काठमाडौंको कोटेश्वरस्थित भाटभटेनी सुपरस्टोर ६० दिनमा तयार भएको छ। जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते लुटपाट, आगजनी र तोडफोड भएपछि बन्द सुपरस्टोरमा सोमबार पुजा गरिएको छ। सुपरस्टोर भने माघ २८ गतेदेखि संचालनमा आउनेछ।
घटनापछि क्षतिग्रस्त भवन, स्टोरभित्रका संरचना, विद्युतीय प्रणाली तथा सुरक्षासम्बन्धी उपकरणको मर्मत तथा पुनर्निर्माण गरिएको व्यवस्थापनले जनाएको छ। आगलागीबाट प्रभावित बिक्री कक्ष, गोदाम र पार्किङ क्षेत्रलाई सुरक्षित बनाउँदै उपभोक्तालाई सहज र सुरक्षित सेवा दिन सक्ने वातावरण तयार गरिएको बताइएको छ।

भाटभटेनी सुपरस्टोरले पुनः सञ्चालनसँगै उपभोक्ताको सुरक्षा र सम्पत्तिको संरक्षणलाई प्राथमिकतामा राख्दै सुरक्षा व्यवस्थामा पनि सुधार गरेको जनाएको छ। व्यवस्थापनले नियमित सेवा निरन्तर राख्दै उपभोक्ताको विश्वास पुनः कायम गर्ने लक्ष्यसहित सञ्चालन सुरु गरिएको स्पष्ट पारेको छ।

हाल तयार भएको ग्राउण्ड फ्लोरबाट सेवा सञ्चालनमा ल्याएको व्यवस्थापनले तलाहरु तयारीसँगै पूर्ववत् आउटलेटका सबै सेवा सञ्चालनमा ल्याउने योजना रहेको जनाएको छ।

जेनजी आन्दोलनका बेला मुख्य कार्यालयसहित भाटभटेनीका २८ स्टोरमध्ये १२ वटामा आगजनी र ९ वटामा तोडफोड भएको थियो। तोडफोडमा जोगिएका १६ स्टोरलाई व्यवस्थापनले गत भदौ अन्तिम साता नै सञ्चालनमा ल्याइसकेको थियो। क्षतिग्रस्त पनि मर्मतको काम गरिरहेको व्यवस्थापनले कोटेश्वर आउटलेट छिटो सञ्चालनमा ल्याएको हो।







