BIZMANDU
www.bizmandu.com

यातायात कार्यालयका प्रमुख र प्रहरी कर्मचारीसहितको २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा

२०८२ माघ १३

यातायात कार्यालयका प्रमुख र प्रहरी कर्मचारीसहितको २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
फाइल तस्बिर : रासस


काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स) को लिखित परीक्षामा फेल भएकाहरुसँग रकम लिएर तोकिएको मितिभन्दा अगाडी नै परीक्षा दिन लगाउने विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ।

Tata
GBIME

काठमाडौंको यातायात व्यवस्था कार्यालय चाबहिलमा कर्मचारी र बिचौलियाको मिलमत्तोमा ५ देखि १० हजार रुपैयाँ लिएर अगाडि नै परीक्षा लिने गरेको देखिएको हो। लिखित परीक्षणमा एक पटक फेल भएमा तीन महिनासम्म परीक्षा दिन पाइँदैन। तर, उनीहरुले रकम लिएर अगाडि नै परीक्षा दिने व्यवस्था मिलाएको देखिएको छ।

अख्तियारको टोलीले कार्यालयका प्रमुख पेशल कुमार पोखरेलसहित १७ जना कार्यालयका कर्मचारीको २५ वटा मोबाइल नियन्त्रणमा लिएको छ। त्यस्तै, उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएका प्रहरी सहायक निरीक्षक डोरहरी नेपालसहित तीन जना प्रहरीको मोबाइल पनि नियन्त्रणमा लिइएको छ।

यस्तै, ड्राइभिङ सेन्टरका ७ जनाको ९ वटा मोबाइल पनि नियन्त्रणमा लिइएको छ।