BIZMANDU
www.bizmandu.com

सेयर बजारमा निर्वाचन भाँडिने भय, नयाँ सूचीकृत सेयर र प्रि-आइपीओले पनि घटायो नेप्से

२०८२ माघ २६

सेयर बजारमा निर्वाचन भाँडिने भय, नयाँ सूचीकृत सेयर र प्रि-आइपीओले पनि घटायो नेप्से
सेयर बजारमा निर्वाचन भाँडिने भय, नयाँ सूचीकृत सेयर र प्रि-आइपीओले पनि घटायो नेप्से

काठमाडौं। देश निर्वाचनमा होमिएको अवस्थामा सबैजसो सूचक अनुकूल रहँदा सेयर बजार लगातार दोस्रो दिन ओरालो लागेको छ। राजनीतिक र आर्थिक दुवै कारणले बजार ओरालो लागेको हो।

Tata
GBIME
Nepal Life

गत साता अन्तिम कारोबार दिन २७ अंकले बढेर बन्द भएको बजार यो साताको सुरुदेखि नै ओरालो लागिरहेको छ। आइतबार १० अंकले घटेको नेप्सेमा सोमबार २६ अंकको गिरावट आएको हो।

सबै सूचक ठिकठाक भए पनि मूख्य तीन कारणले बजार सूचक ओरालो लागेको विश्लेषण सेयर ब्रोकरहरुको छ। एउटा, राजनीतिक मनोविज्ञान, अर्को नयाँ सूचीकृत सेयरको बढ्दो संख्या र चार वटा कम्पनीको प्रि-आइपीओ क्लोजिङ।

एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री सुशीला कार्कीको गत बिहीबारको भेटपछि चुनावका बारेमा संशय बढेर गएको बुझाइ लगानीकर्ताको छ। बालुवाटारमा ओलीले प्रधानमन्त्री कार्कीसँग गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनबारे चासो राखेका थिए।

‘फागुन २१ अघि प्रतिवेदन सार्वजनिक भएको अवस्थामा आफू निर्वाचन हार्ने आकलन ओलीको छ। त्यसो हुँदा चुनाव हुँदैन कि भन्ने डर लगानीकर्तामा छ,’ एक सेयर ब्रोकरले भने, ‘निर्वाचन टर्ने अवस्थामा पुग्दा मूल्य घटेर जान्छ। त्यो बेला किन्नु पर्छ भन्ने मनोविज्ञान पनि कतिपय ठूला लगानीकर्तासँग रहेको देखिन्छ।’

ओलीसँगको छलफलपछि प्रधानमन्त्री कार्यालय स्रोतले चुनावअघि कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगर्ने दाबी गरेको छ। यसबाहेक निर्वाचन भाँडिनेमा अर्को डर फागुन ४ गतेबाट हुने निर्वाचन प्रचार प्रसारसँग सम्बन्धित छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह ओलीकै निर्वाचन क्षेत्र झापा-५ बाट चुनाव लड्दैछन्। प्रचारप्रसारका क्रममा ओली र बालेन्द्र पक्षको भिडन्त हुन सक्ने डर लगानीकर्तामा छ। त्यसो हुँदा पनि निर्वाचन भाँडिन सक्ने उनीहरुको बुझाइ छ।

निर्वाचन लक्षित डरबाहेक बजार घट्नुको अर्को कारण हो प्राथमिक निष्कासनहरु दोस्रो बजारमा धमाधम सूचीकृत हुनु। अंकित मूल्य १०० रुपैयाँका सेयर दोस्रो बजारमा लगातार बढेर सर्किट हान्दा कम्तिमा ५०० रुपैयाँ माथि पुगेका छन्।

‘आइपीओका लगानीकर्ताहरु सयको सेयर ५०० रुपैयाँमा बेचेर बाहिरिएका छन्,’ स्टक ब्रोकर एसोसिएसनका पूर्वअध्यक्ष भरत रानाभाटले भने, ‘उनीहरुले सेयर बिक्री गरेर सबै पैसा बाहिर लान्छन्। बजारको पैसा बाहिर जाँदा त्यसले पनि सूचकलाई प्रभावित पारिरहेको छ।’

यसरी लगानीकर्ताले अर्को आउने आइपीओका लागि हजार रुपैयाँ छुट्याएर बाँकी बजारबाट झिकेर खर्च गर्ने गरेका छन्। उनीहरु त्यो पैसाबाट दोस्रो बजारमा सूचीकृत अन्य कम्पनीको सेयर किन्दैनन्। दोस्रो बजारमा अहिले नयाँ सूचीकृत कम्पनीको मात्र कारोबार धेरै हुनु र मूल्य बढ्नुको कारण यही नै हो। पुराना कम्पनीको सेयर कारोबार त्यति हुने गरेको छैन।

तेस्रो कारण हो, यो साता चार वटा कम्पनीको प्रि-आइपीओ क्लोजिङ भएको छ। एउटा होटल, एउटा स्टील कम्पनीका साथै दुई जलविद्युत कम्पनीको प्रि-आइपीको क्लोजिङ थियो। यो अनौपचारिक ढंगले भएको कारोबार हो। तर, यसमा कम्तिमा ५ हजार कित्ता हालेर मात्र भर्न पाइने अलिखित सर्त हुन्छ। धेरैजसो लगानीकर्ता यसतर्फ लागेका कारण पनि दोस्रो बजारमा आउनु पर्ने पैसा प्रि-आइपीओमा गएको हो।

आइतबार सुरुवातमा बजार बढेको थियो। तर अन्तिममा बजार घट्यो। सोमबार पनि सुरुवातमा बजार उक्लिएको थियो। तर वृद्धि टिक्न सकेन। बजार खुलेको ६ मिनेटपछि नै नेप्सेले ओरालो बाटो समात्यो। नेप्से २६७२.३९ अंकमा आइपुगेको छ।

‘सामान्यतया निर्वाचन नजिकिँदै जाँदा त्यसको सकारात्मक असर बजारमा पर्ने गर्थ्यो,’ अर्का एक ब्रोकरले भने, ‘यसपाली संशय नै धेरै भयो। निर्वाचनपछि कस्तो सरकार बन्ला भन्दा पनि निर्वाचन नै होला कि नहोला भन्ने डर हाबी भएको छ।’

उनका अनुसार, ‘ट्रेडर’हरु बजार अझै घट्छ र सेयर उठाउँला भनेर बसेका छन्। वास्तविक लगानीकर्ता निर्वाचन नभएमा मूल्य घटेर क्षति हुन्छ भन्दै पर्ख र हेरको अवस्थामा छन्। 

सोमबार १० अर्ब ७७ करोड रुपैयाँको सेयर किनबेच भएको छ। सोमबार जलविद्युत क्षेत्रका कम्पनीका लगानीकर्ताले कमाएका छन्। सेयर मूल्य सर्वाधिक बढ्ने ५ कम्पनीमा सबै जलविद्युत कम्पनी छन्।