काठमाडौं । उच्च पदस्थ सरकारी अधिकारीहरुको हत्याको षड्यन्त्र गरेको अभियोगमा फरार रहेका प्रकाश पाठक फिलिपिन्सबाट पक्राउ गरेर नेपाल ल्याइएको छ।
गत पुस १६ मा फिलिपिन्समा पक्राउ परेपछि उनलाई देश निकाला प्रक्रिया पूरा नहुन्जेल फिलिपिन्सको अध्यागमन ब्यूरोले हिरासतमा राखेको थियो।
नेपाल प्रहीले इन्टरपोल प्रहरीसगको सहकार्यमा पाठकलाई बुधबार नेपाल ल्याएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनी माथि थप अनुसन्धान गर्ने छ।
‘आज भर्खरै नेपाल ल्याएको छ। थप अनुसन्धान हुन्छ,’ नेपाल प्रहरीका प्रवक्ता डिआइजी अविनारायण काफ्लेले भने।
फिलिपिन्स न्यूज एजेन्सीका अनुसार ३३ वर्षीय पाठक पुस १६ गते बुलाकान प्रान्तको पासेओ दे कांग्रेसो क्षेत्रमा पक्राउ परेका थिए। उनले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम राईलाई ज्यान मार्ने धम्की दिएका थिए।
काठमाडौं जिल्ला अदालतले मंसिर १५ गते पाठकविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।
इन्टरपोलले मंसिर २६ गते पाठकविरुद्ध जबरजस्ती असुली र आपराधिक षड्यन्त्रसम्बन्धी मुद्दामा ‘डिफ्युजन नोटिस’ जारी गरेको थियो।
फिलिपिन्सको अध्यागमन ब्यूरोको अभिलेखअनुसार पाठक गत भदौ २ गते फिलिपिन्स प्रवेश गरेका थिए। उनलाई पुस ३ गतेसम्म उक्त देशमा बस्न अनुमति दिइएको थियो।