BIZMANDU
www.bizmandu.com

नेपाल भारत उद्योग वाणिज्य संघको उपाध्यक्षमा सूर्य नेपालका प्रबन्ध निर्देशक गौरव तयाल नियुक्त

२०८२ माघ १३

नेपाल भारत उद्योग वाणिज्य संघको उपाध्यक्षमा सूर्य नेपालका प्रबन्ध निर्देशक गौरव तयाल नियुक्त
नेपाल भारत उद्योग वाणिज्य संघको उपाध्यक्षमा सूर्य नेपालका प्रबन्ध निर्देशक गौरव तयाल नियुक्त


काठमाडौं । नेपाल भारत उद्योग वाणिज्य संघ (निक्की) ले सूर्य नेपालका प्रबन्ध निर्देशक गौरव तयाललाई संघको उपाध्यक्षमा नियुक्त गरेको छ। मंगलबार बसेको संघको कार्यकारिणी समितिको बैठकले तयाललाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

Vigo
GBIME
Tata

तयालले रवि रायावरमको स्थान लिएका हुन्। हालै मात्र सूर्य नेपालको प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हालेका तयालले अब निक्कीमा पनि उपाध्यक्षको भूमिका निर्वाह गर्ने भएका हुन्। उनको नियुक्तिले यी दुई संस्थाबीचको नेतृत्वगत निरन्तरतालाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

नियुक्तिप्रति स्वागत गर्दै निक्कीका अध्यक्ष सुनिल केसीले तयालको क्षमताप्रति विश्वास व्यक्त गर्दै निक्कीले उपाध्यक्षको अभिभारा सुम्पेको बताए।

‘निक्कीसँग उहाँको सक्रिय संलग्नताले हाम्रा भविष्यका योजनाहरूलाई नयाँ ऊर्जा दिनेछ र संघको पहुँच तथा प्रभाव विस्तार गर्न सहयोग पुर्‍याउनेछ,’ केसीले भने।

निक्कीको कार्यकारिणी समिति तथा अध्यक्षले संयुक्त रुपमा तयाललाई उपाध्यक्षको जिम्मेवारीमा स्वागत गर्दै उनको कार्यकालमा संघले नेपाल भारतबीचको द्विपक्षीय व्यापार, आर्थिक सहकार्य तथा समग्र सम्बन्ध प्रवर्द्धनमा अझ सक्रिय भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

गौरव तयाल व्यवस्थापनमा व्यापक अनुभव भएका एक अनुभवी कर्पोरेट नेतृत्वकर्ता हुन्। सूर्य नेपालको प्रबन्ध निर्देशकका रुपमा उनले कम्पनीको रणनीतिक दिशा, संचालन उत्कृष्टता तथा सरोकारवालासँगको समन्वयको नेतृत्व गरिरहेका छन्। सहकार्यमा आधारित नेतृत्व शैलीका लागि परिचित तयाल दिगो विकास र सीमापार आर्थिक सहकार्य प्रवर्धन गर्ने पहलहरुमा सक्रिय रूपमा संलग्न रहँदै आएका छन्।

यसैगरी, सूर्य नेपाल निक्कीको स्थापना कालदेखि नै आबद्ध रहँदै आएको र संघका सक्रिय तथा प्रतिबद्ध सदस्यहरूमध्ये एक हो। त्यसैले तयालको नियुक्तिलाई यस दीर्घकालीन साझेदारी र क्षेत्रीय आर्थिक सहकार्यप्रतिको साझा दृष्टिकोणको निरन्तरताका रूपमा हेरिएको छ।

निक्कीमा दुई जना उपाध्यक्ष रहने प्रावधान छन्। जसमा एक जना भारतीय संयुक्त लगानी (जेभी) क्षेत्रको प्रतिनिधित्व गर्छन् भने अर्कोले नेपाली व्यवसायिक क्षेत्रको प्रतिनिधित्व गर्छन्। भारतीय संयुक्त लगानी क्षेत्रको प्रतिनिधित्व गर्दै गौरव तयाल उपाध्यक्षमा नियुक्त भएका छन् भने नेपाली व्यवसायिक समुदायको प्रतिनिधित्व गर्ने अर्का उपाध्यक्ष कुनाल कायल रहेका छन्।