काठमाडौं। चुनावको मिति नजिकिएसँगै सेयर बजारमा पैसा ओइरिन थालेको छ। सेयर बजारमा सोमबार १६ अर्ब ३५ करोड ५७ लाख रुपैयाँको कारोबार भएको छ। यो रकम ६ महिनायताकै सर्वाधिक हो।
यसअघि गत साउन १४ गते १६ अर्ब ४४ करोड रुपैयाँको कारोबार भएको थियो। नेप्से परिसूचक भने सोमबार ३.०७ अंकले घटेको छ।
नेप्से परिसूचक २७६९.०९ विन्दु कायम भएको छ। आइतबार बजार ५७ अंकले बढ्दा १३ अर्ब ७८ करोड रुपैयाँको सेयर किनबेच भएको थियो।
होटल तथा पर्यटन, हाइड्रोपावर, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड बाहेकका उपसमूहले बजार घटाएका हुन्।
बजारमा १६५ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। नेसनल हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ३.१२ प्रतिशतले घटेको छ।
८८ कम्पनीका लगानीकर्ताले कमाएका छन्। बजारमा ५ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ।
एसवाइ प्यानल, हिमस्टार ऊर्जा कम्पनी, सान्भी इनर्जी, सप्तकोशी डेभलपमेन्ट र माउन्टेन हाइड्रो इनर्जी नेपालको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो।
बजारमा हिमालयन पावर पार्टनरको सबैभन्दा धेरै ६५ करोड ९३ लाख रुपैयाँको सेयर कारोबार भएको छ।
यस्तै, आँखु खोला जलविद्युत कम्पनीको ५६ करोड १६ लाख र मञ्जुश्री फाइनान्सको ५२ करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भएको छ।