विवादास्पद र संवेदनशील विषय उठाउने भिडियो बनाउने युट्युब सिर्जनाकर्तालाई राहत मिल्ने भएको छ। लामो समयदेखि कडा मानिएको मोनेटाइजेसन नीतिमा परिवर्तन गर्दै युट्युबले अब गैर–ग्राफिक र जिम्मेवार ढंगले प्रस्तुत गरिएका सामग्रीमा पूर्ण विज्ञापन आम्दानीको बाटो खुला गरेको छ।
युट्युबले विज्ञापनदाताले विवादास्पद ठान्ने सामग्री समेटिएका भिडियोका लागि आफ्नो मोनेटाइजेसन नीतिमा केही लचकता ल्याएको हो। यो अपडेटसँगै संवेदनशील विषयहरूलाई गैर–ग्राफिक र जिम्मेवार ढंगले प्रस्तुत गर्ने धेरै सिर्जनाकर्ताले अब पूर्ण विज्ञापन आम्दानी पाउन सक्ने भएका छन्।
गत मंगलबारदेखि लागू भएको नयाँ नीतिअनुसार घरेलु हिंसा, आत्महानि, आत्महत्या, वयस्क यौन दुर्व्यवहार, गर्भपतन र यौन उत्पीडन जस्ता विषयलाई ग्राफिक विवरण वा दृश्य बिना नाटकीय रूपमा प्रस्तुत गर्ने वा जानकारीमूलक ढंगले समेट्ने भिडियोहरू अब पूर्ण रूपमा मोनेटाइज गर्न योग्य हुनेछन्। तर बाल दुर्व्यवहार, बाल यौन तस्करी र खानपानसम्बन्धी विकार (इटिङ डिसअर्डर) जस्ता विषय समेटिएका भिडियोमा भने विज्ञापन अझै सीमित रहनेछ।
यी परिवर्तनहरू युट्युबको ‘क्रिएटर इनसाइडर’ च्यानलमा पोस्ट गरिएको भिडियोमार्फत सार्वजनिक गरिएको हो र विज्ञापनमैत्री सामग्रीसम्बन्धी दिशानिर्देशहरूमा स्पष्ट परिभाषा र उदाहरणहरू समेत अद्यावधिक गरिएको छ। युट्युबका मोनेटाइजेसन नीति अनुभव प्रमुख कोनर काभानाघले संवेदनशील कथा भन्ने वा नाटकीय सामग्री उत्पादन गर्ने सिर्जनाकर्ताले विज्ञापनदाताको चाहना र उद्योगको भावनाको सम्मान गर्दै आम्दानी गर्न सकून् भन्ने उद्देश्यले नीति परिमार्जन गरिएको बताए। उनका अनुसार अघिल्ला दिशानिर्देश अत्यधिक कडा हुँदा यस्ता धेरै सामग्री अनावश्यक रूपमा डिमोनेटाइज हुने गरेका थिए।
नयाँ नीतिअनुसार यी संवेदनशील विषयसँग जोडिएका व्यक्तिगत अनुभव, रोकथाममूलक सामग्री तथा पत्रकारितामूलक रिपोर्टिङ पनि पूर्ण मोनेटाइजेसनका लागि योग्य हुनेछन्। युट्युबले यसअघि भिडियोमा कति ग्राफिक वा विस्तृत विवरण छ भन्ने पक्षलाई पर्याप्त रूपमा मूल्याङ्कन नगरेको स्वीकार गरेको छ।
यसअघि यस्ता नीतिबाट जोगिन धेरै सिर्जनाकर्ताले शब्दमा हेरफेर गर्ने, अक्षरको सट्टा चिन्ह वा अंक प्रयोग गर्ने जस्ता उपाय अपनाउँदै आएका थिए, जसमा ‘युएनअलाइभ’ जस्ता शब्द प्रयोग सामाजिक सञ्जालमा सामान्य बनेको थियो।
सिर्जनाकर्ताको प्रतिक्रियाका आधारमा नीति परिमार्जन गर्ने युट्युबको यो पहिलो कदम भने होइन। गत जुलाईमा पनि कम्पनीले गालीगलौजसम्बन्धी मोनेटाइजेसन नीति खुकुलो बनाउँदै भिडियोको पहिलो सात सेकेन्डमा कडा गाली प्रयोग भए पनि पूर्ण विज्ञापन आम्दानी पाउने व्यवस्था गरेको थियो।(एपी)