BIZMANDU
www.bizmandu.com

दुई अर्ब लगानीमा विराटनगरमा बन्दैछ लेमन ट्रि प्रिमियर होटल, चैतमा सफ्ट ओपनिङ


दुई अर्ब लगानीमा विराटनगरमा बन्दैछ लेमन ट्रि प्रिमियर होटल, चैतमा सफ्ट ओपनिङ
दुई अर्ब लगानीमा विराटनगरमा बन्दैछ लेमन ट्रि प्रिमियर होटल, चैतमा सफ्ट ओपनिङ


विराटनगर। विराटनगरमा पहिलोपटक अन्तर्राष्ट्रिय ब्रान्डमा फाइभ स्टार होटल सञ्चालनमा आउने भएको छ। विराटनगरका चार युवा उद्यमीले सहरको मध्यमागमा पर्ने भृकुटी चोकमा ७ कट्ठा जमिनमा अन्तर्राष्ट्रिय ब्रान्डमा ‘लेमन ट्री प्रिमियर’ होटल सञ्चालनमा ल्याउन लागेका हुन्।

Tata
GBIME
Nepal Life

कोशी प्रदेशको राजधानी एवम् पूर्वको व्यावसायिक हब विराटनगरमा लामो समयदेखि पाँचतारे होटल निर्माण सुरु भए पनि पूर्णता भने आएको छैन। विकास चौधरी, मनोजविक्रम शाह, कविन श्रेष्ठ र प्रशान्त तातेडले दुई अर्ब लगानीमा सुरु गरेको होटलको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ।

सञ्चालक चौधरीका अनुसार होटलको सफ्ट ओपनिङ आगामी चैतमा गरेर नयाँ वर्षमा ग्रान्ड ओपेनिङ गर्ने लक्ष्यका साथ काम भइरहेको छ। र, यसको व्यवस्थापन लेमन ट्रीकै कम्पनीले सम्हाल्ने तय भइसकेको छ।

भारतमा हेडक्वार्टर भएको लेमन ट्री हस्पिटालिटी क्षेत्रमा बहुराष्ट्रिय कम्पनी हो। यसको व्यवस्थापनमा भारत, नेपाल र युएईमा गरी एक सयभन्दा बढी होटल सञ्चालनमा छन्।

अर्का सञ्चालक श्रेष्ठले नेपाल सरकारबाट होटललाई पाँच तारे होटलका सबै मापदण्ड पूरा गरेको र स्वीकृतिको चरणमा रहेको जानकारी दिए। ‘हामीले होटलमा पाँच तारेका सम्पूर्ण मापदण्ड पूरा गर्ने गरी निर्माण गरेका छौं। धेरैजसो ठाउँमा त मापदण्डभन्दा बढी पनि लगानी भएको छ। त्यसैले सरकारले पाँचतारेको स्वीकृति दिने कुरामा हामी विश्वस्त छौं,’ श्रेष्ठले भने।

उनका अनुसार सरकारबाट पाँचतारेको स्वीकृति पाएपछि लाइभ क्यासिनो सुरु गरिनेछ। होटलको सफ्ट उद्घाटनपछि पाँचतारेको स्वीकृतिका लागि प्रक्रिया सुरु हुनेछ। पाँचतारेको स्वीकृति नपाई लाइभ क्यासिनो सञ्चालन गर्न मिल्दैन। त्यसैले होटलमा तत्काल क्यासिनो सञ्चालन हुने छैन।

होटलमा ८० वटा कोठा छन्। जसमा एउटा प्रेसिडेन्सियल सुइट रुम र ८ वटा सुइट रुम छन्। त्यस्तै ६६ वटा डिलक्स रुम अरू ५ वटा सुपर डिलक्स रुम छन्।

बेसमेन्टसहित ८ वटा तला भएको होटलमा २ हजार जना क्षमताको ५ हजार वर्गफिटको ब्यांकेट हल छ। गन्तव्य विवाह (डेस्टिनेसन म्यारिज)का लागि पनि विराटनगरको लेमन ट्री प्रिमियर उपयुक्त थलो बन्ने सञ्चालक चौधरीको विश्वास छ। त्यस्तै रुफ टप स्विमिङ पुलसहित एउटा तला नै स्पा, सोना बाथ आदिका लागि छुट्याइएको छ।

सञ्चालक श्रेष्ठले सम्पूर्ण होटलमा ‘अत्याधुनिक फायर फाइटिङ’ जडान गरिएको जानकारी दिए। यसले कतै आगलागी हुनेबित्तिकै स्वचालित रूपमा पानी निस्किएर आगोको नियन्त्रण गर्दछ।

होटलमा तीन वटा छुट्टाछुट्टै रेस्टुरेन्ट सञ्चालनमा आउनेछन्। जसमा एक सिट्रस क्याफे हुनेछ भने अपराह्नपछि खुला गर्ने गरी स्लाउन्ज बार चलाइनेछ। त्यस्तै अर्को रेस्टुरेन्ट अल डे डाइनिङ (एडीडी)का रुपमा २४ सै घण्टा सञ्चालन गरिनेछ।

‘यस्तो क्वालिटीमा पूर्वमै कुनै होटल छैन, हामीले त्यसरी बनाएका छौँ। हाम्रा लागि नेपाल र भारत दुबै मुलुकका पाहुना प्रार्थनीय हुनेछन्। छिमेकी भारतका विहार, पश्चिम बंगाल र आसामदेखिका पाहुनालाई हामी स्वागत गर्न पाउनेछौँ भन्ने हाम्रो विश्वास छ,’ श्रेष्ठले भने।