काठमाडौं। रिज लाइन इनर्जीको आइपीओमा एक दिनमै ७५ करोड २८ लाख ५३ हजार रुपैयाँ बराबरको ७५ लाख २८ हजार ५३० कित्ताका लागि आवेदन परेको छ।
कम्पनीले बुधबार सर्वसाधारणका लागि ११ करोड ८० लाख २६ हजार रुपैयाँ बराबरको ११ लाख ८० हजार २६० कित्ता सेयर निष्कासन गरेकामा एकदिनमै मागभन्दा ६ गुणा बढी आवेदन परेको हो।
बिहीबार बिहानसम्म ६ लाख ६९ हजार ४७० आवेदन परेको सीडीएससीले जनाएको छ। कम्पनीको आइपीओमा फागुन ४ गतेसम्म आवेदन दिन सकिनेछ।
रिज लाइन इनर्जीले आयोजना प्रभावित स्थानीयका लागि ११ करोड ८५ लाख रुपैयाँ बराबरको ११ लाख ८५ हजार कित्ता साधारण सेयर वितरण गरेको छ।
यस्तै, कम्पनीले १ करोड ४२ लाख २० हजार रुपैयाँ बराबरको १ लाख ४२ हजार २०० कित्ता सेयर वैदेशिक रोजगारीमा गएका नेपालीलाई वितरण गरिसकेको छ।
रिज लाइन इनर्जीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी १ अर्ब १८ करोड ५० लाख रुपैयाँको २२ प्रतिशतले हुन आउने २६ करोड ७ लाख रुपैयाँ बराबरको २६ लाख ७ हजार कित्ता सेयर निष्कासन अनुमति पाएको छ।
कम्पनीले निर्माण गरेको ९.०५ मेगावाटको सुपर चेपे जलविद्युत आयोजना सञ्चालनमा छ। २ अर्ब ९ करोड ६० लाख रुपैयाँ लगानी भएको आयोजनाबाट कम्पनीले २०८० माघदेखि व्यावसायिक उत्पादन गरी विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान गरेको छ।
कम्पनीले आइपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले केयरएनपी डबल बी इस्यूअर रेटिङ दिएको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल छ।