मुलुकका उच्च पहाडी भेगमा बुधबारदेखि हिमपात वर्षा भएको छ। हुम्ला, जुम्ला, डोल्पा, मनाङ, मुस्ताङ, म्याग्दी, पूर्वी रुकुम लगायतका हिमाली जिल्लामा हाल वर्षा र हिमपात भएको हो।
मौसम प्रणाली सक्रिय भएसँगै उच्च पहाडी र हिमाली भेगमा हिमपात भएको हो भने तल्लो क्षेत्रमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। हिमपातका कारण ती जिल्लाका उच्च स्थान सेताम्य बनेका छन्, जसले चिसो बढाएको छ।

स्थानीय बासिन्दाका अनुसार हिमपातले तापक्रम घटेपछि जनजीवन प्रभावित भएको छ। विशेषगरी यातायात, हवाई सेवा र दैनिकी कामकाजमा केही अवरोध देखिएको छ।

पहाडी बाटो चिप्लो हुँदा आवतजावतमा कठिनाइ बढेको छ भने हिमाली क्षेत्रमा पशुपालन र दाउरा–घाँस संकलनमा समस्या आएको छ।

यद्यपि यो वर्षा र हिमपातलाई किसानहरूले भने सकारात्मक रूपमा लिएका छन्। लामो समयको सुख्खापछि परेको पानी र हिउँले माटोमा चिस्यान बढाउने, बालीका लागि लाभदायी हुने र हिमनदी तथा मुहानमा पानीको स्रोत थपिने अपेक्षा गरिएको छ।

मौसमविद्हरूले केही दिन मौसम यस्तै रहने सम्भावना रहेको जनाएका छन्। (तस्बिरहरु : रासस)







