काठमाडौं। नेपाली महिला क्रिकेट टोलीले जिम्बाब्वेबाट १३० रनको लक्ष्य पाएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको जिम्बाब्वेले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२९ रन बनाएको हो।
आईसीसी टी-२० महिला विश्वकप छनोट अन्तर्गत समूह ‘बी’को यो खेलमा दुबै टोली जितको दवाबमा छन्। नेपालले यसअघि थाइल्याण्ड र नेदरल्याण्ड्सँग पराजय ब्यहोरिसकेको छ। अर्कोतर्फ जिम्बाब्वेले स्कटल्याण्ड, नेदरल्याण्ड्स र थाइल्याण्डसँग हार ब्यहोरिसकेको छ।
आज जारी खेलमा सुरुवाती ब्याटिङ गरेको जिम्बाब्वेका लागि केलिस नध्लोभुले सर्वाधिक अविजित ५२ रन बनाउँदा बेलोभ्ड बिजाले ३४ रनको योगदान दिइन्। त्यस्तै, मोडेस्टर मुपाचिक्वाले १४ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन्।
बलिङतर्फ नेपालकी रिया शर्माले सर्वाधिक २ विकेट लिँदा कविता कुँवर, पुजा महतो, सीता राना मगर र रुबिना क्षेत्रीले समान १ विकेट लिए।
नेपाल जवाफी ब्याटिङमा उत्रिएको छ।