काठमाडौं। एक वर्षअघि बैंक तथा वित्तीय संस्थामा पैसाको छेलोखेलो भयो। सिस्टममा पैसा आउने तर लगानीका क्षेत्र नपाएपछि केही बैंकले सम्भावित लगानीकर्ता खोज्न थाले।
उनीहरुले लगानीकर्ता मात्रै खोजेनन्, लगानीका केही सम्भावना पनि देखाए। बैंकले लगानीका लागि सुरक्षित ठाउँ र सुरक्षित लगानीकर्ता खोज्छ नै। बैंकले राखेको मापदण्डभित्र पर्ने केही उद्यमीको सूचीभित्र भाटभटेनी सुपरमार्केटका संचालक मीनबहादुर गुरुङ थिए।
मीनबहादुर त्यस्ता उद्यमी हुन्, जसले तोकिएको समयभन्दा अगाडि परियोजना सक्छन्। दिनरात नभनी आफैं खट्ने र समयभन्दा अगाडि नै भाटभटेनीका नयाँ आउटलेट संचालन गर्दै आएकाले बैंक तथा वित्तीय संस्थाले पनि पत्याएर लगानी गर्दै आएका छन्। सबैभन्दा बढी रोजगारी, करदेखि दानसम्म दिने मीनबहादुरसँग काम गर्ने म्यानपावर(जनशक्ति) पनि छन्।
बैंकका सीइओहरुको प्रस्तावपछि भाटभटेनी समूहभित्र रहेको वित्तीय विज्ञसहितको टोलीले एउटा प्रोजेक्ट तयार पार्यो। उनीहरुले सौर्य ऊर्जा र कृषि फार्म संचालन गर्ने योजनासहित प्रोजेक्ट तयार पारे। उनीहरुले तयार पारेको प्रोजेक्ट ६३ अर्ब रुपैयाँको थियो।
विदेशमा कार्यान्वयनमा आइसकेको र यहाँका लागि नौलो प्रोजेक्ट एक वर्षभित्रै तयार हुने लक्ष्य विज्ञहरुले तयार पारेको एक्सन प्लानमा थियो। सौर्य ऊर्जाका लागि आवश्यक जग्गा पनि यकिन गरिसकेकाले तत्कालै प्रोजेक्ट कार्यान्वयनमा लैजान सकिने उनीहरुको ठम्याई थियो।
सरकारी प्रक्रिया पूरा भएको एक वर्षभित्रै प्रोजेक्ट कार्यान्वयनमा ल्याउन सकिने भएकाले लगानीकर्ता समेत उत्साहित थिए। यो समूहले बैंकको सस्तो ब्याज, एक वर्षभित्रै परियोजना ल्याउन सकिने र प्रतिफल पनि राम्रो हुने देखेर रिन्यु होल्डिङ्स लिमिटेड खडा गरी हतारहतार लगानी बोर्डमा आवेदन दियो।
स्रोतका अनुसार कम्पनीले ६३ अर्ब ५५ करोड रुपैयाँ लगानीसहित एग्रो भोल्ट परियोजना अगाडि बढाउन गत चैतमा आवेदन दिएको थियो। आवेदन दिंदा बोर्डबाट समेत सकारात्मक प्रतिक्रिया आएको थियो। तर पाँच महिनासम्म बोर्डबाट कुनै सोधखोज भएन।
त्यसपछि कम्पनीले नै बोर्डमा चासोराख्यो। तर, जवाफ हुँदैछ, हुँदैछ भन्ने मात्रै आइरह्यो। कुनै प्रगति भएन। दुर्भाग्य भदौ २३ र २४ को जेनजी आन्दोलनमा भाटभटेनी तोडफोड र आगजनी भयो। चार दशकदेखि संघर्ष गरेर तयार पारेको भाटभटेनीका १२ वटा आउटलेट ध्वस्त बनाइयो।
तोडफोड र आगजनीबाट ११ अर्ब रुपैयाँभन्दा बढीको क्षति भयो। अब भाटभटेनीका संचालक मीनबहादुरको दैनिकी फेरियो। नयाँ प्रोजेक्ट होइन जलेका भाटभटेनीको पुनर्निर्माणमा उनी बिहानदेखि बेलुकासम्म खटिरहेका छन्।
‘पहिला त यही जलेका संरचना बनाएर जनताको सेवा गर्नुछ। त्यसपछि अरुमा जानुपर्ला,’ मीनबहादुरले बिजमाण्डूसँग भने।
यो प्रोजेक्ट बनाउने विज्ञ समूहका एक सदस्यका अनुसार साढे ६३ अर्बको सौर्य ऊर्जा र कृषि फार्मको परियोजना अघि बढ्ने सम्भावना न्यून भइसकेको छ।
‘कुनै पनि परियोजना बनाउँदा उद्देश्य र प्रतिफल हेरिएको हुन्छ। लगानी बोर्डले समयमा निर्णय गरिदिएको भए यतिखेर परियोजना संचालनको तयारीमा पुगिसकेको हुन्थ्यो,’ उनले भने, ‘त्यसले हामीलाई मात्रै होइन देशलाई नै फाइदा हुन्थ्यो। बोर्डको पर्फर्मेन्स पनि देखिन्थ्यो। तर बोर्ड त कामै नलाग्ने भइसकेको रहेछ। समयमा निर्णय लिने क्षमता नभएको बोर्डको के काम?’
समयमा निर्णय नगर्दा कुनै पनि प्रोजेक्ट भायबल नभएर लगानी नै नहुने अवस्था पनि आउँछ। ठ्याक्कै यो प्रोजेक्ट पनि समयमा निर्णय नगर्दा सोलार प्यानलको मूल्य वृद्धि भयो। वित्तीय हिसाबले पनि प्रति मेगावाट दुई करोड बढी पर्ने भएपछि प्रतिफल कम आउने भएकाले प्रोजेक्ट भायबल नहुने अवस्था आएको छ।
बोर्डमा पुगेको प्रस्ताव अनुसार परियोजनामा २० देखि ४० प्रतिशत विदेशी लगानी रहने उल्लेख थियो। रिन्यु होल्डिङ्सले १५ देखि २० प्रतिशतसम्म लगानी गर्ने, २० प्रतिशत रकम सर्वसाधारणलाई सेयर बिक्री गरेर जुटाउने र बाँकी लगानी निजी क्षेत्र, बैंक तथा वित्तीय संस्थाबाट जुटाउने प्रस्ताव थियो।
रिन्यु होल्डिङ्समा मीनबहादुर अध्यक्ष छन्। कम्पनीमा उमेश श्रेष्ठ, किरणकुमार श्रेष्ठ, राजेश श्रेष्ठ र रामकृष्ण खतिवडा लगानीकर्ताका रुपमा छन्। कुल १००० मेगावाट क्षमताको सौर्य आयोजना निर्माण र कम्तीमा ४०० मेगावाट विद्युत् चौबिसै घण्टा राष्ट्रिय प्रसारण लाइनमा आपूर्ति गर्न सकिने कम्पनीले जनाएको थियो।