काठमाडौं। भारतमा सुजुकीको ई-भिटारा सार्वजनिक भएको छ। सुजुकीले उक्त गाडी मंगलबार भारतीय बजारमा ल्याएको हो।
उक्त गाडी डेमो भेहिकलका रुपमा पछिल्लो नाडा अटो शोमा पनि राखिएको थियो। अब भने भारतीय बजारमा लन्च भएसँगै छिट्टै नेपाल पनि आउने निश्चित भएको छ।
कम्पनीले यसको सुरुवाती मूल्य भारु १० लाख ९९ हजार रुपैयाँ तोकेको छ। यो सुजुकीको पहिलो इलेक्ट्रिक गाडी हो, जुन भारतमा निर्माण गरिएको छ।
तर, त्यसमा ग्राहकहरूले ब्याट्रीको भने रेन्टल तिर्नुपर्ने हुन्छ। जसमा प्रति किलोमिटर ३.९९ भारु रेन्टल तय गरिएको छ। कम्पनीले ई-भिटारामा ब्याट्री रेन्टल सुविधा ल्याएको हो। जुन यसअघि एमजीको विन्डसरमा पनि थियो। कम्पनीले ब्याट्री-एज-अ-सर्भिस रेन्टल प्रोग्राम ल्याएको छ।
कम्पनीले १० लाख ९९ हजार भारुमा ल्याएको डेल्टा ट्रिममा ४९ किलोवाट आवर (युनिट) क्षमताको ब्याट्री प्याक अफर गरिएको छ। यस्तै, अर्को हाइ इन्डमा ६१ किलोवाट आवर (युनिट) क्षमताको ब्याट्री प्याख राखिएको छ।
दुई क्षमताका ब्याट्रीले एक पटकको फुल चार्जमा ४४० देखि ५४३ किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने कम्पनीले दाबी गरेको छ।
भारतमा यसको बुकिङ पनि खुलिसकेको छ। यसलाई २१ हजार भारु तिरेर बुक गर्न सकिन्छ। गाडी डेल्टा, जेता र सिग्मा भेरियन्टमा उपलब्ध हुनेछन्।

बाइब्याक ग्यारेन्टी पनि उपलब्ध
कम्पनीले ई-भिटाराको वारेन्टी, बाइब्याक र चार्जिङ सुविधाहरूमा पनि केही राम्रो योजना ल्याएको छ। कम्पनीले ब्याट्रीमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरको वारेन्टी सुविधा ल्याएको छ।
यस्तै, गाडीमा ३ वर्षको वारेन्टी दिएको छ। अतिरिक्त पैसा तिरेर पनि अर्को ५ वर्ष एक्सटेन्डेड वारेन्टी लिन सकिन्छ।
साथै, यो गाडी ५० देखि ६० प्रतिशत बाइब्याक गर्ने सुनिश्चित पनि कम्पनीले गरेको छ। त्यसको लागि सर्त पनि राखिएको छ।
६० प्रतिशत बाइब्याक लिन ३ वर्ष वा ४५ हजार किलोमिटर कुदेको मात्रै हुनुपर्नेछ। यस्तै, ५० प्रतिशत बाइब्याक पाउन ४ वर्ष वा ६० हजार किलोमिटर कुदेको मात्रै हुनुपर्नेछ।
कम्पनीले ई-भिटारामा ७.४ किलोवाट क्षमताको चार्जर पहिलो १ हजार ग्राहकहरूलाई निःशुल्क दिने योजना पनि ल्याएको छ।