BIZMANDU
www.bizmandu.com

पाल्पा सिमेन्ट इण्डष्ट्रिजको आइपीओमा स्थानीयलाई आवेदन अवधि थप

२०८२ माघ ९

पाल्पा सिमेन्ट इण्डष्ट्रिजको आइपीओमा स्थानीयलाई आवेदन अवधि थप
पाल्पा सिमेन्ट इण्डष्ट्रिजको आइपीओमा स्थानीयलाई आवेदन अवधि थप

काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले आइपीओ बिक्री अवधि थपेको छ। कम्पनीले पहिलो उद्योग प्रभावित क्षेत्रका स्थानीलाई आइपीओमा आवेदन दिने अवधि २ दिन थपेको हो।

Tata
GBIME
Nepal Life

कम्पनीले अंकित मूल्य प्रति कित्ता १०० रुपैयाँमा उद्योग प्रभावित क्षेत्र पश्चिम नवलपरासी (साविकको नवलपरासी) र खानी रहेको क्षेत्र पाल्पाका स्थानीयलाई १८ करोड ७५ लाख रुपैयाँ बराबरको १८ लाख ७५ हजार कित्ता सेयर छुट्याएको छ।

पाल्पा सिमेन्टले उद्योग प्रभावित स्थानीयलाई पुस २५ गतेदेखि माघ ९ गतेसम्म स्थानीयका लागि सेयर निष्कासन गरेकामा ९ गते लुम्बिनी प्रदेशमा सार्वजनिक विदा परेकाले ११ गतेसम्म थपेको जनाएको छ। लगानीकर्ताले आइपीओमा माघ ११ गतेसम्म आवेदन दिन पाउनेछन्।

कम्पनीले वैदेशिक रोजगारीमा गएकालाई ५ करोड ६२ लाख ५० हजार रुपैयाँको ५ लाख ६२ हजार ५०० कित्ता सेयर वितरण गरेको छ। स्थानीयलाई बिक्री गरेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणलाई ५६ लाख २५ हजार कित्ता सेयर बिक्री गर्नेछ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी ५ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशतले हुन आउने ७५ करोड रुपैयाँ बराबरको सेयर निष्कासन गर्न अनुमति पाएको छ।

पाल्पा सिमेन्टले आइपीओ निष्कासनका लागि गराएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले आइआरएन डबलबी प्लस दिएको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।

आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको प्रति सेयर आम्दानी ३.२५ रुपैयाँ र प्रति सेयर नेटवर्थ १३५.७४ रुपैयाँ छ। कम्पनीका अध्यक्ष राजेश कुमार अग्रवाल हुन्। कम्पनीका उनको सेयर ३६.१२ प्रतिशत छ। त्यस्तै, विष्णु कुमार अग्रवालको पनि ३६.१२ प्रतिशत सेयर स्वामित्व छ।