तनाव उत्पन्न गराउने हर्मोनको रूपमा चिनिने कोर्टिसोल अहिले इन्टरनेटमा चर्चाको विषय बनेको छ। वेलनेस इन्फ्लुएन्सरहरूले शरीरमा कोर्टिसोलको मात्रा लामो समयसम्म उच्च रहँदा देखिने विभिन्न लक्षणहरूको बारेमा चेतावनी दिइरहेका छन्। जस्तै, बिहान ३ बजे नै ब्युँझनु, अनुहार सुन्निनु (कोर्टिसोल फेस) र पेटको बोसो बढ्नु। धेरैले यसलाई नियन्त्रण गर्न विशेष खानपान र व्यायामको सल्लाह पनि दिने गर्छन्।
तर के तपाईंलाई आफ्नो कोर्टिसोल नियन्त्रण गर्न साँच्चै ती पूरक आहार (सप्लिमेन्ट्स) र इन्फ्लुएन्सरहरूको सल्लाह चाहिन्छ त? डाक्टरहरूका अनुसार यसको आवश्यकता पर्ने सम्भावना निकै कम छ। यो हर्मोनलाई ‘भिलेन’ वा हानिकारक मान्न हतार नगर्न उनीहरूको सुझाव छ। यदि तपाईंलाई केही समस्या भएको शंका लाग्छ भने विशेषज्ञसँग परामर्श लिनुहोस्।
यस विषयमा जान्नै पर्ने केही कुराहरू यहाँ छन् :
कोर्टिसोलले तपाईंलाई जीवित राख्छ र यसका विकारहरू दुर्लभ हुन्छन्
कोर्टिसोल एक हर्मोन हो जुन जीवित रहनका लागि अपरिहार्य छ। यो मिर्गौलाको माथि रहने ‘एड्रेनल ग्ल्याण्ड’ बाट उत्पादन हुन्छ र तनावका बेला सक्रिय हुने धेरै हर्मोनहरूमध्ये एक हो। यसले शरीरको जलन (इन्फ्लामेसन), प्रतिरक्षा प्रणाली, मेटाबोलिज्म, रक्तचाप र अन्य धेरै शारीरिक कार्यहरूमा प्रभाव पार्छ।
कोर्टिसोल तपाईंको शरीर र वातावरणसँग एकदमै सन्तुलित हुन्छ। यो दिनभरि घटबढ भइरहन्छ; बिहान उठ्ने बेलामा यसको स्तर उच्च हुन्छ र राति सुत्नुअघि न्यून हुन्छ। डाक्टरहरूका अनुसार बिरामी पर्दा वा तनावका बेलामा पनि यसको स्तर बढ्छ। ‘हाम्रो कोर्टिसोलको स्तर मिनेट-मिनेटमा नियमन भइरहेको हुन्छ, यो धेरै संवेदनशील छ,’ जोन्स हप्किन्स विश्वविद्यालयका इन्डोक्राइनोलोजिस्ट डा. रोबर्टो साल्भाटोरी भन्छन्।
कोर्टिसोल एक्लैको कारणले कुनै विकार हुनु दुर्लभ कुरा हो। यदि कसैको कोर्टिसोल स्तर सधैं कम रहन्छ भने डाक्टरहरूले त्यसलाई ‘एड्रेनल इनसफिसिएन्सी’ भन्छन्। यसमा ‘एडिसन्स डिजिज’ जस्ता अटोइम्यून समस्याहरू पर्छन्। त्यस्तै, ‘कुसिङ सिन्ड्रोम’ भएका व्यक्तिहरूमा कोर्टिसोलको मात्रा धेरै उच्च हुन्छ, जसको मुख्य कारण एड्रेनल वा पिट्युटरी ग्रन्थीमा हुने ट्युमर (जो प्रायः क्यान्सररहित हुन्छन्) हुनसक्छ। यसको उपचार औषधि वा शल्यक्रियाबाट गरिन्छ।
परीक्षण अघि डाक्टरसँग सल्लाह गरौं
कोर्टिसोल धेरै वा थोरै हुँदा देखिने लक्षणहरू धेरै फराकिला हुन्छन् र अन्य स्वास्थ्य समस्याहरूसँग मिल्दाजुल्दा हुनसक्छन्।
डाक्टरहरूका अनुसार निदानका लागि समय, धेरै पटकको परीक्षण र बिरामीको समग्र स्वास्थ्यको बुझाइ आवश्यक पर्छ। ‘कोर्टिसोलको व्याख्या गर्ने धेरै सूक्ष्म पाटाहरू छन्, त्यसैले चिकित्सकको निगरानी बिना बिरामीले आफैं परीक्षण गराउँदा मलाई अलि डर लाग्छ,’ युटी हेल्थ ह्युस्टनकी डा. केटी गुटेनबर्ग भन्छिन्। एक पटकको रगत परीक्षणले मात्र धेरैजसो मानिसलाई उपयोगी जानकारी दिँदैन र यसले अनावश्यक तनाव मात्र बढाउन सक्छ। उदाहरणका लागि, परिवार नियोजनका चक्कीहरू प्रयोग गर्ने महिलाहरूको रगतमा कोर्टिसोलको स्तर गलत रूपमा उच्च देखिन सक्छ।
पूरक आहारबाट सावधान
इन्डोक्राइनोलोजिस्टहरूका अनुसार ‘अश्वगन्धा’ वा ‘म्याग्नेसियम’ जस्ता पूरक आहारले कोर्टिसोल घटाउँछ भन्ने कुराको कुनै प्रमाणित उपचार छैन। मेडिकल कलेज अफ विस्कॉन्सिनका डा. जेम्स फिन्डलिङ भन्छन् – कुसिङ सिन्ड्रोम बाहेक पनि लामो समयसम्म कोर्टिसोल उच्च हुनु चिन्ताको विषय हो, तर यसको उपचारका लागि अझै धेरै अनुसन्धानको आवश्यकता छ। उनी नियमन नगरिएका पूरक आहारहरूको प्रयोगप्रति चिन्तित छन् किनकि ती सधैं सुरक्षित हुँदैनन्।
तनाव व्यवस्थापन फाइदाजनक
डाक्टरहरूका अनुसार स्वस्थ मानिसहरूले एउटा हर्मोनलाई मात्र ध्यान दिनुको सट्टा तनाव व्यवस्थापनका आधारभूत कुराहरूमा जोड दिनुपर्छ: राम्रो खानपान, पर्याप्त निद्रा, शारीरिक व्यायाम वा थेरापी।
‘यसमा कुनै नयाँ कुरा छैन,’ डा. फिन्डलिङ भन्छन्। अन्ततः, यदि तपाईंलाई आफ्नो स्वास्थ्यप्रति साँच्चै चिन्ता छ भने, इन्टरनेटको सल्लाहभन्दा डाक्टरको परामर्श नै उत्तम हुन्छ। (एपी)