काठमाडौं। वैदेशिक रोजगारी र अध्ययनका लागि पठाइदिने निहुँमा ६८ लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एउटा कन्सल्टेन्सी फर्मका सञ्चालकलाई पक्राउ गरेको छ। पक्राउ गरेपछि उनले गरेका ठगीका जाहेरी थपिएका छन् भने पीडितहरु खोज्दै प्रहरीको सम्पर्कमा पुगेका छन्।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१० मा कार्यालय रहेको ह्याप्पी एजुकेसनल कन्सल्टेन्सीका सञ्चालक चितवनको राप्ती-२ का ३२ वर्षीय बद्री सिलवाल छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनले अध्ययन भिसामा पोर्चुगल पठाइदिने भन्दै आफ्नो कन्सल्टेन्सीको बैंक खातामा दुई जना विद्यार्थीलाई २१ लाख ७० हजार रुपैयाँ जम्मा गर्न लगाएका थिए। पठाउने प्रक्रिया गर्दै गरेको भनि लामो समय झुक्याए। पठाएनन्। विद्यार्थीहरु सोध्दै बारम्बार धाउन थालेपछि कन्सल्टेन्सी नै बन्द गरी फरार भएका थिए।
ठगी गरेको जाहेरी परेपछि प्रहरी वृत लैनचौरबाट खटिएको टोलीले सिलवाललाई पक्राउ गरेको हो। कार्बाही अघि बढाउन थप अनुसन्धान भइरहेको परिसरले जनाएको छ। उनीविरुद्ध अरु पनि जाहेरी रहेको खुलेको छ, जसका कारण प्रहरीले छिटो एक्सन लिएको हो।
आफ्नो परिचय केदार प्रसाद सिलवाल हो भनि अर्का एक विद्यार्थीबाट अध्ययन भिसामा स्पेन पठाउने भनि १२ लाख ४० हजार रुपैयाँ लिएका थिए। ठगी गरेको अर्को जाहेरी पनि प्रहरीमा आएको थियो। बद्रीले चितवनको भरतपुर-१० मा पनि ह्याप्पी एजुकेसनल कन्सल्टेन्सीको कार्यालय खोलेका थिए। त्यहाँबाट ४ जनालाई सर्बियामा कामदार भिसामा पठाउने भनि २१ लाख ९० हजार ५०० रुपैयाँ लिएका थिए। पैसा लिएपछि उनी सम्पर्कविहीन भए। त्यसको पनि उजुरी प्रहरीमा पुगेको थियो।
उनले स्पेन पठाउँछु भनि अन्य तीन जनासँग १२ लाख रुपैयाँ ठगी गरेको भन्दै पीडितहरु प्रहरीको सम्पर्कमा पुगेका छन्।