BIZMANDU
www.bizmandu.com

कर्णालीमा १३२ केभी प्रसारण लाइन संचालनमा, ‘प्रदेशको अर्थतन्त्र बलियो बन्नेमा आशावादी’

२०८२ माघ १९

कर्णालीमा १३२ केभी प्रसारण लाइन संचालनमा, ‘प्रदेशको अर्थतन्त्र बलियो बन्नेमा आशावादी’
कर्णालीमा १३२ केभी प्रसारण लाइन संचालनमा, ‘प्रदेशको अर्थतन्त्र बलियो बन्नेमा आशावादी’


काठमाडौं । पुसको तेस्रो हप्ता कर्णालीको सुर्खेत पुगेर नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जतिसक्दो छिटो १३२ केभी प्रसारण लाइन चार्जमा ल्याउन निर्देशन दिएका थिए।

GBIME
Tata

स्थलगत निरीक्षण गर्दै शाक्यले काममा ढिलासुस्ती नगर्न निर्देशन दिएको करिब तीन हप्तामा अर्थात माघ १८ को मध्यरातबाट प्रसारण लाइन संचालनमा आएको छ। शाक्यले निर्देशन दिएपछि ठेकेदार कम्पनीले पनि द्रुत गतिका साथ आयोजनाको काम अघि बढाएका थिए। 

करिब हप्ता अघि मात्रै सुर्खेत पुगेका शाक्य दोस्रो पटक फेरि उक्त प्रसारण लाइनको संचालन सुरुका लागि सुर्खेत पुगेका थिए। आयोजना संचालनपछि शाक्यले कर्णाली प्रदेशमै पहिलो पटक १३२ केभी प्रसारण लाइन चार्जमा ल्याउन प्राधिकरण सफल भएको भन्दै यसबाट कर्णाली प्रदेश तथा सुर्खेतका उपभोक्तालाई गुणस्तरीय विद्युत उपयोग गर्ने अवस्था सिर्जना भएको उल्लेख गरेका थिए।

उनले यो आयोजनाको संचालनसँगै कर्णालीमा ठूला उद्योगधन्दा सुरु हुने र उनीहरुले सबै भन्दा बढी विद्युत उद्योगमा खर्च गर्नेमा प्राधिकरण आशावादी रहेको पनि उल्लेख गरे।

‘अर्थतन्त्रको साँचो उद्योग–व्यवसाय हो र उद्योग–व्यवसायको साँचो ऊर्जा हो,’ उनले भने, ‘त्यसैले गुणस्तरीय ऊर्जाको आपूर्तिसँगै कर्णालीको अर्थतन्त्र सुधारका लागि थप ढोका खुल्नेमा प्राधिकरण आशावादी छ।’

कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजना अन्तर्गतको कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा आएसँगै अब विगतमा ३३ केभी प्रसारण लाइनबाट सम्पूर्ण कर्णाली प्रदेशमा विद्युत आपूर्ति भइ ओभरलोड हुने समस्या, छिनछिनमा बत्ती गइरहने समस्या र लो–भोल्टेजको समस्यामा उल्लेख्य सुधार हुनेमा अपेक्षा प्राधिकरणले गरेको छ। यस क्षेत्रमा उत्पादन हुने विद्युत नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण ग्रिडमा प्रवाह गराउन पनि महत्वपूर्ण योगदान गर्ने प्राधिकरणको भनाई छ।

शाक्यले सुर्खेतको स्वचालित सवस्टेशन नजिकै प्रमुख राजमार्ग छेउको टावर नजिकै रहेको र प्राधिकरणले अधिकरण गरेको जग्गामा उक्त राजमार्गमा प्रयोग गर्ने विद्युतीय सवारीलाई सहज हुने गरी चार्जिङ स्टेशन प्रयोगका लागि आवश्यक तयारी गर्न पनि निर्देशन दिएका छन्।

शाक्यले सुर्खेतका सबै फिडरहरु यसै सवस्टेशनबाट आपूर्ति भएपछि उपयुक्त समय मिलाएर निर्वाचनपछि उद्घाटन गर्ने पनि जानकारी दिएका छन्।  

आयोजनाका प्रमुख रविकुमार चौधरीले करीब ५२ किलोमिटर लामो कोलपुर–सुर्खेत खण्डको काम छिटो सम्पन्न गर्न केही समय अघि सुर्खेत आएर प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले निर्देशन दिएको बताए। शाक्यले दिएको समयसीमा भित्र काम सम्पन्न गर्ने गरि काम गरेको भन्दै उनले प्रसारण लाइन संचालनमा ल्याउन पाउँदा खुशी लागेको बताए।

‘अर्को दोस्रो खण्डको सुर्खेत–दैलेख खण्डको काम पनि तिव्र गतिमा अघि बढेको छ,’ चौधरीले भने, ‘अर्को वर्ष भित्र दैलेखसम्म पुर्‍याउने छौं।’

जग्गाप्राप्ति, वन क्षेत्रको कटान र स्थानीय जग्गाधनीको विवाद लगायतका कुराहरुलाई समाधान गर्दै आयोजना सफल बनाउन, प्राधिकरण र आयोजनाका कर्मचारी, स्थानीय सबैको एकमुष्ठ योगदान रहेको पनि चौधरीले जानकारी दिएका छन्।

चौधरीले करिब ७५ करोडमा निर्माण भएको सव–स्टेशन तयारी अवस्था रहेको र करिब ६५ करोडमा निर्माण भएको प्रसारण लाइन पनि परीक्षणपछि संचालनमा आएको पनि जानकारी दिए।