काठमाडौं। प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै राजनीतिक दल र उम्मेदवारहरुको उपस्थिति डिजिटल प्लेटफर्ममा बढ्दो छ। उम्मेदवारहरु मतदाताको घरदैलोमा मात्रै होइनन् सोसल मिडियामा पनि त्यतिकै सक्रिय भइरहेका छन्। उनीहरु सामाजिक संजालबाट प्रचारप्रसारमा पनि रकम खर्च गरिरहेका छन्।
कतिपय राजनीतिक दल र उम्मेदवारले फेसबुकमा पोस्ट बनाउन र बुस्टिङ गर्नका लागि सोसल मिडिया एक्सपर्टहरु नै खटाएका छन्। त्यस्तै, इन्स्टाग्राम र टिकटक लगायतका सोसल मिडियामा पनि उनीहरुको प्रचारप्रसार बढ्दो छ।
निर्वाचन आयोगले उम्मेदवारहरुलाई खर्चको सीमा तोकिदिएको छ। आयोगले सामाजिक संजाल वा अन्य खर्चको लागि राजनितिक दलहरुलाई २५ लाख देखि ३३ लाखसम्मको सीमा तोकिदिएको हो।
तर, सामाजिक संजालमा भइरहेको प्रचार र त्यसमा लागेको खर्च हेर्दा आयोगले तोकेको रकमले मात्र नपुग्ने देखिन्छ। त्यसैले उम्मेदवार, दल र समर्थकहरुले आफ्नै नामबाट भन्दा विभिन्न पेजबाट पोस्ट बुस्ट गरिरहेका छन्।
उम्मेदवारी दर्ता सुरु नहुँदै नेपालमा यसरी पोस्ट बुस्टिङ सुरु भएको हो। यता आधिकारिक रुपमा नै प्रचारप्रसार र घरदैलो सुरु भएपछि यसरी प्रचार हुने क्रम बढ्ने जानकारहरु बताउँछन्।
एक महिनामा कसले कति गर्यो खर्च?
एक महिनामा सबैभन्दा धेरै माई भ्वाइस कोट्सले २ हजार ११९ अमेरिकी डलर खर्च गरेको छ। त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार नैनसिंह महरले अहिलेसम्म १ हजार १९७ अमेरिकी डलर खर्च गरेका छन् ।
त्यस्तै, साझा पार्टीले ३५१ डलर खर्च गरेको देखिन्छ भने रुटिन अफ झापा ५ ले ३४८ डलर खर्च गरेको छ। कुसल गुरुङ्ग कास्की-२ नामक पेजबाट चुनाव प्रचारप्रसारको लागि अहिलेसम्म ३२९ डलर खर्च गरेका देखिन्छ।
राष्ट्र निर्माण दल नेपालले ३०५ डलर र भरतराज ढकाल जिताउ अभियान पेजले २९८ डलर खर्च गरेका छन्।
हालसम्म धेरै खर्च गर्ने १० पेज
| क्र.स | नाम | अमेरिकी डलरमा |
| १ | माई भ्वाइस काउन्टस् | २११९ |
| २ | नैन सिंह महर | ११९७ |
| ३ | गतिशील लोकतन्तिक पार्टी | ७१० |
| ४ | डा. अजय क्रान्ति फलोवस | ६३५ |
| ५ | भरतराज ढकाल जिताऔँ | ५६२ |
| ६ | दिलीप बगडिया | ५५८ |
| ७ | रमण कर्ण जिताऔं अभियान, महोत्तरी-२ | ४९४ |
| ८ | उज्यालो नेपाल | ३६५ |
| ९ | राजन भट्टराई | ३६४ |
| १० | निशा अधिकारी | ३५८ |
यी १० पेजपछि देशको आशा पेजले २८९ डलर, सुनिल कुमार शर्मा पेजले २४८ डलर, राष्ट्रिय परिवर्तन पार्टी पाँचथर पेजले २२४ डलर, विष्णुबहादुर खड्का जिताऔँ अभियान पेजले २२० डलर, नारायणा काजी फलोअर्सले २१६ डलर, महत्तो जि पेजले १९७ डलर खर्च गरिसकेको छ।
त्यस्तै, दाङ क्षेत्र नं १ युवा विनय बिसी जिताउ अभियान पेजले १९६ डलर, डा. कृष्णाचन्द्र प्रसाद साह पेजबाट १९५ डलर, उज्यालो नेपाल पार्टी- गोरखाबाट १९५ डलर, भरतराज ढकाल सचिवालय पेजबाट १९२ डलर, युवाराज दुलाल पेजबाट १७७ डलर, दीपकराज जोशी पेजबाट १३९ डलर खर्च भएको तथ्यांक छ।
साथै, नेपाल कम्युनिष्ट पार्टी एमाले प्रतिनिधि सभा निर्वाचन क्षेत्र काठमाडौं पेजबाट १३८, उज्यालो नेपाल पार्टी- परिवर्तन पेजबाट १३६ डलर, झबिलाल डुम्रे सचिवालय पेजबाट १३५ डलर, सुरज पाण्डे पेजबाट १३३ डलर खर्च भएको देखिन्छ।
यो त फेसबुकमा देखिएको तथ्यांकमात्र हो। तर, अन्य विभिन्न तरिकाले ‘फिल्टर बबल’को युगसँगै उम्मेदवारहरु सामाजिक संजाल केन्द्रित भइरहेका छन्।
एक्सटेन आईटीका म्यानेजिङ डाइरेक्टर दीपक पौडेलका अनुसार अधिकांश उम्मेदवारहरूले औसत रूपमा प्रति पोस्ट करिब १० डलर खर्च गरिरहेका छन्। उनीहरुले दिनमा तीनवटा पोस्ट बुस्ट गरिरहेका छन्। यसअनुसार दैनिक करिब ३० डलर र मासिक झण्डै ९०० डलर (करिब १ लाख २० हजार रुपैयाँ) बराबरको खर्च एक उम्मेदवारले पोस्ट बुस्ट गर्नकै लागि मात्रै खर्च गरिरहेका छन्।
निर्वाचन प्रचार सुरु भएसँगै यसरी पोस्ट बुस्ट गर्ने रकम अझ बढी हुन सक्ने उनको भनाइ छ।
डिजिटल प्रचारमा विशेष गरि छोटो भिडियो सामग्रीको प्रयोग उल्लेख्य रूपमा बढेको छ। उम्मेदवारहरू फेसबुक रिल्स, टिकटक भिडियो तथा युट्युब सर्ट्समार्फत सभा सम्मेलन, घरदैलो तथा जनसम्पर्क कार्यक्रमका झलक प्रस्तुत गरिरहेका छन्।
‘सामाजिक संजाल अब सहायक माध्यम मात्र होइन, निर्वाचनको मुख्य गतिविधिका रूपमा स्थापित भइसकेको छ,’ पौडेलले भने।
अहिले नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल लगायत नयाँ पुराना सबै दलका उम्मेदवारहरू विभिन्न माध्यमबाट डिजिटल अभियानमा सक्रिय देखिएका छन्। कसैले प्रत्यक्ष देखिने गरेर र कसैले अप्रत्यक्ष रुपमा विभिन्न पेजबाट डिजिटल क्याम्पेनिङ गरिरहेका छन्।
हुँदैछ ‘टार्गेटेड’ प्रचार
पौडेलका अनुसार अहिलेको डिजिटल अभियान केवल पोस्ट बुस्टिङमा सीमित छैन। उमेर समूह, स्थान र रुचीअनुसार लक्षित ‘टार्गेटेड’ प्रचार, इन्गेजमेन्ट दरको विश्लेषण तथा भिडियो हेर्ने समयका आधारमा रणनीति परिमार्जन गर्ने अभ्यास पनि बढ्दै गएको छ।
उनका अनुसार सोसल मिडिया बुस्टिङ, मिडिया म्यानेजमेन्ट (कन्टेन्ट प्लानिङ, पेज ह्यान्डलिङ, एनालिटिक्स, रेस्पोन्स म्यानेजमेन्ट) गरेर अहिले निश्चित समूहसम्म उम्मेदवारहरु पुग्ने गर्नेछन्। त्यस्तै, अनलाइन न्यूज पोर्टलमा प्रायोजित समाचारसँगै टेलिभिजनमा विज्ञापन तथा अन्तर्वार्ता भनेर पनि प्याकेज नै बनाइएको छ।
डिजिटल माध्यमको बढ्दो प्रभावसँगै यो निर्वाचनमा एआई आधारित टार्गेटिङ, माइक्रो–इन्फ्लुएन्सर अभियान तथा हाइपर–लोकल डिजिटल मोविलाइजेशन अझ प्रभावकारी रूपमा देखिने पौडेलको आंकलन छ।
सोसल मिडियाबारे केही जानकारहरु फागुन ४ सुरु भएसँगै अब उम्मेदवारहरु सामाजिक संजालमा थप केन्द्रित बन्ने देखिएको छ। धेरै उम्मेदवारहरुले सोसल मिडिया ह्यान्डल गर्न मान्छे नै खटाएका छन्। इडिटिङदेखि कन्टेन्ट सुटिङ र प्रचारप्रसारसम्मको टिम बनाइएको छ। उम्मेदवारहरुले यसरी बनाइएका कन्टेन्टहरु सामाजिक संजालमा बुस्ट गर्न रकम पनि जोहो हुनु सुरु भइरहेको छ।
‘आउँदो १८ गतेसम्म प्रचार गर्न पाइन्छ। सोसल मिडियामा भएको सामाग्री मौन अवधिमा हट्ने भन्ने हुँदैन। त्यसैले १८ गतेसम्म उम्मेदवारहरुले जति सक्दो त्यति कन्टेन्ट सामाजिक संजालमा फाल्ने छन्,’ एक जानकारले भने, ‘ त्यसैले यो क्रम आउने दिनमा बढ्ने निश्चित छ।’