काठमाडौं। व्यवसायी किशोर वादे श्रेष्ठले विदेशी नम्बर प्लेटसहित गैरकानुनीरुपमा ६ वटा ज्यागुअर गाडी भित्र्याएका छन्। इंग्ल्यान्डमा दर्ता भएको प्लेटसहित भित्र्याइएका गाडीमध्ये ५ वटा चोभारस्थित भन्सार परिसरमा राखिएका छन्।
गैरकानुनीरुपमा भित्र्याइएको गाडी छुटाउन भन्सार प्रशासनले समेत साथ दिएको छ। श्रेष्ठले कारकब गियर्स कम्पनीको नाममा ल्याएका ६ वटा गाडीमध्ये एउटा भन्सारबाट छुटाइसकेका छन्।
भन्सारबाट छुटाइएको गाडी यातायात कार्यालयमा दर्ता समेत गरिएको छ। चोभार भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दयानन्द केसीले गाडी इंग्ल्यान्डबाट ल्याएको पाइएको बताए।
‘एउटा गाडी छुटाइसकिएको छ। भन्सार परिसरमा अब पाँचवटा बाँकी छन्,’ उनले भने, ‘गाडीमा भएको नम्बर प्लेट उत्पादक कम्पनीले निर्यात गर्ने कम्पनीलाई दिएको रजिस्ट्रेसनको रुपमा लिएर एउटा जाँचपास गरिएको हो।’
ज्यागुअर गाडीको मूल्य तीन करोड रुपैयाँ हाराहारी पर्छ। यो गाडीको भन्सार मूल्य मात्र १ करोड २० लाख रुपैयाँ छ। नेपालमा यो गाडीको आधिकारिक बिक्रेता छैन।

भन्सार ऐन अनुसार ब्रान्ड न्यु गाडी मात्रै आयात गर्न पाइन्छ। अन्य देशमा दर्ता भएको गाडी ल्याउन पाइँदैन। सीमित अवधिका लागि नम्बर प्लेटसहितका गाडी भन्सारमा धरौटी राखेर ल्याउन पाइन्छ।
विदेशी कुटनीतिज्ञले आफ्ना लागि नम्बर प्लेट राखेर गाडी ल्याउन पाउँछन्। यसबाहेक व्यापारिक प्रयोजनका लागि नम्बर प्लेटसहित गाडी ल्याउन वर्जित छ।
नम्बर प्लेटसहितको गाडी आयात गरेको विषयमा बिजमाण्डूले सोधखोज गरेपछि चोभार भन्सार कार्यालयले यस विषयमा बुझ्न व्यवसायी श्रेष्ठलाई सोमबार अपराह्न बोलाएको थियो। लगत्तै श्रेष्ठ भन्सार कार्यालय पुगेका थिए।

कारकब गियर्स कम्पनीले क्वाड्रिगा कार रिटेल कम्पनीबाट गाडी किनेर ल्याएको हो। श्रेष्ठले गाडी अष्ट्रियामा बनेको र क्वाड्रिगा कार रिटेल कम्पनीले इंग्ल्याण्डमा ल्याउँदा रजिस्ट्रेसन गर्नुपरेकाले गाडीमा नम्बर प्लेट रहन गएको बताए।
‘ज्यागुअर गाडी मैले इंग्ल्याण्डको क्वाड्रिगा कार रिटेल कम्पनीसँग किनेको हुँ। गाडी अस्ट्रियामा बनेको हो। अष्ट्रियाबाट इंग्ल्याण्डमा ल्याउँदा रजिस्ट्रेसन गर्नुपर्ने व्यवस्था रहेकाले गाडीमा त्यहाँको नम्बर प्लेट रहन गएको हो,’ श्रेष्ठले भने।
भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले नम्बर प्लेटसहितको गाडी आयात गर्नै नपाइने भन्दै ज्यागुअर गाडीको विषयमा आफूलाई जानकारी नरहेको बताए।