BIZMANDU
www.bizmandu.com

एक महिनामा ७० प्रतिशतभन्दा बढीले सस्तियो तरकारी, काउलीको थोक मूल्य प्रति केजी २५ रुपैयाँ

२०८२ माघ २९

एक महिनामा ७० प्रतिशतभन्दा बढीले सस्तियो तरकारी, काउलीको थोक मूल्य प्रति केजी २५ रुपैयाँ
एक महिनामा ७० प्रतिशतभन्दा बढीले सस्तियो तरकारी, काउलीको थोक मूल्य प्रति केजी २५ रुपैयाँ


काठमाडौं। यो महिना सुरु भएसँगै बजारमा हरिया तरकारीको भाउ लगातार घट्दै गएको छ। गत महिनासम्म थोक बजारमै प्रति केजी ९० रुपैयाँभन्दा माथि पुगेको काउली अहिले घटेर २२ रुपैयाँमा आइपुगेको छ।

Tata
GBIME

एक महिना अघि प्रति केजी ११० रुपैयाँ पुगेको ठूलो गोलभेंडा अहिले ६३ रुपैयाँमा झरेको छ। एक महिनाको अवधिमा ठूलो गोलभेंडाको भाउ करिब ६३ प्रतिशतले घटेको हो।

माघ लागेपछि गोलभेंडा, आलु, काउली, बन्दा र मुला जस्ता सिजनका तरकारीको भाउ घट्न थालेको कालीमाटी तरकारी बजारका व्यवसायी भगवानचन्द्र उप्रेतीले बताए।

‘यतिबेला भारतबाट ठूलो परिमाणमा तरकारी आयात भइरहेको छ। स्वदेशी तरकारी धेरै छैन। भारतबाट आउने भएकोले सस्तो भएको हो,’ उनले भने।

उनका अनुसार अधिकांश तरकारीको भाउ उल्लेख्य घटेको छ। गत महिनासम्म थोक बजारमा १०० रुपैयाँभन्दा बढी पर्ने तरकारी अहिले २५ देखि ३० रुपैयाँमै पाइन्छन्।

एक महिनाअघि २४ सय रुपैयाँ पर्ने गोलभेंडाको एक कार्टुन अहिले ८०० देखि १००० रुपैयाँमा पाइन्छ। हाल भारतबाट दैनिक १०० टनभन्दा बढी गोलभेंडा आयात भइरहेको छ।

चितवन र लाहानबाट पनि गोलभेडा आउन थालेपछि मूल्य ओरालो लागेको हो।

‘अब तरकारीको भाउ योभन्दा तल जाँदैन। हिउँदे सिजन सकिँदै गएकोले यो वर्ष तरकारीको भाउ हालको भन्दा घट्दैन,’ उप्रेतीले भने।

तरकारी बजार समितिका सूचना अधिकारी विनय श्रेष्ठका अनुसार सिजनका तरकारी ठूलो परिमाणमा बजारमा आउन थालेपछि मूल्य घटेको हो।

अहिले बजारमा स्वदेशी र भारतबाट आयात गरिएका दुवै तरकारी उपलब्ध छन्। सिजनका तरकारी स्वदेशी धेरै र असिजनका तरकारी भारतबाट बढी आउने गरेको छ।

‘देशको विभिन्न जिल्लाबाट सिजनका तरकारी आएपछि भाउ अघिल्लो वर्षकै हाराहारीमा पुगेको छ,’ श्रेष्ठले भने, ‘गत महिनासम्म भाउ घट्न सकेको थिएन।’

गत महिनासम्म सिजनल तरकारी समयमा बजारमा नआउँदा मूल्य प्रतिकेजी १०० रुपैयाँभन्दा माथि पुगेको थियो।

माघ सुरु भएपछि तराई र अन्य जिल्लाबाट उत्पादन बढेपछि मूल्य घट्ने क्रम सुरु भएको हो। यतिबेला बिहेको लगनका कारण हरिया तरकारीको खपत पनि बढ्दो छ।

हिउँदे सिजन सकिन लागेकाले आगामी दिनमा आपूर्ति घट्न सक्ने श्रेष्ठले बताए। उनका अनुसार काउली सस्तो हुँदा अन्य तरकारीको भाउ पनि घट्ने प्रवृत्ति देखिन्छ।

‘काउलीको भाउ महँगो भएको बेलामा अन्य तरकारीको भाउ पनि बढ्छ,’ उनले भने, ‘काउली सस्तो हुँदै जादा अन्य तरकारीको भाउ पनि घट्दै जाने हुन्छ।’

हाल कालीमाटी बजारमा दैनिक ६०० देखि ७०० टन हरिया र सुकेको तरकारी भित्रिरहेको छ। प्याज र आलुको आयात भारतबाट उच्च रहेको छ।

अफसिजनका भिण्डी, करेला, सिमी र बोडी भारतबाट आइरहेका छन्। चुनावी समयमा खपत बढ्न सक्ने भएकाले व्यवसायीले बजारको अवस्था हेरेर आयात बढाउन सक्ने बताएका छन्।

कालीमाटी बजारका अनुसार पछिल्लो समय स्वदेशी आलुको उत्पादन बढेको छ। अहिले बजारमा स्वदेशी र भारतीय आलु बराबर मात्रामा आउने गरेका छन्।

एक महिनामा तरकारी ७० प्रतिशतभन्दा बढी सस्तो

पछिल्लो एक महिनामा समग्र तरकारीको भाउ ७० प्रतिशतभन्दा बढी घटेको बजारको तथ्यांकले देखाउँछ। पुस २७ गते ११० रुपैयाँ रहेको गोलभेंडा सानो ७३ बाट २३, टनेल १०२ बाट ३५ रुपैयाँमा झरेको छ।

रातो आलु ३० बाट २५, प्याज ४६.८३ बाट ३७, गाजर ७२ बाट ५५ र बन्दा ४५ बाट ३४ रुपैयाँमा झरेको छ। स्थानीय काउली ९२ बाट २२ र तराई काउली ८५ बाट २४ रुपैयाँमा आइपुगेको छ।

मुला ३५ बाट ३१, भन्टा ७२ बाट ४५, मटरकोसा ७५ बाट ६० र घिउ सिमी १३० बाट १०५ रुपैयाँमा झरेको छ। टाटे सिमी ८५ बाट ७०, लौका ८५ बाट ६२, रायो साग ७० बाट २७ र पालुंगो साग ७० बाट २७ रुपैयाँमा आइपुगेको छ।

तोरीको साग ४५ बाट २० र हरियो धनियाँ ७१ बाट ४० रुपैयाँमा झरेको छ। बजारमा अहिले उपभोक्ताले सिजनका तरकारी तुलनात्मक रूपमा सस्तो मूल्यमा पाइरहेका छन्।