BIZMANDU
www.bizmandu.com

नेपाल आर्ट काउन्सिलमा दुई बैंकरको कला प्रदर्शनी

२०८२ फागुन १

नेपाल आर्ट काउन्सिलमा दुई बैंकरको कला प्रदर्शनी
नेपाल आर्ट काउन्सिलमा दुई बैंकरको कला प्रदर्शनी


काठमाडौं । शुक्रबारबाट दुई बैंकर राज श्रेष्ठ र पुलकितविनोद अधिकारीको चित्रकला प्रदर्शनी सुरु भएको छ।

Tata
GBIME
Nepal Life

नेपाल आर्ट काउन्सिल बबरमहलमा तीन दिनसम्म चल्ने प्रदर्शनीमा श्रेष्ठको चित्रकला र अधिकारीको चित्रमाथिको रचना समावेश छ। सिटिजन्स बैंक इन्टरनेसलमा कार्यरत राज पूर्व क्रिकेटरसमेत हुन्। नेपालको यू १९ राष्ट्रिय टिमको कप्तान रहिसकेका उनी लामो समयदेखि चित्रकलामा जोडिँदै आएका छन्।

बबरमहलमा जारी चित्रकला प्रदर्शनीमा उनका संस्कृति, साहित्य, समाजलाई प्रतिविम्व गर्ने सिर्जनाहरू समावेश छ। भगवान गणेशमाथि राजले बहुआयामिक चित्र कोरेका छन्। कुमार र गणेशको विश्व भ्रमणको सन्दर्भ, शिव र पार्वती प्रेमालापमा रहँदा लजाउँदै आँखा छोपेका गणेशको चित्र पृथक लाग्छ।

त्यस्तै सुकेनास लागेका गणेशको चित्र सामान्यतय यसखाले कलामा देखिएको छैन। उनको सिर्जनामा नेवा: सभ्यतामा श्रुती परम्पराका रुपमा रहेको म्लेच्छ राक्षसको कथालाई उतारिएको छ। महाकवि लक्ष्मीप्रसाद देवकोटा र वनारसको वेश्याको सन्दर्भ होस् या उपल्लो हिमाली भेगका मानिस चित्रहरू रोचक लाग्छन्।

बलिउडको चर्चित फिल्म गंगुबाबईबाट प्रभावित भएर बनाएको चित्र पनि प्रदर्शनीमा छ। मूर्त र अमूर्त दुवैखाले चित्र प्रदर्शनीमा समेटिएको छ। श्रेष्ठको चित्रकलालाई अधिकारीको साहित्यिक लेखनले पूर्णता दिएको छ।

प्रदर्शनीका हरेक चित्रसँगै पुलकितविनोदको कथा पढ्न पाइन्छ। चित्रकला र त्यसलाई व्याख्या गर्ने शैलीले प्रदर्शनीलाई रोचक बनाएको छ। प्रदर्शन आइतबारसम्म चल्नेछ।