काठमाडौं । विवादित व्यवासयी दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन्। प्रसाईंलाई जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार बिहान पक्राउ गरेको हो।
निर्वाचन आयोगविरुद्ध अभिव्यक्ति दिएको आरोपमा उनी यसअघि पनि पोखराबाट पक्राउ परेका थिए। तर, परिसरले उनलाई हाजिरी जमानी छोडेको थियो।
प्रसाईंविरुद्ध साइबर अपराधमा उजुरी परेको प्रहरीले जनाएको छ। केही दिनअघि मात्र उनले परिसरमा पुगेर बयान दिएका थिए। चाल्नाखेलमा आफ्नै गाडीमा रहेका प्रसाईंलाई परिसरबाट डिएसपीको कमान्डमा गएको टोलीले पक्राउ गरेको थियो। उनले केही समय प्रहरीलाई आफुसँग उच्च अदालत पाटनको आदेश भएको भन्दै प्रतिकार समेत गरेका थिए। आफ्नै गाडीमा जान खोजेका प्रसाईंलाई प्रहरीले उनको गाडीबाट ओरालेर प्रहरीको भेनमा राखेर प्रहरी कार्यालय लगेको थियो।
प्रसाईंले पछिल्लो समय चितवन, पर्सा लगायतका जिल्लामा विरोध सभा गर्दै आएका छन्। निर्वाचन भाड्न सक्ने भन्दै सुरक्षा निकायले प्रसाईंको निगरानी बढाएको छ।