पोखरा। आर्क्स क्यापिटल एडभाइजर्सले पोखराका पेसाकर्मी र व्यवसायीलाई सेयर बजारको उतारचढावका बीच सुरक्षित लगानीका उपायबारे जानकारी गराएको छ। शुक्रबार आयोजित कार्यक्रममा कम्पनीले आफ्नो पोर्टफोलियो मेनेजमेन्ट सेवा र त्यसका फाइदाबारे प्रकाश पारेको हो।
आर्क्सले बदलिँदो बजार परिस्थितिमा लगानीकर्ताको सम्पत्ति वृद्धि गर्ने उद्देश्य राखेको जनाएको छ। कार्यक्रममा कम्पनीका विश्लेषक आकाश श्रेष्ठले नेपालको सेयर बजार अझै प्रारम्भिक चरणमा रहेकाले लगानीकर्ताको धारणा फरक-फरक हुने बताए।
परम्परागत आधारभूत र प्राविधिक औजार मात्र पर्याप्त नहुने उनले स्पष्ट पारे।
उनले भने, ‘पहिला तपाईंहरूको लगानी सुरक्षित राख्ने र त्यसपछि नाफामा ध्यान दिने हाम्रो फिलोसोफी छ।’
बजारको जुनसुकै अवस्थामा पनि अवसर पहिचान गरेर नतिजा निकाल्न अनुभवी व्यवस्थापक खटिने उनले बताए।
अध्यक्ष आयुष नेपालले लगानीकर्ताले आफ्नो सम्पत्तिमाथि पूर्ण नियन्त्रण राख्ने र कम्पनीले परामर्शदाताको भूमिका मात्र निभाउने स्पष्ट पारे। सेयर र नगद सधैं ग्राहककै नाममा रहने र कम्पनीले उनीहरूको तर्फबाट कारोबार मात्र गर्ने उनले बताए।

उनले भने, ‘हामीले केवल एडभाइजरी शुल्क मात्र लिने गरेका छौं, जसले गर्दा सम्पूर्ण कमाइ ग्राहककै हुन्छ।’
उनका अनुसार कम्पनीले इन्ट्री फी र एक्जिट फी लिँदैन। ठूला संस्थागत ढाँचाभन्दा व्यक्तिगत छलफलमार्फत वेल्थ मेनेजमेन्ट सेवा दिने उनले बताए।
बिजनेस डेभलेपमेन्ट प्रमुख रञ्जिता विष्टले अन्य ठूला मर्चेन्ट बैंकभन्दा फरक सेवा दिने दाबी गरिन्।
उनले भनिन्, ‘क्लाइन्टहरूसँग नियमित सम्पर्क र संवादमा बस्ने हाम्रो सबल पक्ष हो। अरु मर्चेन्ट बैंकका लागि क्यापिटल मेनेजमेन्ट प्रायोरिटीमा नपर्न सक्छ, हाम्रो भने काम नै लगानी व्यवस्थापन भएको हुँदा त्यही मात्रै गर्छौं।’
लगानी व्यवस्थापनका लागि न्यूनतम ३ लाख रुपैयाँको सीमा धितोपत्र बोर्डले तोकेको उनले जानकारी दिइन्। त्यसमा कम्पनीले ०.५ प्रतिशत मासिक परामर्श शुल्क लिने बताइएको छ।

सन् २०१० मा आर्क्स इन्भेस्टमेन्ट नाममा दर्ता भएको संस्थाले २०१७ मा धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकरको लाइसेन्स पाएको थियो।
कम्पनीले २१ प्रतिशत र औसतमा २० प्रतिशत प्रतिफल दिएको अध्यक्ष नेपालले बताए। उनले अमेरिकाको कोलोराडोस्थित रेगिस युनिभर्सिटीबाट एमबीए गरेका छन् र सेक्टरक्वान्ट क्यापिटल मार्केट तथा द बोर्नहोफ्ट ग्रुपमा १२ वर्षभन्दा बढी अनुभव छ।
नेपाल फर्किएपछि उनले आर्क्स स्थापना गर्नुअघि बिड इन्भेस्टमा इक्विटी एनालिस्टका रूपमा काम गरेका थिए। उनी कोशी ग्यास, जानकी ग्यास, श्रीराम ग्यास र नोबल ग्यास उद्योगको संचालक समितिमा समेत आबद्ध छन्।
कार्यक्रममा पोखराका विभिन्न क्षेत्रका पेसाकर्मी, उद्यमी र व्यवसायी सहभागी थिए। अध्यक्ष नेपाल, प्रमुख विष्ट र विश्लेषक श्रेष्ठले सहभागीका जिज्ञासा समाधान गर्दै लगानीका विविध आयामबारे चर्चा गरेका थिए।