काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्सले नारी सुरक्षा जीवन बीमा योजना सार्वजनिक गरेको छ।
इन्स्योरेन्सले नारी दिवसको अवसर पारेर नेपालमै पहिलो पटक पृथक विशेषतासहित ‘नेपाल लाइफ नारी सुरक्षा जीवन बीमा’ योजना सार्वजनिक गरेको हो।
बीमालेखको वार्षिकोत्सवमा बीमांकका आधारमा नगद सुविधा प्रदान गर्नु र मृत्युमा प्रदान गरिने बीमांक रकम हरेक ५ वर्षमा २५% ले बढ्नु योजनाको मुख्य विशेषता भएको कम्पनीले जनाएको छ।
‘एकै योजना बहु–लाभ! सबै नारीका लागि सजिलो पहुँच!’ भन्ने नाराका साथ सार्वजनिक गरिएको योजनामा नेपाली जीवन बीमा क्षेत्रमा पहिलो पटक गर्भावस्था स्याहार र गर्भावस्था जटिलता पूरक करार सुविधा समेत समावेश गरिएको छ।
योजनाले नारीको जीवन, स्वास्थ्य, बचत र आर्थिक सुरक्षा एकैसाथ प्रदान गर्ने कम्पनीको भनाइ छ।
कम्पनीका अनुसार ११ वटा गम्भीर गर्भावस्था सम्बन्धी जटिलतामध्ये कुनै एउटा पुष्टि भएमा एकमुष्ट १ लाख तुरुन्तै उपलब्ध हुनेछ। यस्तै बीमित महिला गर्भवती भएमा गर्भावस्थासँग सम्बन्धित स्वास्थ्य सेवाका लागि एकमुष्ट १० हजार रुपैयाँ प्रदान गर्ने कम्पनीले जनाएको छ।
न्यूनतम बीमांक २ लाख ५० हजार र अधिकतम बीमांक आयस्रोतका आधारमा गर्न सकिनेछ। यस योजनामा बीमितको प्रवेश उमेर १८ देखि ६५ वर्ष राखिएको छ।