जनकपुर । अघिल्लो निर्वाचनमा काठमाडौं, पोखरा चितवन लगायतका क्षेत्रमा मात्रै केन्द्रित भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यस पटक नेपाली कांग्रेस र नेकपा एमाले जस्ता पुराना पार्टीसँग देशभर प्रतिस्पर्धामा छ। मधेशलाई रास्वपाले पनि अरु दलले जस्तै चुनावको केन्द्रमा राखेको छ। रास्वपाले मधेशमा आफ्नो पक्षमा माहोल बनाउन माघ ५ गते नै आमसभा गरेको थियो। धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट एमाले, कांग्रेस र मधेश केन्द्रित दलहरुलाई चुनौती दिन रास्वपाले मनिष झालाई उम्मेदवार बनाएका छ। साहको प्रतिस्पर्धा कांग्रेस नेता विमलेन्द्र निधि, एमालेकी जुली कुमारी महतो लगायतका उम्मेदवारसँग छ। रास्वपाका उम्मेदवार मनिष झालाई बिजमाण्डूका प्रकाश भण्डारी र सबिन ढकालले सोधे –
मधेशमा माहोल कस्तो छ? आफैंले कतिको चुनौती महसुस गर्नुभएको छ, या सहजै जित्छु भन्ने लागेको छ?
विगत ७ वटा निर्वाचनदेखि हेर्ने हो भने यो ठाउँमा कुनै बेला राप्रपाको पुण्य प्रताप मल्ल, कुनै बेला यहाँ आएर मधेशवादी दलको तर्फबाट राजेन्द्र महतो, कुनै बेला यही को स्थानीय एकजना नेता संजय शाह निर्वाचित भए। यो फरक फरक दलले जित्दै आएको ठाउँ हो।
नयाँ परिवर्तित राजनीतिक अभ्यास आउँदै गर्दा खेरि स्वीकार्यता सहजै पाइन्छ। परिवर्तनलाई सहजै स्वीकार गर्ने र परिवर्तनको लागि सधै तयार रहने निर्वाचन क्षेत्रको रुपमा धनुषा ३ लिन सकिन्छ।

हामीले माघ ५ गते परिवर्तनको उद्घोष सभा भनेर गर्यौं। त्यसपछि माहोल सकारात्मक छ। हामी हेर्न सक्छौं कि जनकपुर परिवर्तनको लागि तयार छ।
तपाईले अब म सञ्चार मन्त्री बन्ने हो भन्ने खालको कुरा गर्नुभएको छ। त्यसले तपाईं आफ्नै पार्टी भित्र पनि टार्गेटमा हुनुहुन्छ कि? बालेन शाह प्रधानमन्त्री बने भने मन्त्री छान्ने काम उहाँको हो नि?
होइन! यो अरुले फैलाएको हल्ला हो। म स्वर्णिम दाई (स्वर्णिम वाग्ले) अर्थ मन्त्री हो भन्छु। किनभने त्यो कुरा त निश्चित प्राय: नै छ। उहाँ जितेर आइसकेपछि उहाँ अर्थ मन्त्री बन्नुहुन्छ। हामीलाई सबैलाई कुनै न कुनै आफ्नो सेक्टर वाइज तयारी गर्नु है भनेर भनी राख्नु भएको हुन्छ। यो भन्दा अगाडि पनि त्यस्तो अभ्यास थियो।
मैले आफूले सार्वजनिक सभाहरुमा मन्त्री भनेर कतै दाबी गर्दै हिँडेको नै छैन। तर, मेरो बारेमा अरुले पेनिट्रेट गर्दिने, मनिष चाहिँ यो हुन्छ होला भनेर भन्दिने। त्यो किसिमको हल्लाले मलाई धेरै ठाउँ अप्ठ्यारो पनि लागिराखेको हुन्छ।
अस्ति जलेश्वरमा पनि उद्घोषकले सम्भावित संचार मन्त्री भन्दा मलाई आफैलाई अनइजी फिल भयो। यो किन भन्या होला? यो ठाउँमा यो विषयमा त्यो सन्दर्भमा पुग्ने बेला नै भएको छैन। यो भन्दा अगाडि दुई पटक हामी सरकारमा गयौं। दुई चोटी सरकारमा जाँदा खेरि पनि म मन्त्री भइन। मैले कहिले दाबी नै गरिन। मलाई के लाग्यो भने म तयार नै छैन अहिले। त्यसका लागि मैले अझै सिक्न बाँकी छ, अझै बुझ्न बाँकी छ।
म यो देशको उत्कृष्ट उम्मेदवार होइन, म त्यो दाबी गर्दिन किनकि म भन्दा धेरै राम्रो नेताहरु हुनुहुन्छ। तर यहाँ भएका उम्मेदवारहरु मध्ये चाँहि म उत्कृष्ट हो।

गएपछि त एकदमै सशक्त भएर जाने हो नि। हल्का रुपले जाने होइन। सरकारमा प्रयोग हुन र प्रयोग गर्न जाने होइन। फेरि ‘वान एट अ टाइम पोलिसी’ हुन्छ। यो क्याम्पेनहरूमा, टूर्नामेन्ट्सहरूमा भर्खर लिग खेलिराखेको टिमले अब फाइनलमा चाहिँ कस्तो टिमसँग खेल्ने भनेर सोच्दैन। उसले लिग जित्न खोज्छ। म अहिलेको स्टेजमा यो निर्वाचन भनेको मेरो लागि लिग हो।
चुनाव जित्यो भने रास्वपा र तपाईंले भनिरहनुभए जसरी एजेण्डा वाचाहरू पूरा गर्न अप्ठेरो होला?
राजनीतिक संस्कारको कुरा हो। पहिला राजनीतिक संस्कार परिवर्तन हुनुपर्यो। संस्कारको तीनवटा पाटो हुन्छ। विधि, व्यवहार र त्यो विधि र व्यवहारको नियमित अभ्यास। हामीले उम्मेदवारको करारको अभ्यास गर्यौं। त्यसपछि हामीले ‘राइट टु रिकल’को प्राक्टिस पनि गर्यौं। अबको च्यालेन्ज भनेको डेलिभरीको हो, अस्तिको च्यालेन्ज भनेको प्याटर्न चेन्ज गर्नु पर्ने थियो। अब डेलिभरी बढाउनु पर्नेछ। यो सबै कुरा घोषणा पत्रमा पूर्ण खाका आउँछ।
सभापति रवि लामिछाने र बालेनको कार्यशैली एकदमै फरक छ। दलको नेतृत्वभन्दा फरक प्रधानमन्त्री बन्दा कन्फ्लिक्ट भएको इतिहास छ। रवि लामिछाने र प्रस्तावित प्रधानमन्त्री बालेन शाहबीच पछि गएर ठूलो अन्तरद्वन्द्व हुने अवस्था कतिको छ?
छैन। तर, पनि त्यो सजगता आवश्यक हुन्छ। सजगता जहाँ पनि आवश्यक हुन्छ। असन्तुष्टिहरू असहमतिहरू स्वभाविक पनि हुन्छ कहिलेकाहिँ मेरो र सभापति ज्युको कहिलेकाहिँ कुनै कुरामा सधैँ शतप्रतिशत मिलेरै हामी अगाडि बढिरहेको भन्ने हुँदैन। कहिलेकाहिँ उहाँले मेरो कुरा मानिदिनु पर्छ, कहिले मैले उहाँको कुरा मान्नुपर्छ, सम्झौताहरू हुन्छ र एउटै किसिमको चरित्र मिल्न गाह्रो हुन्छ। तर, फरक चरित्रले कम्प्रोमाइज गर्न जानेको हुन्छ।
हामीले माघ ५ गते परिवर्तनको उद्घोष सभा भनेर गर्यौं। त्यसपछि माहोल सकारात्मक छ। हामी हेर्न सक्छौं कि जनकपुर परिवर्तनको लागि तयार छ।

राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उपनिर्वाचनमा तनहुँ १ बाट उम्मेदवार हुनुहुन्थ्यो स्वर्णिम वाग्ले। जो उम्मेदवारी दिनुभन्दा सम्भवत २० दिन अगाडिसम्म अर्को पार्टीमा हुनुहुन्थ्यो। अनि उहाँ आउनुभयो। उहाँको र रवि लामिछानेको पनि लामो संगत त थिएन। लामो मित्रता त थिएन तर अहिलेसम्म हेर्नुस् मजाले प्याटर्न मिल्दै गएको छ।
यहाँको मतदाताका लागि तपाईको मुख्य एजेन्डाहरू के हुन्? जित्ने मुख्य आधार के हो?
म यो देशको उत्कृष्ट उम्मेदवार होइन, म त्यो दाबी गर्दिनँ किनकि म भन्दा धेरै राम्रो नेताहरु हुनुहुन्छ। तर यहाँ भएका उम्मेदवारहरूमध्ये चाहिँ म उत्कृष्ट हो। के कारण उत्कृष्ट हो भने संसद्मा अरु उम्मेदवारहरूभन्दा तुलनात्मक रुपमा मेरो प्रस्तुति, उपस्थिति, अध्ययन, समितिमा मैले गरेको कामहरू अरु उम्मेदवारको भन्दा राम्रो छ।
विगत ४ दशकदेखि राजनीतिक अभ्यासमा रहनुभएको व्यक्ति छ जसले मैले मौका पाइन भन्न पाउनु हुन्न। किनकि चार दशकसम्म राजनीतिक मौका पाउनु भनेको यो औसतभन्दा धेरै हो। उहाँहरूले ४० वर्ष त एकजना प्रतिनिधि भएरै मौका पाउनु भएको छ।
हामी चुकेकै छैनौ भन्दैनौ। एउटा इन्टेन्सनली चुक्ने, योजनाबद्ध रुपमा चुक्ने कुरा हुन्छ। परिस्थितिले गर्दा चुक्ने, बाध्य भएर हुने कुरा अर्को कुरा हुन्छ।

व्यक्तिगत रुपमा भन्दा मैले म जनकपुरमै पढेको जानकी हाई स्कूलमा म यहीँबाट हक्की खेल्थेँ, क्रिकेट खेल्थेँ। यहाँको टिमहरूबाट। जनकपुर बुझेपछि अध्ययनको क्रममा, व्यावसायिक कारण बाहिर बसेँ तर पनि फर्केर आएर जनकपुर साहित्य महोत्सव यहाँको टूर्नामेन्टहरू आयोजना गरेर जनकपुरलाई कसरी योगदान गर्न सकिन्छ भनेर म त्यसमा पनि तुलनात्मक रुपमा अरु उम्मेदवारहरूभन्दा धेरै सक्रिय छु।
म जनकपुरलाई आध्यात्मक राजधानीका रुपमा स्थापित गर्न चाहन्छु। यो सहर कुटी र कुण्ड दुइवटै जोखिममा परेको छ। कुटीअन्तर्गत रहेको सार्वजनिक जग्गाहरूको संरक्षण र कुण्डहरूको सफाई गरेर यहाँको खानेपानी प्रणाली व्यवस्थित गर्नुछ। किनकी त्यो कुण्डहरू सफा नभएर वाटर रिचार्ज भइराखेको छैन। त्यसैले चापाकलमा पानी त्यति आउँदैन त्यसैले त्यो रिसाइकल प्रोसेस गर्नु छ। वातावरणको क्षेत्रमा म जति मत पाउँछु त्यतिवटा वृक्षारोपण हरेक वर्ष गर्छु। त्यो मेरो योजना छ। किनकि वातावरण यहाँ सुधार्नु छ।
गर्मीमा अत्यधिक गर्मी हुने, जाडो बेलामा शीतलहर धेरै हुने किनकि आसपासको त्यो रनिङ वाटरहरू सुकेको कारणले गर्दा खेरि शीतलहर धेरै हुने भइरहेको छ। प्रदेश, संघ र स्थानीयको समन्वय निकै कमजोर देखिन्छ यतातिर।
केही अभ्यास रास्वपाले सुरु गर्यो। तर तीन वर्षपछि आफैले सुरु गरेको अभ्यास फेरि आफैले मिच्यो। जस्तो उदाहरणका लागि तपाईको २०७९ को चुनावको घोषणा पत्रमा ३३ प्रतिशत जुन दलले प्रत्यक्षमा महिला उम्मेदवार बनाउँदैन त्यसलाई चाहिँ चुनावमा भाग नलिन पाउने खालको कानुनी व्यवस्था गर्छौं भन्ने वाचा छ। प्राइमरी इलेक्सनको कुरा थियो। तर, अहिले छैन? अनि रास्वपाले राम्रो गर्छ भनेर कसरी विश्वास गर्ने?
मान्छेले राजनीतिक आर्थिक रिफर्म खोजेको होला। हामी चुकेकै छैनौँ भन्दैनौँ। इन्टेन्सनली चुक्ने, योजनाबद्ध रुपमा चुक्ने एउटा कुरा हुन्छ। परिस्थितिले गर्दा चुक्ने, बाध्य भएर हुने कुरा अर्को कुरा हुन्छ। विभिन्न पार्टीहरू विभिन्न समूह व्यक्तिहरू आएर रास्वपामा गोलबद्ध हुँदा सर्टेन कम्प्रोमाइजेसनहरू भएको छ।

रास्वपाले धेरै ठाउँ जित्यो भने रातारात रिफर्म भइहाल्ने हो? अहिले नेताहरूका भाषण सुन्दा त त्यस्तै छ।
रिफर्मको सुरुवात चाही ‘डे वान, मिनेट वान’ देखि हुन्छ।
रिफर्म हामीले आफैँलाई हैन, मेरो तौल ५ केजी बढाउन मन लाग्यो वा घटाउन मन लाग्यो भन्ने त्यसको प्रोसेस हुन्छ। त्यो म अहिलेदेखि सुरु गर्छु। अहिलेको अहिले, आजको आजै त मेरो ५ किलो डिफ्रेन्स हुँदैन नि! तर, इमान्दारी र समर्पण चाहिँ के हो भने आजैदेखि सुरु गर्छु भन्ने हो।