BIZMANDU
www.bizmandu.com

संचालनमा आयो १३२ केभीको बुर्तिबाङ सवस्टेसन, लागत मूल्य ४ अर्ब ७९ करोड रुपैयाँ

२०८२ फागुन ६

संचालनमा आयो १३२ केभीको बुर्तिबाङ सवस्टेसन, लागत मूल्य ४ अर्ब ७९ करोड रुपैयाँ
संचालनमा आयो १३२ केभीको बुर्तिबाङ सवस्टेसन, लागत मूल्य ४ अर्ब ७९ करोड रुपैयाँ


काठमाडौं । १३२ केभी बुर्तिबाङ सवस्टेसन संचालनमा आएको छ। यही फागुन २ गते निर्माण सम्पन्न भएपछि फागुन ३ र ४ गते परीक्षण गरिएको सवस्टेसन मंगलबारदेखि नियमित रूपमा संचालन गरिएको हो।

GBIME
Tata

एक वर्ष अघि संचालनमा आउने भनिएको उक्त सवस्टेसनअन्तर्गत  बागलुङको बडिगाड गाउँपालिका क्षेत्रमा स्थानीयले टावर निर्माण र लाइन तान्न अवरोध गरेपछि ढिलाइ भएको हो। कपिलवस्तुको मोतिपुरबाट सन्धिखर्कसम्मको लाइन निर्माण विसं २०७८ चैत १२ गते सुरु भएकामा अघिल्लो वर्ष असार ७ गतेदेखि संचालन गर्ने योजना थियो।

ठाउँठाउँमा काम गर्दा अवरोध आएपछि समयमा सञ्चालनमा ल्याउन नसकेको आयोजना प्रमुख मनोज चौधरीले बताउनुभयो । करिब डेढ वर्ष बडिगाडका स्थानीयले टावर निर्माण रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेपछि आयोजनाको काम रोकिएको उनको भनाइ छ। गत वर्ष असार ९ गते सर्वोच्चले रिट खारेज गरिदिएपछि तीव्रगतिमा काम गरेर सम्पन्न गरेको उनले बताए।

पहाडी जिल्लालाई केन्द्रीय प्रसारण लाइनसँग जोड्नका लागि कपिलवस्तुको मोतिपुरबाट आयोजनाले अर्घाखाँचीको सन्धिखर्क, गुल्मीको तम्घास, पौँदीअमराई हुँदै बुर्तिबाङ जोड्ने १३२ केभीको सवस्टेसन विसं २०७८ देखि निर्माण सुरु भएको थियो। ढोरपाटन नगरपालिका–२ खल्टुबोटमा सवस्टेसन निर्माण गरेर संचालन गरिएको आयोजना प्रमुख चौधरीले जानकारी दिए।

उनले भने, ‘हामीले अघिल्लो वर्ष संचालनमा ल्याउने गरि काम गरेका थियौं। तर, विभिन्न समस्याले गर्दा काम सम्पन्न हुन सकेको थिएन। फागुन २ गते काम सकिएलगत्तै परीक्षण गरेका थियौं। अहिले नियमित रूपमा प्रसारणलाइन संचालनमा आएको छ।’

कपिलवस्तुबाट बुर्तिबाङसम्म ८६ किलोमिटर दूरी रहेको छ। यहाँ ‘डबल सर्किट’को तार विस्तार गरिएको प्रमुख चौधरीले बताए। उनका अनुसार ४ अर्ब ७९ करोड लागतमा उक्त आयोजना संचालनमा आएको हो।