BIZMANDU
www.bizmandu.com

बालेनको इन्ट्रीले जनकपुरको ध्वनी पश्चिममा बर्दियासम्मै, मधेशको मत के होला?

२०८२ माघ ९

बालेनको इन्ट्रीले जनकपुरको ध्वनी पश्चिममा बर्दियासम्मै, मधेशको मत के होला?
बालेनको इन्ट्रीले जनकपुरको ध्वनी पश्चिममा बर्दियासम्मै, मधेशको मत के होला?


काठमाडौं। स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा प्रत्यासी रहँदा बालेन्द्र साह (बालेन)लाई यहाँको रैथाने समुदायबाट बहिस्कृत हुनसक्ने त्रास थियो। र्‍यापरका रुपमा युवापुस्तामा व्यापक चर्चित र पाको उमेर समुह तथा राजनीतिक वृत्तबीच गुमनाम बालेनले असनमा नेपाल भाषामा बोलेको क्लिप निक्कै भाइरल बन्यो।

Tata
GBIME
Nepal Life

डिजिटल प्लेटफर्मबाट युवापुस्ता हुँदै काठमाडौंका मतदाताबीच आफूलाई व्यापक बनाइसकेका बालेन चुनावको मुखमा पुग्दासम्म ‘वर्ड अफ माउथ’ बनिसकेका थिए। परम्परागत राजनीतिक शक्तिको चुनावी अभियानभन्दा बिल्कुलै फरक शैलीमा उदाएका काठमाडौं महानगरपालिकाका मेयर बालेन यतिखेर ‘भावी प्रधानमन्त्री’को उद्घोषसहित मधेशबाट चुनावी अभियानमा होमिएका छन्।

सहकारी ठगी प्रकरणका श्रृङ्खलावद्ध उपक्रमहरूका बाबजुद राजनीतिमा ज्याद्रो शैलीमा उत्रेका रवि लामिछानेसँग सहकार्य गर्दै बालेनको टिमले किन मधेशलाई चुनावी अभियानको पहिलो भूगोल बनायो त?

सोसल मिडिया र डिजिटल मिडिया प्लेटफर्मबाट चुनावी रणनीतिमा सबैलाई माथ खुवाएका रवि र बालेनको जनकपुरबाट चुनावी अभियानको ‘शुभ मुहुर्त’ले नेपाली कांग्रेसलाई पनि मधेशतिर हेर्न बाध्य बनायो। काठमाडौं-४ को आफ्नो निर्वाचन क्षेत्रमा चुनाव जित्ने आफ्नै सर्वेक्षणका बाबजुद जोखिम मोल्न कांग्रेस सभापति गगन थापा बाध्य हुनुले मधेशमा राजनीतिक उथलपुथलको संकेत गर्दैछ।

मधेशमा रास्वपा रणनीति

गत निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको जित र रविको उदयको सफलतामा बालेनको काठमाडौं महानगरका प्रमुखमा जित आफैँमा ‘पाइलटिङ’ थियो। बालेनले छोटो अवधिमा जसरी जनमत बटुले, त्यसैको सिको गर्दै उदाएको हो- राष्ट्रिय स्वतन्त्र पार्टी।

रविको उदयप्रति बालेन सन्तुष्ट थिएनन्। जितको ‘प्याटेन्ट’ आफूभन्दा अरूले उपयोग गरेकोमा बालेन आफ्ना निकटवर्तीसँग आक्रोश प्रकट गर्थे। तर, नवयुवाको प्रदर्शन, केपी ओली नेतृत्वको सरकारले गरेको दमन र हत्यासँगै भएको आगजनीको श्रृङ्खलाले बालेन र रविलाई एक ठाउँमा ल्यायो।

बालेन साह रास्वपाको कार्यालयमा। फाइल तस्वीर

भदौ २३ र २४ को प्रकरणअघि नेपाली कांग्रेस र नेकपा एमालेले रविविरुद्ध श्रृङ्खलावद्ध आक्रमण गरिरहेका थिए। भदौ २४ को आगजनीपछि बालेनमाथि जनस्तरबाट प्रश्न उठ्ने क्रम बढ्यो। भदौको घटनाक्रमले बालेनलाई कतै न कतै सुरक्षित अवतरणको आवश्यकता महसुस गरायो।

सँगै रविलाई आफ्नो पुरानो क्रेज फर्काउनुपर्ने बाध्यता थियो। मुलुक निर्वाचनमा जाने र संगठित रुपमा पुराना दलबाट हुने आक्रमणको जोखिम दुवैसामु थियो। सैद्धान्तिक धरातलभन्दा पनि तत्कालीन आवश्यकताले यी दुईलाई एक बनायो। वैचारिक धरातल र सिद्धान्तले एकतामा कुनै भूमिका खेलेको होइन।

शहरी जनमतमा बालेन र रविको रास्वपा दुवै ‘तगडा’ प्रमाणित भइसकेका थिए। तर सम्भावित सबैभन्दा ठूलो भोट बैंकमा रास्वपाको उपस्थिति निक्कै कमजोर थियो। त्यही भोट बैंकमा रहेको ‘डिपोजिट’ले हो दुवैलाई मधेशतिर खिचेको।

प्रतिनिधि सभाको गत निर्वाचनमा चौथो ठूलो राजनीतिक दल बनेको रास्वपाले मधेश प्रदेशका ८ जिल्लाबाट जम्मा ७२ हजार ९३५ मत पाएको थियो। यो मत राष्ट्रिय प्रजातन्त्र पार्टीको समानुपातिक मतभन्दा जम्मा ४ हजार बढी हो।

सिंगो मधेश प्रदेशबाट एक सिटका लागि चाहिने भन्दा कम मत खातामा हुनुले रास्वपालाई त्यहाँ ‘स्पेयर’ फैलाउने सम्भावना देखायो।

मधेशमा जति बढी समानुपातिक भोट आफ्नो कब्जामा पार्न सक्यो, त्यति नै धेरै पुराना दलहरूलाई खुम्च्याउन सकिने तथ्य छ। जस्तो कि मधेशका ८ जिल्लाबाट नेपाली कांग्रेसले सबैभन्दा बढी समानुपातिक मत ल्याएको थियो गत निर्वाचनमा। कांग्रेसले ४ लाख ३४ हजार ९ सय मत समानुपातिकमा हासिल गरेको थियो। दोस्रोमा थियो नेकपा एमाले जसले ३ लाख ७१ हजार मत ल्याएको थियो।

राष्ट्रिय राजनीतिमा पहिलो र दोस्रो स्थानमा रहेका यी दुई दलबाहेक जनता समाजवादीले २ लाख ९८ हजार र जनमत पार्टीले २ लाख ९६ हजार मत ल्याएका थिए। तत्कालीन माओवादी केन्द्रले १ लाख ७९ हजार समानुपातिक मत ल्याएको थियो।

तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी नेपालले मधेशबाट मात्रै १ लाख ९ हजार मत ल्याउँदा पनि थ्रेस होल्ड कटाउन सकेन। यिनै तथ्याङ्कबीच समानुपातिकतर्फको बलियो ‘रिजर्भ’मा हस्तक्षेप गर्ने हो भने चुनावी रणनीतिमा माथि उकासिने रास्वपाको आकलन देखिन्छ।

अल्गोरिदममा बालेनको देहाती भाषण

शीर्ष नेताको टाउकोमै प्रहार गरेर राजनीतिक अभियानमा उत्रने रणनीति बनाएका बालेनले आफ्ना सहयोगीलाई भन्दै आएको कुरा थियो- ‘कमजोरलाई चुनावमा पराजित गरेर मजा आउँदैन, स्वाद फेर्ने गरेर केपी ओलीलाई हराएर प्रधानमन्त्री बन्ने हो।’

झापा-५ बाट चुनावी अभियानमा जोडिएका बालेनको यसखाले ‘दुस्साहस’लाई नेकपा एमालेका नेता कार्यकर्ताले ‘खेलाँची’ ठाने पनि उम्मेदवारी दर्ता गर्न जाँदाको भिडले झस्काइसकेको छ।

उम्मेदवारी दर्ताका दिन बालेन झापामा समर्थकमाझ। तस्बिर : रास्वपा

पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीका लागि बालेन अब बलियो प्रतिस्पर्धी हुन् भन्ने परिसकेको छ, जुन कुरा उनका अभिव्यक्तिहरुबाट ठम्याउन सकिन्छ।

जनकपुरको सभामा बालेनले त्यहीँको भाषामा सम्बोधन गरे। सप्तरी, सिरहा वा धनुषाका रैथानेले बोल्ने भन्दा बालेनको भाषा केही ‘स्ल्याङ’सहित ‘ब्रोकन’ थियो। तर त्यसको सन्देश स्पष्ट थियो- समानुपातिकतर्फ अब पहिलेजस्तो खुम्चिनुपर्ने छैन।

मधेश राजनीतिलाई नजिकबाट नियालिरहेका महोत्तरीका युवा चन्दन मण्डलको टिप्पणी छ- ‘पछिल्लो समय कुनै पनि नेताले मधेशमा गरेको यो सबैभन्दा उत्कृष्ट भाषण हो। बालेनले त्यहाँका जनताले सुन्न चाहेको कुरा बोले। उनको भाषामा नेताको बोली थिएन जसले आम सर्वसाधारणलाई अपिल गरेको छ।’

रविको ‘आफूमाथि सरकारले अत्याचार गरेको’ भाष्यले मधेशमा प्रभाव नछाडे पनि बालेनको आमसभामा पहिलो बोली सुन्न चाहने अत्यधिक थिए। त्यसैले डिजिटल प्लेटफर्ममा उनको देहाती बोलीको अल्गोरिदम बलियो बन्यो।

डिजिटल प्लेटफर्ममा रमाउने गैर मधेशी समुदायबीच पनि उनको अभिव्यक्ति ‘प्रितकर’ रह्यो। मण्डलकै शब्दमा- यसअघि बालेनका तस्बिर गाडीमा टाँसिने स्टिकरमा देखिन्थ्यो भने मधेशमा एकैपटकको भाषणले यहाँका मतदाताको मनमा त्यो टाँसिन पुगेको छ।

बलियो एजेन्डाका कारण अघिल्लो निर्वाचनमा मधेशमा सीके राउतको क्रेज विशेष थियो। त्यसको असर जनमत पार्टीले पाएको समानुपातिक मतले पनि देखाउँछ। तर, यसपाला सीकेको त्यो क्रेज बालेनतर्फ आएको छ।

बालेन साह जनकपुरमा। फाइल तस्वीर

बालेनको क्रेजले चुनाव चिह्न घन्टी र रास्वपा मधेशमा अनुमोदित भएको छ। त्यसैले ‘अब के बार बालेन सरकार’ नारा लाग्न थालेको हो। यो शैली सीमापारी भारतमा मोदीलाई केन्द्रमा राखेर भारतीय जनता पार्टीले चलाएको क्याम्पेनिङ भन्दा फरक छैन। जसरी उत्तर प्रदेश र बिहारको निर्वाचनमा जातीय मतको विरासतलाई मोदीले उल्ट्याए, त्यही अवस्था मधेशमा देखा परेको छ।

विभेदको एजेन्डा जोड्न बालेनको मधेशी अवतार

जतिखेर रविले राष्ट्रिय स्वतन्त्र पार्टीलाई आकार दिए, त्यतिखेर मधेशमा सीके राउतको उदय भइरहेको थियो। त्यसरी नै रेशम चौधरीको उदय भयो पश्चिम तराईमा। विश्लेषक तुलनारायण साहका अनुसार रास्वपाको उदय बेथितिको एजेन्डा उठाउँदै भएको हो। तर, विभेदको विषयलाई रास्वपाले कहिल्यै उठान गरेन।

सीके राउतले बेथिति र विभेद दुवै एजेन्डालाई अघिल्लो निर्वाचनमा उठाएका थिए जसले मधेशमा रास्वपाभन्दा सीके राउतको दल बलियो बनेर आयो। रास्वपाले लिएको राजनीतिक धारलाई थप प्रस्ट्याउन तुलनारायण साहले उदाहरण पेस गरे- ‘तपाईँ दाहाल र म साह भएर परराष्ट्र मन्त्रालयमा राहदानी लिन जाने हो भने के देखिन्छ? बेथिति दुवैले भोग्छौं। विभेद चाहिँ मैलेमात्र। तपाईँ र ममाथि प्रष्ट विभेद हुन्छ। सधैं मधेशले दुवै भोगिरहेको छ। रास्वपाले विभेद देखेन।’

साहले भने झैं राज्य सञ्चालनमा जुन बेथिति थियो, त्यही मुद्दाको जगमा रास्वपाको राजनीति खडा भयो, रवि प्रखर वक्ताका रुपमा उभिए। स्वाभाविक रुपमा बेथिति नेपाली राजनीतिको मुल समस्या हो जसलाई गत भदौको विद्रोहले पनि उठायो।

बालेन साह पाँचथरमा

अर्कातिर, रास्वपाले संघीयता महँगो भएको भन्दै त्यसविरुद्धको जनमत आफ्नो पक्षमा पार्‍यो। मधेश संघीयताको आधारभूमि। मधेशले विभेदविरुद्ध गरेको आन्दोलन र त्यसबाट प्राप्त भएको उपलब्धिलाई रास्वपाले स्वीकार नगरे पनि बालेनले जनकपुरको सम्बोधनमा त्यसलाई छुटाएनन्।

बालेनले संघीयताको पक्षमा बोले। गुमेको मत फर्काउने रणनीति स्वरुप रास्वपा ‘यू टर्न’ भएको साहको बुझाइ छ। उनकै शब्दमा- ‘बालेन कहिल्यै मधेशी पहिचानको बन्न चाहेका थिएनन्। विगतमा भएको ड्यामेज सच्याउन उनलाई मधेशी बनाएर भोट तान्ने प्रयास हो यसपाला। यसमा बालेनले रास्वपाको धारभन्दा एक कदम अगाडि बढेर अभिव्यक्ति दिएका छन्।’

जनकपुरको ध्वनी पश्चिममा बर्दियासम्मै

मधेश प्रदेशमा बालेनको उपस्थिति र केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमै ‘धावा’ कुनै पनि आम निर्वाचनमा असामान्य घटना हो। दलका शीर्ष नेताबीच तिनलाई सहज गराउन कमजोर उम्मेदवार दिने ‘सिन्डिकेट’माथिको हमलाले मधेश बाहेकका प्रदेशमा पनि उत्तिकै प्रभाव छाड्ने देखिन्छ।

बालेन साह इलाममा

यति भन्न सकिन्छ कि सांस्कृतिक नगरी जनकपुरको ध्वनी पूर्वमा सुनसरी र झापासम्मै तथा पश्चिममा लुम्बिनी प्रदेशको दक्षिणी भेग हुँदा कर्णालीको किनारसम्म पुग्छ।

सोसल मिडियामार्फत् मधेशबाट सुरु भएको राजनीतिक अभियानको अल्गोरिदिम विदेशमा रहेका नेपालीबीच र तिनीहरू मार्फत् ‘बाउन्स’ हुँदै नेपालका सबै प्रदेश र क्षेत्रका मतदातासम्म पुग्ने देखिन्छ। त्यसको असर समानुपातिकतर्फ रास्वपा पहिलो दल भयो भने अनौठो मान्नु पर्दैन।

त्यसबाहेक मूलधार माध्यम र परम्परागत ‘पब्लिक स्पेयर’मा पनि चर्चा मधेशबाट सुरु भएको रास्वपाको अभियानकै छ। बालेन त्यसको केन्द्रमा।

बालेन साह पाँचथरमा

पुर्ख्यौली महोत्तरी भए पनि काठमाडौंका बालेनले रास्वपाका ‘मधेश खम्बा’ मानिएका मृदुभाषी मनिष झाको व्यक्तित्वलाई छायाँमा पारेको विषय कम होइन। तर मनिषका लागि बालेनको छायाँ प्रत्यक्ष निर्वाचनमा बलियो उत्प्रेरक हो, जित हार जनताकै जिम्मामा छोडौं।

ओलीलाई हराउने चुनौती लिएर हिँडेपछि बालेनको चर्चा कुनै एउटा प्रदेशमा सीमित हुने विषय पनि रहेन। झापा ५ मा बालेनको जित वा हार मतदान भएर मतपेटिका खुलेपछि आउने नै छ। तर चुनावी अभियानका प्रारम्भिक दिनले बालेन ‘लाउड’ सुनिएका छन्।

गगनको क्रेज कस्तो?

नेपाली कांग्रेसभित्र विद्रोह गरेर सभापति बनेका गगन यसपालि मधेशका उम्मेदवार हुन्। सर्लाही-४ बाट कांग्रेसको विरासत हाँक्ने तयारीमा रहेका उनको इन्ट्री मधेशको चुनावी सरगर्मी प्रतीक्षाको विषय बनेको छ।

पुराना नेताको बाहुल्यतालाई लल्कार्दै गगनले केन्द्रको राजनीतिमा जे गरे त्यसको चर्चा मधेशमा उत्तिकै हिसाबमा चल्यो। ‘क्रान्तिकारी युवा नेता’का रुपमा गगनको उदयलाई मधेशले निक्कै महत्त्वका साथ लिएको छ।

गगनको अनुपस्थितिमा पनि मधेशमा ‘अबकी बार गगन सरकार’ का बोर्डले माहोल बलियो बनाइरहेको छ। सभापति चुनिएर नयाँ अनुहारलाई सांसदको टिकट बाँडेकाले उनको क्रेज अझ बढेर गएको देख्न सकिन्छ।

पुस्तान्तरणले अरु दललाई जीवन्त बनाइरहँदा ओलीको एमालेको पकड मधेशमा क्षयीकरण भइरहेको छ। बालेनले निर्वाचनमा ‘प्रधान सत्रु’का रुपमा ओलीलाई लिएसँगै मधेशमा एमालेको जग कमजोर बनाइदिएको छ।

एमालेले आफ्नो रणनीति पक्कै फरक रुपमा तय गर्नेछ चुनावका लागि। त्यसैगरी मधेश केन्द्रित दलहरूको एकताले सम्भावित पहिरोलाई कति रोक्न सक्छ त्यसले पनि निर्धारण गर्छ रास्वपा, कांग्रेस र एमालेको भविष्य।  

राजनीतिक अल्गोरिदमले डिजिटल घेरामा मात्र होइन, सामाजिक घेरामा पनि ‘फिल्टर बबल’ तय गर्छ। डिजिटल संसारमा गगन, रवि वा बालेन सबैका आफ्नै घेरा छन्। फिल्टर बबलले यस्ता प्लेटफर्मका प्रयोगकर्तालाई उनीहरूलाई मनपर्ने वा विचार मेल खाने जानकारी मात्र उपलब्ध गराउँछ।

चन्दन मण्डल यसखाले असर डिजिटजबाट मधेशको समाजमा पनि रुपान्तरित भइरहेको बताउँछन्। भन्छन्, ‘मानिसहरू खुलेर बोल्न तयार छैनन्। तर भित्रभित्रै रुपान्तरण खोजिरहेका छन्।’

स्वाभाविक हो, परिवर्तनमा मधेश सधैं केन्द्रमै रहँदै आएको छ।