काठमाडौं। सुनको भाउ रकेट गतिमा उकालो लागेको छ। सुनको भाउ नेपाली बजारमा बिहीबार प्रति तोला २० हजार ५०० रुपैयाँ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रति तोला ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको छ। माघ लागेयता दुई सातामै सुनको भाउ तोलामा ६२ हजार ८०० रुपैयाँ बढेको छ। सुनको बुधबार प्रति तोला ९ हजार ५०० रुपैयाँले महँगिएको थियो।
चाँदीको मूल्य पनि तोलाको ७ हजार ५०५ रुपैयाँ पुगेको छ। बिहीबार प्रति तोला २०५ रुपैयाँ बढेको हो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औँस ५ हजार ५६० र चाँदी प्रति औंस १२० अमेरिकी डलरमा कारोबार भइरहेको छ।
सन् २०२५ सुनको मूल्य ६० प्रतिशतभन्दा बढीले बढेको २०२६ लागेपछि झनै रकेट गतिमा उकालो लागेको छ। अमेरिका र नेटोबीच ग्रिनल्यान्डलाई लिएर बढेको तनावले बजारमा अनिश्चितता थपिंदा लगानीकर्ताहरू सुरक्षित सम्पत्तितर्फ आकर्षित सुन चाँदीको भाउ अकासिएको हो।
चाँदीको मूल्य सन् २०२५ मा झन्डै १५० प्रतिशतले बढेको थियो। अनिश्चितताका बेला सुन र चाँदीलाई सुरक्षित लगानी मानिन्छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीतिले पनि बजार चर्किएको छ। उनले क्यानडालाई चीनसँग व्यापार सम्झौता गरे १०० प्रतिशत कर लगाउने चेतावनी दिएका छन्।
अमेरिकी केन्द्रीय बैंकले ब्याजदर फेरि घटाउने बुझाएका कारण पनि सुनमा लगानी बढेको छ। युक्रेन र गाजाका युद्ध तथा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई वासिङ्टनले नियन्त्रणमा लिएको घटनाले पनि सुन महँगिएको हो।
विश्वमा अहिलेसम्म करिब २ लाख १६ हजार टन सुन उत्खनन भएको छ। धेरैजसो सुन सन् १९५० पछि मात्र निकालिएको हो। अझै करिब ६४ हजार टन सुन जमिनमुनि रहेको अनुमान छ।
विभिन्न देशका केन्द्रीय बैंकहरूले गत वर्ष सयौँ टन सुन आफ्नो भण्डारणमा थपेका छन्।