BIZMANDU
www.bizmandu.com

तनहुँ जलविद्युत् आयोजनाका तीनै प्याकेजमा तीव्र काम, समग्र प्रगति ७० प्रतिशत नजिक

२०८२ माघ १७

तनहुँ जलविद्युत् आयोजनाका तीनै प्याकेजमा तीव्र काम, समग्र प्रगति ७० प्रतिशत नजिक
तनहुँ जलविद्युत् आयोजनाका तीनै प्याकेजमा तीव्र काम, समग्र प्रगति ७० प्रतिशत नजिक


दमौली। तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको कामलाई तीव्र गतिमा अगाडि बढाइएको छ। ऋषिङ-१ मा निर्माणाधीन आयोजनाका तीनवटै प्याकेजमा एकसाथ काम भइरहेको आयोजना व्यवस्थापनले जनाएको छ।

GBIME
Tata

आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार प्याकेज-१ अन्तर्गत बाँधलगायतका संरचना (हेडवर्क्स्), प्याकेज-२ अन्तर्गत मुख्य सुरुङ, विद्युत्गृह तथा सम्बन्धित उपकरण र प्याकेज–३ अन्तर्गत दमौली–भरतपुर २२० केभी प्रसारण लाइनको निर्माण कार्य भइरहेको छ।

प्याकेज–१ को काम सोङ्दा कालिका जेभीले गरिरहेको छ। यस प्याकेजमा हालसम्म ४७ प्रतिशत भौतिक प्रगति भएको छ। मुख्य बाँध निर्माणका लागि डाँडा कटान, पहुँच सडक, सेती नदीको धार फर्काउन अस्थायी बाँध, दुईवटा डाइभर्सन सुरुङलगायतका संरचनाको निर्माण सम्पन्न भइसकेको छ।

मुख्य बाँध निर्माणका लागि सेती नदीको बहाव २०८० कात्तिक २० गते मोडिएको थियो भने २०८१ जेठमा बाँधको माथिल्लो र तल्लो तटीय क्षेत्रमा अस्थायी बाँध निर्माण सकिएको छ। यससँगै बाँधको कंक्रिटिङ तथा ग्राउटिङ सुरु गर्न आवश्यक पूर्वाधार तयार भएको आयोजनाले जनाएको छ।

प्याकेज–२ अन्तर्गतको काम चीनको सिनो हाइड्रो कर्पोरेसनले गरिरहेको छ। भूमिगत संरचनाका लागि खन्ने कार्य सम्पन्न भई अधिकांश सिभिल संरचनाको निर्माण सकिएको छ। विद्युत्गृह, सर्च ट्यांक, केवल सुरुङ र टेलरेसको मुख्य कंक्रिटिङ कार्य पूरा भइसकेको छ। यस प्याकेजको प्रगति ७२.५ प्रतिशत पुगेको छ।

प्याकेज–३ अन्तर्गत केइसी इन्टरनेशनल लिमिटेड भारतले निर्माण गरिरहेको दमौली–भरतपुर २२० केभी, ३३ किलोमिटर लामो प्रसारण लाइनमा पर्ने ९४ टावरमध्ये ७८ वटाको जग हाल्ने काम सम्पन्न भएको छ। यस प्याकेजको प्रगति ७४.५ प्रतिशत छ।

आयोजनाको कुल लागत ५० करोड ५० लाख अमेरिकी डलर छ। यसमध्ये एडीबीले १५ करोड, जाइका १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणले ८ करोड ६० लाख डलर व्यहोर्ने व्यवस्था गरिएको छ। रासस