BIZMANDU
www.bizmandu.com

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावितलाई मुआब्जा निर्धारण

२०८२ माघ २०

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावितलाई मुआब्जा निर्धारण
तनहुँको व्यास नगरपालिका–५ र ऋषिङ गाउँपालिका–१ स्थित सेती नदीमा १४० मेगावाट क्षमताको निर्माणाधिन तनहुँ जलविद्युत आयोजनाको मुख्य बाँध। करिब नौ लाख घनमिटर कङ्क्रिट गर्नुपर्नेमा हालसम्म करिब ७३ हजार घनमिटर कङ्क्रिट सकिएको छ । तस्बिर : कृष्ण न्यौपाने/रासस


काठमाडौं । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित १० घरपरिवारलाई मुआब्जा निर्धारण गरिएको छ।

GBIME
Tata

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा हालै बसेको मुआब्जा निर्धारण समितिको बैठकले लोक्पा, धारापानी, धोक्लाक, बुल्साट र झापुटार क्षेत्रमा आयोजना निर्माणका क्रममा भएको क्षतिका आधारमा मुआब्जा निर्धारण गरिएको आयोजनाले जनाएको छ।

यस्तै, समितिको स्थलगत निरीक्षण प्रतिवेदनका आधारमा व्यास नगरपालिका–१४ सोढेमा दमौली भरतपुर प्रसारण लाइनअन्तर्गत टावरको रिटेनिङ वाल निर्माणका क्रममा क्षति पुगेका सुन्तलाका बोटको क्षतिपूर्ति निर्धारण गरिएको छ साथै जलाशय तथा बफर जोन क्षेत्रमा पर्ने ऐलानी प्रयोगकर्ता तथा अव्यवस्थित बसोबासीले माग गरेको क्षतिपूर्तिको विषयलाई सम्बोधन गर्न मुआब्जा निर्धारण समितिको बसेको थियो।

सो बैठकले मन्त्रिपरिषद् बैठकबाट आयोजनाको जलाशय तथा बफर जोनको सीमांकनभित्र लामो समयदेखि खेती, उपयोग, बसोबास भई आएका ऐलानी जग्गासम्बन्धी स्थलगत अध्ययन तथा सर्वेक्षण गर्न मुआब्जा निर्धारण समितिलाई तोकिएको अतिरिक्त जिम्मेवारीका विषयमा छलफल भएको थियो।

आयोजनाको प्याकेज–१ अन्तर्गत बाँधलगायत संरचना (हेडवक्र्स), प्याकेज–२ अन्तर्गत मुख्य सुरुङ, विद्युत्गृह तथा सम्बन्धित उपकरण र प्याकेज–३ अन्तर्गत दमौली भरतपुर २२० केभी प्रसारण लाइनको काम भइरहेको छ।

कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख डलरका लागि एडिबीले १५ करोड, जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर व्यहोर्नेगरी वित्तीय व्यवस्थापन गरिएको छ। रासस