३ | ४३६४३५२ | ८.८९ |
| नेपाल ल्युब आयल | २१०९५ | २१९६२ | -३.९५ | ६५९६९६ | ५४९६७१ | २०.०२ |
| श्रीनगर एग्रिटेक | १५६५६ | ५०६५ | २०९.१ | ८७८६२१ | ५४८१९० | ६०.२८ |
| एसवाई प्यानल नेपाल | ७८७१ | २७२८१ | -७१.१५ | ३११७८६ | ३३८६५६ | -७.९३ |
| सागर डिष्टिलरी | -२६१५८ | -१४५९६ | – | १२९१८४ | ८३२६७ | ५५.१४ |
| ओम मेगाश्री फर्मास्युटिकल्स | -३८४३६ | – | – | १०४८३२ | – | – |
| घोराही सिमेन्ट | -२६४९०२ | -६६७१०३ | २०८१५४८ | १७३१९५३ | २०.१९ |
नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष तथा पाल्पा सिमेन्टका अध्यक्ष राजेशकुमार अग्रवाल समग्र बजार माग उल्लेख्य रुपमा बढ्न नसकेको तर सानातिना घर बनाउनका लागि निर्माण सामाग्रीको माग आइरहेको बताउँछन्।
‘बजारमा अहिले पनि देखिने गरी माग बढ्न सकेको छैन। निर्माण क्षेत्रले खासै गति लिएको देखिंदैन। तर, सानातिना घर निर्माणकका लागि माग बढेकाले कम्पनीको व्यापार बढेको हो,’ उनले भने, ‘निर्माण क्षेत्रका कतिपय ठेक्का तोडिंदा अन्योल बढेको छ। सरकारको पुँजीगत खर्च बढेको छैन। चुनावपछि माग बढ्छ कि?’
दुई आर्थिक वर्षको ६ महिनामा उत्पादन तथा प्रशोधन क्षेत्रका कम्पनीको वित्तीय अवस्था
| कम्पनी | २०८२/८३ साउन-पुस वित्तीय लागत (हजारमा) | २०८१/८२ साउन-पुस वित्तीय लागत(हजारमा) | फरक % | २०८२/८३ साउन-पुस प्रति सेयर आम्दानी (रुपैयाँ) | २०८१/८२ साउन-पुस प्रति सेयर आम्दानी (रुपैयाँ) |
|---|---|---|---|---|---|
| शिवम् सिमेन्ट | ७६५० | ४२१६ | ८१.४५ | १२.७७ | २.०८ |
| घोराही सिमेन्ट | -३३७७९८ | -४८०७९१ | – | -५.२७ | -१५ |
| सोनापुर मिनरल्स एण्ड आयल | -२४६७०२ | -१२५२७५ | – | १.५४ | -३.९७ |
| सर्वोत्तम सिमेन्ट | १२७२१५ | १५६२९२ | -१८.६ | २०.६१ | ९.७ |
| सागर डिष्टिलरी | १२०६८ | ९५६९ | २६.१२ | -७.२१ | -५.०३ |
| बोटलर्स नेपाल बालाजु | -७९६६० | -१०१२१४ | – | १९ | -२४० |
| नेपाल ल्युब आयल | -१३६८६ | -१३८९० | – | ४८.२५ | ६०.२९ |
| बोटलर्स नेपाल तराई | -६९८१३ | -८९६८६ | – | २२४ | -१९७ |
| युनिलिभर नेपाल | ९३०० | ६८०० | ३६.७६ | ४६८ | ५१९ |
| हिमालयन डिष्टिलरी | ६२७ | ६५५ | -४.२७ | २४.३१ | २१.९६ |
| ओम मेगाश्री फर्मास्युटिकल्स | – | – | – | -१२.८१ | – |
| श्रीनगर एग्रिटेक | ३२८९१ | २९६६४ | १०.८८ | १.०३ | ०.३९ |
| एसवाई प्यानल नेपाल | -८६ | -१६४ | – | १.६५ | – |
सिमेन्ट उद्योग मात्र होइन, उत्पादन तथा प्रशोधन क्षेत्रका अरु कम्पनीले पनि व्यापार बढाएका छन्। हिमालयन डिष्टिलरी, बोटलर्स नेपालका दुवै कम्पनी र श्रीनगर एग्रिटेकले नाफा बढाएका छन्। युनिलिभर नेपाल, नेपाल ल्युब आयल र एसवाई प्यानल नेपालको नाफामा भने गिरावट आएको छ।
ओम मेगाश्री र सागर डिष्टिलरी नोक्सानीमा छन्। सागर डिष्टिलरीको नोक्सानी बढेको छ। पोहोर नोक्सानीमा गएका कोकाकोला उत्पादक कम्पनी बोटलर्स नेपालका दुवै कम्पनी यसपालि नाफामा छन्।