काठमाडौं । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एक यात्रुले बुद्ध एयरको जहाजको आपतकालीन ढोका ‘इमर्जेन्सी डोर’ खोले पछि केही समय उडान प्रभावित बनेको छ।
बुद्ध एयरको उडान नम्बर ८५२ ( जहाज ९ एन एएमडी) जहाजमा सवार यात्रु सुमन गौतमले जहाज उडान भर्न पार्किङबाट गुड्ने क्रममा ढोका खोलिदिएको विमानस्थलका सूचना अधिकारी विनोद रावतले जानकारी दिए।
‘विमानस्थलको सम्पूर्ण प्रक्रिया पूरा गरेर जहाजमा यात्रुहरु बसिसकेका थिए। जहाज पार्किङबाट जाने क्रममा यात्रुले आपतकालीन ढोका खोलेपछि पाइलटे एटीसीलाई खबर गरि प्रहरी बोलाएको हो।,’ उनले भने।
जहाजको आपतकालीन ढोका खोल्ने यात्रु सुमन गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको उनले जानकारी थिए। उनले किन ढोका खोले भन्ने विषय खुलेको छैन। प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको उनले जानकारी दिए।
बुद्ध एयरले जहाजको ढोका खोले बापत यात्रुसँग ६ लाख रुपैयाँ क्षतिपूर्ति माग गरेको पनि उनले बताए।
सो विमानको परीक्षणका बुद्ध एयरका दुई जना प्राविधिक भैरहवा आइरहेको र सम्पूर्ण परीक्षण भएर सुरक्षा सुनिश्चित भएपछि जहाजले आजै उडान भर्ने उनको भनाइ छ।
‘जहाज अहिले पनि विमानस्थलमै छ। यात्रुलाई अर्को जहाज मार्फत काठमाडौं पठाउने तयारी छ,’ उनले भने।
बुद्धकै जहाजमा एक वर्षअघि पोखराबाट काठमाडौंको उडान गर्ने तयारीमा रहेको जहाजमा पनि एक यात्रुले अनाहकमा आपतकालीन ढोका खोलेका थिए।
यस्तै, गत अक्टोबर १० मा काठमाडौं–जनकपुर उडानमा रहेको विमान जनकपुरको खराब मौसमका कारण डाइभर्ट भई विराटनगर अवतरण गरेको थियो। मौसममा सुधार आएपछि विराटनगरबाट जनकपुरका लागि उड्ने तयारी भइरहेका बेला ट्याक्सी–वेबाट धावनमार्ग पस्दै गर्दा एक यात्रुले जहाजको आपतकालीन ढोका खोलेका थिए।
जहाजको आपतकालीन ढोका अनावश्यक रुपमा खोल्ने कार्यलाई गैरसैनिक हवाई उडान ऐन २०१५ ले अपराध मानेको छ। यो ऐनको दफा ९ (क)को (३)ले हवाई जहाजमा जडित पाटपूर्जा अनधिकृत रुपमा झिक्ने वा सञ्चालनमा हस्तक्षेप गर्न नहुने व्यवस्था छ।