BIZMANDU
www.bizmandu.com

हितेन्द्रले तम्घास-बुर्तिबाङ १३२ केभी प्रसारणलाइनको गरे अनुगमन, रोजगारी सिर्जना हुने अपेक्षा

२०८२ फागुन ६

हितेन्द्रले तम्घास-बुर्तिबाङ १३२ केभी प्रसारणलाइनको गरे अनुगमन, रोजगारी सिर्जना हुने अपेक्षा
हितेन्द्रले तम्घास-बुर्तिबाङ १३२ केभी प्रसारणलाइनको गरे अनुगमन, रोजगारी सिर्जना हुने अपेक्षा


गुल्मी। नेपाल विद्यूत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बुर्तिबाङ-पौदीअमराइ-तम्घास-सन्धिखर्क-गोरुसिंगे १३२ केभी प्रसारणलाइन आयोजनाको लाइन तथा सवस्टेसनको स्थलगत अनुगमन गरेका छन्। लाइन निर्माण सम्पन्न भएपछि संचालनमा आएसँगै उनले स्थलगत अनुगमन गरेका हुन्।

GBIME
Tata

उनले गुल्मीको रेसुङ्गा नगरपालिका-७ उनाएचौरस्थित तम्घास (४६ एमभीए) मुसिकोट नगरपालिका अन्तर्गतको पौँदीअमराइ (४६ एमभीए), बागलुङको ढोरपाटन नगरपालिका-२ खल्टुबोटस्थित बुर्तिबाङ (४६ एमभीए) क्षमताका सवस्टेसन तथा लाइनको स्थलगत अनुगमन गरेका हुन्।

शाक्यकै उपस्थितिमा थप प्राविधिक निरीक्षणपछि परीक्षणमा रहेको उनाएचौरस्थित तम्घास सवस्टेसनबाट बुर्तिबाङ सवस्टेसनसम्मको १३२ केभी क्षमताको विद्युत् सर्किट प्रसारणलाइन चार्जमा ल्याइएको प्राधिकरणले जानकारी दिएको छ।

शाक्य नेपाल विद्युत् प्राधिकरणका प्रसारण निर्देशनालयका प्रमुख राजन ढकाल, उच्च भोल्टेज ग्रिड विकास विभागका निर्देशक केदारराज सिलवाल र मझौला भोल्टेज ग्रिड विकास विभागका निर्देश अच्युतबाबु घिमिरेसहित ती सवस्टेसनहरू र लाइनको स्थलगत अनुगमनमा पुगेका थिए।

अनुगमनपछि शाक्यले विद्युत् आपूर्ति व्यवस्थालाई सुदृढ, भरपर्दो, गुणस्तरीय तथा विश्वसनीय बनाउने उदेश्यले प्राधिकरणले उक्त आयोजनालाई महत्त्वपूर्ण रुपमा लिएको जानकारी दिए। शाक्य गुल्मी पुग्दा गुल्मीका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरे पनि तम्घास सवस्टेसनमा पुगेका थिए।

‘यहाँबाट पौँदीअमराइ सवस्टेसन र बुर्तिबाङ सवस्टेसनबाट प्रसारण सुरु भएको छ। पहिला ३३ केभीमा लाइन आउँदा दैनिक १०/१५ पटक विद्युत् आपुर्तिमा समस्या हुने अवस्था थियो,’ उनले तम्घास सवस्टेसनको निरीक्षणपछि भने, ‘अहिले १३२ केभी प्रसारणलाइनमा चार्ज भइसकेपछि विद्युत् नियमित भएको र भोल्टेज पनि राम्रो भएको जानकारी पाएको छु। यो भरपर्दो विद्युत् आपुर्तिका लागि सकारात्मक कुरा हो।’

उनले यी सवस्टेसनमा चार्ज भएसँगै उद्योग-व्यवसायीहरूलाई समेत प्राधिकरणले भरपर्दो र गुणस्तरीय विद्युत् उपलब्ध गराउन सक्नेमा प्राधिकरण आशावादी रहेको बताए।

‘अब यी क्षेत्रमा कृषि उद्योग, साना उद्योग र ठूला-ठूला उद्योग-व्यवसायका लागि आवश्यक विद्युत् दिन प्राधिकरण सक्षम हुनेछ र ती व्यवसाय पनि थप फस्टाउनेमा हामी आशावादी छौँ,’ उनले भने, ‘प्राधिकरणले यो क्षेत्रमा गरेको लगानीले यहाँको अर्थतन्त्रलाई थप माथि उठाउन र रोजगारी सिर्जना गर्न सहयोग पुग्छ भन्नेमा हामी आशावादी छौँ।’

उनले गाउँ वा पहाडबाट तराई झरेर विदेश जाने क्रमलाई पनि रोक्न थोरै भए पनि सहयोग पुग्नेमा समेत प्राधिकरण आशावादी रहेको उल्लेख गरे। निरीक्षणकै क्रममा बुर्तिबाङ पुगेपछि पाँच वटा सवस्टेसन हुँदै यहाँसम्म आइपुगेको भन्दै यी क्षेत्रका वरिपरिका गाउँलाई भरपर्दो विद्युत् दिने र निजी प्रवर्धकहरूको विजुलीलाई ग्रीडमा जोड्न सजिलो उनले हुने उल्लेख गरे।

‘३३/११ केभीबाट विजुली गइरहेको अवस्थामा अब १३२ केभी डबल सर्किट प्रसारणलाइनबाट जान पाउँदा निजी प्रवर्धक र गाउँका जनताका लागि पनि महत्त्वपूर्ण हुनेछ,’ उनले भने, ‘यो वरिपरी पम्पस्टोरेज आयोजनाहरू बन्ने सम्भावना देखिएको छ। १३२ केभीले त्यसका लागि समेत ढोका खोलेको छ।’

उनले दुई दिनसम्म गरिएको प्राविधिक परीक्षण सफलतापूर्वक सम्पन्न भएको भन्दै अब नियमित विद्युत् प्रवाह हुने जानकारी दिए।

आयोजना प्रमुख मनोजप्रसाद चौधरीले कपिलबस्तुको मोतिपुरदेखि बागलुङको बुर्तिबाङसम्म ५ वटा सवस्टेसन रहेको भन्दै यो आयोजना पूर्ण क्षमतामा संचालनमा आएपछि गुल्मी र बागलुङमा विद्युत् आपूर्ति थप भरपर्दो, नियमित र गुणस्तरीय बन्नेमा आशावादी रहेको बताए।

पहाडी जिल्लामा लामो दुरीबाट विद्युत् आपूर्ति गर्दा भोल्टेज घट्ने, ओभरलोड हुने तथा बारम्बार विद्युत् अवरुद्ध हुने समस्या पनि अब घट्नेमा आशावादी रहेको प्राधिकरणले जानकारी दिएको छ। करिब ४ अर्ब ७६ करोड लगानीको यो सवस्टेसन र प्रसारणलाइन निर्माणसँगै कपिलबस्तु, गुल्मी, अर्घाखाँची र बागलुङ लगायतका जिल्लाका बासिन्दालाई सहज विद्युत् सेवा उपलब्धतामा सहयोग पुग्ने अपेक्षा प्राधिकरणले लिएको छ। रासस