काठमाडौं। रिलायन्स स्पिनिङ मिल्सको आइपीओमा लगानी गरेकाहरुले सुरुमै नोक्सानी सहनुपरेको छ।
सर्वसाधारणले प्रति कित्ता ८२०.८० रुपैयाँका दरले किनेको रिलायन्स स्पिनिङ मिल्सको आइपीओ दोस्रो बजारमा सोमबार ३०० रुपैयाँबाट कारोबार आएको छ।
सर्वसाधारणले रिलायन्सको आइपीओमा ४१ हजार ४० रुपैयाँका दरले लगानी गरेकामा दोस्रो बजारमा कारोबार सुरु हुँदा त्यो मूल्य १५ हजारमा झरेकामा पहिलो पोजेटिभ सर्किटपछि १६ हजार ५०० रुपैयाँ पुगेको छ।
सर्वसाधारणले रिलायन्सको आइपीओमा गरेको लगानी उठाउन अझै लगातार १० वटा पोजेटिभ सर्किट कुर्नुपर्नेछ।
कम्पनीले बुक बिल्डिङ विधिमार्फत संस्थागत लगानीकर्तालाई प्रति कित्ता ९२० रुपैयाँमा सेयर निष्कासन गरेकामा त्यसको १० प्रतिशत मूल्य घटाएर सर्वसाधारणलाई बिक्री गरिएको थियो।
बुक बिल्डिङको आइपीओमा न्यूनतम ५० कित्ता सेयरका लागि आवेदन दिनुपर्ने भएकाले सर्वसाधारणले रिलायन्सको आइपीओका लागि ४१ हजार ४० रुपैयाँका दरले लगानी गरेका थिए।
रिलायन्सको सेयर खरिदका लागि सोमबार ११ लाख कित्ता माग भएकामा १३० कित्ता किनबेच भएको छ। उच्च माग भए पनि घाटा हुने भएका कारण लगानीकर्ता बिक्रीका लागि तयार छैनन्।
पहिलो कारोबार आइपीओ निष्कासन मूल्यभन्दा कम मूल्यमा हुने रिलायन्स स्पिनिङ मिल्स पहिलो कम्पनी हो। यसअघि आइपीओ बिक्री मूल्यभन्दा कम मूल्यमा कुनै कम्पनीको पनि सेयर पहिलो कारोबार भएको थिएन।
रिलायन्स स्पिनिङ बुक बिल्डिङ विधिमार्फत आइपीओ निष्कासन गर्ने पहिलो कम्पनी होइन। यसअघि सर्वोत्तम सिमेन्टले प्रति कित्ता ३६०.९० रुपैयाँका दरले सर्वसाधारणलाई आइपीओ निष्कासन गरेको थियो। तर, दोस्रो बजारमा कम्पनीको पहिलो कारोबार प्रति कित्ता ४९४ रुपैयाँमा भएको थियो।
नेप्सेले आइपीओ निष्कासनपछि कम्पनीलाई नेटवर्थको तीन गुणासम्म पहिलो कारोबार मूल्य तोक्ने गरेकामा अहिले ओपनिङ रेन्जको मूल्य तय गर्ने व्यवस्था हेरफेर गरिएको छ।
नेप्से सञ्चालक समितिले पोजेटिभ नेटवर्थ भएका कम्पनीलाई अंकित मूल्यको तीन गुणासम्म ओपनिङ रेन्ज दिने निर्णय गरी रिलायन्स स्पिनिङ मिल्स र सालपा विकास बैंकको सेयर कारोबारबाट कार्यान्वयन गर्न सुरु गरेको छ।
नेगेटिभ नेटवर्थ भएका कम्पनीको हकमा भने नेटवर्थको तीन गुणासम्म ओपनिङ रेन्ज तोक्ने निर्णय सञ्चालक समितिले गरेको छ।
‘आइपीओपछि दोस्रो बजारमा पहिलो सेयर कारोबारका लागि कम्पनीको चुक्ता मूल्यको ३ गुणासम्म मूल्य प्रदान गर्ने निर्णय सञ्चालक समितिले गरेको छ। अब जतिसुकै नेटवर्थ भए पनि चुक्ता मूल्य १०० रुपैयाँलाई आधार मान्दा प्रति कित्ता १०० देखि ३०० रुपैयाँसम्म ओपनिङ रेन्ज हुनेछ,’ नेप्से स्रोतले भन्यो, ‘रिलायन्स स्पिनिङ मिल्स र सालपा विकास बैंकबाट निर्णय कार्यान्वयनमा लगिएको छ।’
बुक बिल्डिङ विधिमार्फत आइपीओ निष्कासन गर्ने कम्पनीको मूल्य संस्थापक लगानीकर्ताले तय गर्छन्। कम्पनीको आइपीओको मूल्य माग र आपूर्तिका आधारमा निर्धारण गरिएकाले सर्वसाधारणले खरिद गरेकै मूल्यमा ओपनिङ रेन्ज दिनुपर्ने माग लगानीकर्ताको थियो।
तर, नेप्सेले अंकित मूल्यका आधारमा दोस्रो बजारमा पहिलो कारोबार मूल्य निर्धारण गरिदिएपछि रिलायन्स स्पिनिङ मिल्सका लगानीकर्तालाई आइपीओमै नोक्सानी भएको छ।
स्टक ब्रोकर्स एसोसियसन अफ नेपालका पूर्वअध्यक्ष भरत रानाभाट रिलायन्सका आइपीओ लगानीकर्ताले आफ्नो लगानी उठाउन केही पोजेटिभ सर्किट कुर्नुपर्ने बताउँछन्।
‘आइपीओपछिको कारोबारमा नाफा नै हुन्छ भन्ने हुँदैन। यसअघि बजार निकै घटेका बेला १०० रुपैयाँमा आइपीओ बिक्री गरेका कम्पनीको मूल्य त्यसभन्दा तल आएको थियो,’ रानाभाटले भने, ‘तर, आइपीओको मूल्यभन्दा दोस्रो बजारमा कम मूल्यमा पहिलो कारोबार हुने रिलायन्स पहिलो कम्पनी हो। बुक बिल्डिङ विधिको मूल्य निर्धारण नै फरक भएकाले लगानीकर्ताले किनेकै मूल्यमा कारोबार खुलाउनु असल अभ्यास हो।’
रिलायन्सले आइपीओ बिक्रीपछि ओपनिङ मूल्यका लागि प्रति सेयर नेटवर्थ ४९०.५४ रुपैयाँ रहेको २०८२/८३ को दोस्रो त्रैमासिक वित्तीय विवरण पेस गरेको थियो।
त्यसो त रिलायन्सको आइपीओ निष्कासन नै विवादित भएको थियो। कम्पनीको नेटवर्थका आधारमा आइपीओको मूल्यलाई लिएर संसदीय समितिले प्रश्न उठाएपछि डेढ वर्ष निष्कासन होल्ड गरेको नेपाल धितोपत्र बोर्ड (सेबोन)ले रिलायन्सलाई गत माघमा दुई वर्षअघिकै वित्तीय विवरणका आधारमा तय मूल्यमा सेयर बिक्री गर्न अनुमति दिएको थियो।