काठमाडौं। विकास साझेदारहरूबाट चालु आर्थिक वर्षको प्रथम ६ महिनामा ३९ अर्ब २३ करोड ६१ लाख ६४ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ।
उद्योग विभागले सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी मासिक प्रतिवेदनअनुसार चालु आवको ६ महिनामा ४७५ वटा उद्योगमा ३९ अर्ब, चालु आवको पहिलो ३ महिनामा ३११ वटा उद्योगमा ३५ अर्ब १३ करोड ७७ लाख ८६ हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको थियो।
चालु आवमा ७ वटा ठूला, ८ वटा मध्यम र ४६० वटा साना उद्योगमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको तथा गत पुसमा ३६ वटा साना उद्योगमा ५ अर्ब ९९ करोड ५० लाख रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता प्राप्त भएको प्रतिवेदनमा जनाइएको छ।
प्रत्यक्ष वैदेशिक लगानीको हालसम्मको कुल प्रतिबद्धता भने ७ हजार ७१३ वटा उद्योगमा ६ खर्ब ७५ अर्ब ४३ करोड ३३ लाख रुपैयाँ बराबर छ।
बितेका ६ महिनामा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा सबैभन्दा बढी सूचना प्रविधिमूलक क्षेत्रका २५७ वटा उद्योगका लागि १ अर्ब ७ करोड ८४ लाख ८६ हजार रुपैयाँ छ। रकमका आधारमा भने कृषिमूलक क्षेत्रका १३ उद्योगमा २१ अर्ब ८८ करोड ८० लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ।
पर्यटनमूलक क्षेत्रका १४५ उद्योगमा १० अर्ब ५४ करोड २० लाख ५० हजार रुपैयाँ, उत्पादनमूलक क्षेत्रका २७ उद्योगमा २ अर्ब ३ करोड २३ लाख रुपैयाँ, ऊर्जामूलक क्षेत्रको एउटा उद्योगमा १८ करोड ४२ लाख ५० हजार रुपैयाँ, खनिज क्षेत्रको एउटा उद्योगमा ४ करोड ५० लाख रुपैयाँ र सेवामूलक क्षेत्रका ३१ उद्योगमा ३ अर्ब ४६ करोड ६० लाख रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता भएको विवरणमा उल्लेख छ। रासस