काठमाडौं। ऋण असुली प्रभावित हुँदा बैंकहरूको पुँजी क्षयीकरण हुन थालेको छ भने त्यसको असर व्यवसाय विस्तारमा परेको छ।
अधिकांश बैंकहरूको प्रोभिजनिङ बढेर नोक्सानी व्यवस्थापनमा रकम थपिंदा पुँजीकोष अनुपात निरन्तर संकुचित भएको छ।
नियामकीय प्रावधान अनुसार वाणिज्य बैंक र राष्ट्रियस्तरका विकास बैंकले प्राथमिक पुँजीकोष अनुपात ८.५ प्रतिशत कायम गर्नुपर्छ।
अहिले वाणिज्य बैंकहरूको औसत प्राथमिक पुँजीकोष अनुपात ९.७० प्रतिशतमा झरेको छ। पोहोर यसै अवधिमा यस्तो अनुपात ९.९५ प्रतिशत थियो।
असुली बिग्रिंदै जाँदा यस्तो अनुपात निरन्तर तल झरिरहेको हो। चालु आर्थिक वर्ष पहिलो त्रैमाससम्म १३ वटा बैंकको पुँजीकोष अनुपात १० प्रतिशतभन्दा तल छ। त्यसमध्ये पनि ४ वाणिज्य बैंकको बोर्डर लाइनमा छ।
पुँजीकोषको सीमा कायम गर्न नसके राष्ट्र बैंकले व्यवसाय विस्तार गर्न रोक लगाउनुका साथै पीसीए लाग्नेसम्मका कारबाही गर्छ। पुँजीकोष दबाबमा रहेका बैंकहरूले हकप्रद सेयरको बाटो रोज्न थालेका छन्।
चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाहरूको पुँजी वृद्धिमा सहजीकरण गर्ने भनिएका कारण एनआइसी एसिया बैंकले चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्न राष्ट्र बैंकसँग पूर्वस्वीकृति मागेको छ।
एनआइसी एसियाले स्वीकृति पाएको खण्डमा पुँजीकोष दबाबमा रहेका अन्य केही बैंक तथा वित्तीय संस्था पनि हकप्रद सेयर निष्कासनको बाटोमा जाने देखिन्छ। तर, राष्ट्र बैंकले मौद्रिक नीतिमा सहजीकरण गर्ने व्यवस्था रहे पनि हकप्रद सेयर जारी गर्न सबैलाई पूर्वस्वीकृति नदिने संकेत गरेको छ।
बंगलादेशी कम्पनी होवलदार युनुसले ठूला १० वाणिज्य बैंकहरूको सम्पत्तिको गुणस्तर परीक्षणको प्रतिवेदन दिएपछि त्यसको विश्लेषणका आधारमा जरुरी पर्नेलाई मात्र हकप्रद सेयर जारी गर्न दिने राष्ट्र बैंकका एक उच्च अधिकारीले बताए।
‘होवलदार युनुसको प्रतिवेदन आइसकेपछि अवस्था हेरर सुधार गर्नुपर्ने योजना अगाडि बढाउछौं,’ ती उच्च अधिकारीले भने, ‘बैंकहरूको एसेट क्वालिटी नराम्रो भयो। खर्च बढ्यो। बढेको प्रोभिजनिङले पुँजीकोष घटेर व्यवसाय नै गर्न नसकिने अवस्थामा कति प्रतिशत राइट जारी गर्न दिँदा उसले व्यवसाय गर्न सक्छ? त्यो विश्लेषण गरेर मात्र पूर्वस्वीकृति दिन्छौं। सामान्य अवस्थामा अहिले पनि अविमोच्य असञ्चिति अग्राधिकार सेयर ल्याउन दिइरहेका छौं।’
चालु आर्थिक वर्ष पहिलो त्रैमासम्म बैंकहरूको खराब कर्जा ५ प्रतिशतभन्दा माथि छ। होवलदार युनुसले भने खराब कर्जा अहिले देखाइएको भन्दा धेरै रहेको ब्रिफिङ राष्ट्र बैंकका उच्च अधिकारीलाई गरिसकेको छ।
बैंकहरूको खराब कर्जा बढी भएको अवस्थामा प्रोभिजनिङ थप्दा पुँजीकोष अझै घट्नेछ। पुँजीकोष दबाबमा रहेका बैंकहरूलाई पुँजी बढाउन सहजीकरणस्वरुप राष्ट्र बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्कासनको विकल्प दिएको छ।
नबिल बैंकले ५ अर्ब रुपैयाँ बराबरको त्यस्तो सेयर जारी गरिसकेको छ भने सिद्धार्थ र एनएमबि बैंकले ३/३ अर्ब तथा कामना सेवा विकास बैंकले ३५ करोडको सेयर निष्कासन गर्न अनुमति पाएका छन्। मुक्तिनाथ विकास बैंक, माछापुच्छ्रे बैंक र सानिमा बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्कासन गर्ने प्रस्ताव साधारण सभाबाट पारित गरी सञ्चालक समितिलाई अख्तियारी दिएका छन्।
यस्तो सेयरमा संस्थागत लगानीकर्ताले मात्र लगानी गर्न पाउँछन्। बैंकहरूले त्यस्तो सेयरमा लगानी गर्ने लगानीकर्तालाई वितरणयोग्य मुनाफा गरेको वर्ष मात्र लाभांश वितरण गर्न सक्छन्।