BIZMANDU
www.bizmandu.com

छोराले ‘आफ्नै घरमा केही गर्छु’ भनेपछि बेथानचोकमा पुरेत्याइँसँगै होमस्टे संचालन गर्दै माधव

२०८२ माघ २६

छोराले ‘आफ्नै घरमा केही गर्छु’ भनेपछि बेथानचोकमा पुरेत्याइँसँगै होमस्टे संचालन गर्दै माधव
छोराले ‘आफ्नै घरमा केही गर्छु’ भनेपछि बेथानचोकमा पुरेत्याइँसँगै होमस्टे संचालन गर्दै माधव


काठमाडौं । काभ्रेको बेथानचोक गाउँपालिका वडा नम्बर ३ महाकाल डाँडाका माधव तिमल्सिनाले गाउँमै होमस्टे संचालन गरिरहेका छन्। ५० वर्षे तिमल्सिनाले होमस्टे व्यवसायसँगै पुरेत्याइँको काम पनि गर्दै आएका छन्। गाँउमा पर्यटक बढ्दै गएपछि यहि मंसिरदेखि उनले औपचारिक रुपमा आफ्नै पुरान घरलाई मर्मत गरि ‘लेकाली होम एण्ड अर्गानिक फार्म स्टे’ मा रुपान्तरण गरेका हुन्।

Tata
GBIME
Nepal Life

करिब दुई महिनाअघि संचालनमा आएको यो फार्मस्टेले गाउँको जीवनशैली, स्थानीय खाना र परम्परागत संस्कृतिको अनुभव दिलाउने लक्ष्य उनको छ।

उनले भने, ‘म त व्यवसाय गर्ने सोचमा थिइन्। म पुरेत परेँ होमस्टे संचालनमा ल्याएपछि रक्सी, मासु सबै चलाउनु पर्छ। नचलाए व्यवसाय चल्दैन। अब छोराहरुले यसमै भविष्य देखेपछि मैले पनि व्यवसाय नगरौं भन्न सकिन।’

२३ वर्षे जेठो छोरा विशेष तिमल्सिनाको आग्रहमा उनले होमस्टे संचालनमा ल्याएको बताए। उनका अनुसार यो फार्मस्टे लक्जरीभन्दा पनि स्थानीय र परम्परागत वातावरणलाई प्राथमिकता दिँदै संचालन गरिएको हो।

‘गाउँको अनुभव लिन चाहने पाहुनालाई गाउँमै आएर बस्ने, खाने र यहाँको जीवनशैली बुझ्ने अवसर दिने हाम्रो उद्देश्य हो,’ उनले भने।

लेकाली होम स्टे १ रोपनी क्षेत्रफलमा फैलिएको छ। पुरानै घरलाई मर्मत गरि व्यवसायीकरण गरेकोले लागत कम लागे पनि भविष्यको योजनाले लागत २० लाखसम्म पुर्‍याउने उनले बताए।

बुबा माधवलाई फरक पेशामा ल्याउन कसरी छोरा विशेषले मनाए त?

‘बुबाले आफ्नो छोरा छोरी विदेश गएको हेर्न त चाँहदैन्न नै। छोराले देशमै केही गर्छु। त्यही पनि आफ्नै घरमा बसेर केही गर्छु भन्दा नमान्ने कुरै भएन,’ विशेषले सुनाए।

उनले होमस्टे संचालन गर्ने सोच बनाउनु अगाडि काठमाडौंमा साना रेष्टुरेन्ट र क्याफे पनि संचालन गरेका थिए। त्यो अनुभवले उनलाई अहिले गाउँमा काम गर्दा सहज भएको छ।

विशेषले फार्मस्टेमा सानो विश्राम क्षेत्रसहितको डाइनिङ स्पेस र जोडीका लागि अट्याच बाथरुम भएका कोठाहरू संचालनमा रहेको बताए। हाल आफ्नो होमस्टेमा करिब ३५ जनासम्मको नाइट स्टे क्षमता रहेको उनले बताए।

‘अहिले आफ्नै पुरान घरलाई व्यवासायीकरण गरी रहेका छौं। पुरानो घरम रक्सी मासु चल्दैन। त्यसैले त्यसको लागि छुट्टै नयाँ स्थान तयार गर्दै छु,’ उनले भने।

पाहुनालाई ढिकी, जातो, मदानीजस्ता परम्परागत उपकरणको प्रयोग अनुभव गराउने योजना पनि रहेको तिमल्सिनाले सुनाए। स्थानीय सांस्कृतिक पहिरन लगाएर फोटो खिच्ने तथा गाउँको वातावरणसँग नजिकिने कार्यक्रम पनि केही समयपछि सुरु गरिने तयारी रहेको उनले बताए।

यहाँ प्रयोग हुने अधिकांश खाद्यान्न आफ्नै करेसाबारीमा उत्पादन गरिएको अर्गानिक रहेको उनीहरु बताउँछन्। काठमाडौं उपत्यकाबाट नजिकै रहेको यो ठाउँमा शान्त वातावरणमा गाउँको अनुभव लिन सकिने भएकाले आन्तरिक तथा बाह्य पर्यटकका लागि उपयुक्त गन्तव्य बन्ने अपेक्षा गरिएको छ।

तिमल्सिनाले प्रतिस्पर्धाभन्दा सहकार्यमा विश्वास रहेको बताउँदै बेथानचोक क्षेत्रलाई एग्रो–टुरिजमको केन्द्र बनाउने दीर्घकालीन लक्ष्य रहेको उल्लेख गरे। उनका अनुसार दुई महिनाको अवधिमा करिब २०० भन्दा बढी पाहुना आइसकेका छन् र अधिकांशले स्थानीय वातावरण र अर्गानिक खानाको प्रशंसा गरेका छन्। तर, सडकको अवस्था भने सुधार गर्नुपर्ने सुझाव धेरैले दिएको उनले बताए।

उनले पर्यटन व्यवसायीलाई सरकारले अनुदानभन्दा पनि सहुलियत ऋण, पूर्वाधार विकास र सडक सुधारमा ध्यान दिन आग्रह गरे।