BIZMANDU
www.bizmandu.com

विद्युत व्यापार गर्न निजी क्षेत्र सक्षम र तयार छ, लाइसेन्स दिनुपर्छ : इप्पान अध्यक्ष कार्की

२०८२ माघ ४

विद्युत व्यापार गर्न निजी क्षेत्र सक्षम र तयार छ, लाइसेन्स दिनुपर्छ : इप्पान अध्यक्ष कार्की
विद्युत व्यापार गर्न निजी क्षेत्र सक्षम र तयार छ, लाइसेन्स दिनुपर्छ : इप्पान अध्यक्ष कार्की


काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले निजी क्षेत्रलाई विद्युत व्यापारको लाइसेन्स दिन सरकारसँग आग्रह गरेका छन्। इप्पानको २६औँ वार्षिकोत्सवका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले निजी क्षेत्र विद्युत व्यापार गर्न पूर्ण रूपमा सक्षम र तयार रहेको बताए।

GBIME
Tata

उनले नेपाल विद्युत प्राधिकरणले हाल नयाँ विद्युत खरिद सम्झौता (पीपीए) नगरेको अवस्थामा निजी क्षेत्रलाई विद्युत व्यापारको अधिकार दिनु अपरिहार्य भएको उल्लेख गरे। ‘हामीले लामो समयदेखि यस विषयमा आवाज उठाउँदै आएका छौँ। अहिले प्राधिकरणले पीपीए गर्दैन, यस्तो अवस्थामा निजी क्षेत्रलाई विद्युत व्यापारको लाइसेन्स दिनुपर्छ,’ उनले भने।

अध्यक्ष कार्कीले जलविद्युत आयोजना निर्माणका क्रममा निजी क्षेत्रले भोग्दै आएको झन्झटिलो प्रक्रिया अन्त्य गर्न पनि सरकारको ध्यानाकर्षण गराए। ‘एउटा आयोजना अगाडि बढाउन १६ वटा मन्त्रालय धाउनुपर्छ, यसैमा पाँच वर्ष बित्छ,’ उनले भने, ‘सरकारले एकातिर आयोजना बनाउनुपर्छ भन्ने, अर्कोतर्फ वन क्षेत्रमा छिर्न नदिने जस्ता विरोधाभासी नीतिको अन्त्य गर्नुपर्छ।’

उनले आयोजनाको निर्माण अवधि लम्बिँदा वित्तीय भार बढ्ने भएकाले आरसीओडी (व्यावसायिक सञ्चालन मिति) को म्याद थप्न पनि आग्रह गरे। नीतिगत र प्रक्रियागत सुधार भए निजी क्षेत्रले ऊर्जा उत्पादनसँगै व्यापारमार्फत देशको विद्युत बजार विस्तार र अर्थतन्त्रमा उल्लेखनीय योगदान दिन सक्ने उनको भनाइ थियो।