BIZMANDU
www.bizmandu.com

ट्रम्पले अमेरिकी केन्द्रीय बैंकका लागि चुनेका वार्सको ‘हक्किस’ स्वभाव, जसले घटाउँदैछ सुनको मूल्य

२०८२ माघ १९

ट्रम्पले अमेरिकी केन्द्रीय बैंकका लागि चुनेका वार्सको ‘हक्किस’ स्वभाव, जसले घटाउँदैछ सुनको मूल्य
ट्रम्पले अमेरिकी केन्द्रीय बैंकका लागि चुनेका वार्सको ‘हक्किस’ स्वभाव, जसले घटाउँदैछ सुनको मूल्य

काठमाडौं । माघ १५ गते सुनको मूल्य सर्वाधिक उचाइमा पुगेको थियो। ३ लाख ३९ हजार ३०० रुपैयाँ प्रतितोला। कारोबार मूल्यमा बढोत्तरी उक्त कीर्तिमानी विन्दुमा पुग्दा यो बहुमूल्य धातुको मूल्य ५ लाखसम्म पुग्न धेरै समय नलाग्ने अनुमान बजारमा हुन थाल्यो।

Tata
GBIME
Nepal Life

तर, अहिले त्यही बजार सुनको मूल्य जसरी बढेको थियो, त्यो भन्दा छिटो घट्दा अक्क न बक्क बन्न पुगेको छ।

आइतबार १८ हजार ८०० रुपैयाँ घटेको सुनको मूल्य सोमबार थप तोलामा १३ हजार ४०० रुपैयाँले घट्यो। सुनको मूल्य ओरालो लागेर आज प्रति तोला २ लाख ८६ हजार ६०० रुपैयाँ पुगेको छ।

शुक्रबार सर्वाधिक उचाइमा पुगेको सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा प्रति औँस ५ हजार ५६० पुगेको थियो। त्यसपछि सुनको मूल्य लगातार घटिरहेको छ।

आइतबार प्रति औंस ४८९३.२ डलरमा आइपुगेको सुन सोमबार ४६७९.२५ डलरमा झरेको छ।

कोभिड-१९ महामारीपछि विश्वभर सुनको मूल्य उकालो लाग्न सुरु भएको थियो। एक वर्ष यता भने अमेरिकामा डोनाल्ड ट्रम्पको सरकार आएपछि सुनको भाउ ह्वात्तै बढ्न सुरु भएको हो।

ट्रम्पले लिएको कर नीति र वैश्विक राजनीतिक घटनाक्रमले सुनको मूल्य बढ्ने भन्दै लगानीकर्ता आकर्षित बनेका थिए। जसकारण उनीहरुले चर्कै मूल्यमा सुन खरिद गरेका थिए। पछिल्लो समय सुनको मूल्य बढ्नुमा भेनेजुएलामा ट्रम्पको आक्रमण, इरानमा कुनै पनि बेला आक्रमण गर्न सक्ने धम्की, ग्रीनल्याण्ड नियन्त्रणमा लिने चेतावनीसँगै आफ्नै सहयोगी देशमाथि ट्रम्पको रुखो व्यवहार कारण थियो। यसैलाई आधार बनाएर विभिन्न अन्तर्राष्ट्रिय एजेन्सीहरुले सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा ६ हजारदेखि ७ हजार प्रति औंस पुग्ने अनुमान सहितका रिपोर्ट सार्वजनिक भएका थिए।

यस्तै अनुमान र रिपोर्टका आधारमा लगानीकर्ता सुनतर्फ मोडिएका थिए। तर, पछिल्लो केहीदिनमा यही सुन बजारमा भूकम्प आएको छ।

यसरी सुनको मूल्य अचाक्ली ओरालो किन लागिरहेको छ त?

यसबारे अन्तर्राष्ट्रिय विश्लेषणहरु अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पतर्फ नै मोडिएको छ।

युरो न्यूजका अनुसार सुनको मागमा आएको वृद्धि र मूल्यमा देखिएको गिरावट अमेरिकी डलर कमजोर बन्दै जानु र अमेरिकाको फेडरल रिजर्भ बैंकको स्वायतत्तासँग जोडिएको छ।

राष्ट्रपति ट्रम्पले अमेरिकी केन्द्रीय बैंकको नेतृत्व त्यहीका पूर्व कर्मचारी केभिन वार्सलाई दिने तयारी गरेका छन्। यद्यपि, उनको मनोनयन सिनेटले पारित गर्नुपर्छ।

वार्सको मनोनयनले अमेरिकाको केन्द्रीय बैंकले ल्याउने मौद्रिक नीतिमा ह्वाइट हाउसको प्रभाव प्रत्यक्ष रुपमा बढ्ने विश्लेषण गरिएको छ। यसले अमेरिकाको राजनीतिक इतिहासमै केन्द्रीय बैंकको स्वतन्त्रता कम हुने भनिएको छ। यसैको असर सुन बजारमा देखिएको बताइन्छ।

केभिन वार्स र डोनाल्ड ट्रम्प। तस्विर वाल स्ट्रिट जर्नल

हुन त अहिले अमेरिकी केन्द्रीय बैंकका प्रमुख जेरोम पावेललाई पनि ट्रम्पले नै नियुक्त गरेका थिए। तर, पावेलसँग ब्याजदरलाई लिएर ट्रम्पले उनको आलोचना गरिरहेका थिए।

अमेरिकाको फेडरल रिजर्भमा चल्ने शब्दकै प्रयोग गर्ने हो पावेलको ठाउँमा ट्रम्पद्वारा मनोनीत प्रमुख वार्स ‘हक’ हुन्। फेडमा लामो समय देखि उनको ‘हक्किस’ स्वभावका चर्चा हुने गरेको थियो।

अमेरिकी केन्द्रीय बैंकमा ‘हक’ शब्दले त्यस्तो नीतिलाई बुझाउँछ जसले मुद्रास्फीति नियन्त्रण गर्न कडा कदम चाल्छ। सो व्यक्तिले ब्याजदर बढाउन रुचाउँछ र बजारमा पैसामा आपूर्ति कम गर्न खोज्छ। ट्रम्पले हालसालै ब्याजदर आफू अनुकूल बनाउनेलाई केन्द्रीय बैंकको अध्यक्षमा मनोनयन गर्ने बताएका थिए। यसले संघीय सरकारको ३८ ट्रिलियन बराबारको विशाल ऋणको ब्याज कम गर्ने ट्रम्पको दाबी छ।

बजारलाई अहिले वार्सको यही ‘हक्किस’ स्वभावसँग पीर परेको हो। केहीले भने उनलाई तालिम प्राप्त ‘हक’ (बाज)को संज्ञा पनि दिएका छन्। जसले अब ट्रम्पको नीति कार्यान्वयन गर्नेछन्।

वार्स महँगी नियन्त्रण गर्न कठोर नीति अपनाउनुपर्ने मान्यता राख्छन्। उनले यसअघि पनि धेरै पैसा बजारमा पठाउँदा महँगी बढ्ने चेतावनी दिँदै आएका थिए। केन्द्रीय बैंकबाट राजीनामा दिँदा पनि उनी बजारमा अर्बौं डलर प्रवाह गर्ने नीतिको विरुद्धमा थिए।

उनी केन्द्रीय बैंकको स्वामित्वमा रहेको अर्बौं डलरको ऋणपत्र घटाउनुपर्ने मान्यता पनि राख्छन्। बजारमा कम तरलता हुँदा डलर बलियो हुने र त्यसले सुन र चाँदी जस्ता वस्तुको मूल्य घट्ने उनको भनाइ छ। त्यसैले उनको मनोनयनसँगै सुन र चाँदीको मूल्यमा व्यापक गिरावट आएको हो।

उनी अध्यक्ष बने उनले मुद्रास्फीति नियन्त्रण गर्न ब्याजदर उच्च नै राख्ने र त्यसले सुनमा आकर्षण घट्ने अनुमान गरिँदैछ। त्यसो हुँदा सुनमा लगानी गर्दा ब्याज पाइँदैन तर बैंक निक्षेप वा सरकारी ऋणपत्रमा आकर्षण ब्याज पाइन्छ।

विश्वमा द्वन्द्वको संकेत घटिहाल्ने अवस्था नरहँदा सुनको मूल्य घट्नुको अर्को कारण डलर बलियो बन्नु र लगानीकर्ताले नाफा ‘बुक’ गर्नु पनि रहेको छ। केन्द्रीय बैंकमा वार्सको मनोनयनसँगै डलर बलियो बन्दै गएको र लगानीकर्ताले सुन बेच्न थालेको बताइन्छ।

गएको साता सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमै हालसम्मको उच्च विन्दुमा पुगेको थियो। त्यस्तो अवस्थामा लगानीकर्ताहरु आफ्नो नाफा सुरक्षित गर्न लागेको छन्। एक्कासि ठूलो संख्यामा सुन बिक्री गर्ने बढ्दा आपूर्ति पनि बढ्ने र मूल्य घट्ने हुन्छ।

केही विश्लेषकहरुले भने यी राजनीतिक कुराकानीसँगै यसरी सुनको मूल्य घट्नु बजारले आफैंलाई ‘करेक्सन’ गरिरहेको पनि भनिरहेका छन्।

मूल्य बढ्नुमा चीनको भूमिका थियो ?

पछिल्लो साता सुनको मूल्य रेकर्ड मूल्य बढ्नुमा बजारमा चिनियाँ लगाानीकर्ताको व्यवहार पनि थियो।

चीनका लगानीकर्ता र ठूला फन्डहरुले सुनलाई धातुको रुपमा मात्र नभइ सट्टेबाजी गर्ने माध्यमका रुपमा समेत प्रयोग गरेको खबरले सुनको मूल्य बढेको भनिन्छ। चिनियाँ सेयर बजार र घरजग्गामा मन्दी आउँदा त्यहाँका लगानीकर्ता सुनमा आकर्षित हुँदा पनि मूल्यमा अचानक उछाल आउने गरेको बताइन्छ।

पहिला सुनको मूल्य युरोप र अमेरिकाका लगानीकर्ताको ‘मुड’मा निर्भर हुने गरेकोमा अहिले चिनियाँ लगानीकर्ताको व्यवहारले पनि सुनको बजारमा हलचल ल्याउन थालेको विश्लेषकहरु बताउँछन्।

पछिल्लो समय सुनको मूल्य बढ्नुमा पश्चिमा लगानीकर्ताले सुन बेच्नु र चिनियाँ लगानीकर्ताले खरिद गर्नु रहेको पनि बताइन्छ। यसले गर्दा चीनले सुनको मूल्य गिरावट हुनबाट रोकेर उच्च विन्दुमा पुर्‍याउन सहयोग पुगेको थियो।

त्यस्तै, चीनको केन्द्रीय बैंकले पनि लामो समयदेखि सुनको भण्डारणलाई तीव्र बनाइरहेको छ। अमेरिकी डलरको निर्भरतालाई कम गर्न बेइजिङको रणनीतिले गर्दा बजारमा सुनको माग उच्च रहेको र त्यसले मूल्य पनि बढाएको थियो।

यसरी चिनियाँ लगानीकर्ता हाबी हुँदा बढेको सुनको मूल्य दुई दिनयता फेरि ट्रम्प नीतिको कारण ‘क्र्यास’ हुँदै ओरालो लाग्न पुगेको हो।