BIZMANDU
www.bizmandu.com

गगन-विश्वको विद्रोहलाई संस्थापन पक्षकै नेताको साथ, विशेष महाधिवेशनमा को-को पुगे?

२०८२ पुष २७

गगन-विश्वको विद्रोहलाई संस्थापन पक्षकै नेताको साथ, विशेष महाधिवेशनमा को-को पुगे?
गगन-विश्वको विद्रोहलाई संस्थापन पक्षकै नेताको साथ, विशेष महाधिवेशनमा को-को पुगे?

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले अन्तत: पार्टीको विशेष महाधिवेशन गराएका छन्। रोक्नका लागि पार्टी संस्थापनले गरेका एकपछि अर्को अवरोधलाई चिर्दै गगन र विश्वले काठमाडौंको भृकुटीफमण्डपमा विशेष महाधिवेशन गराएका हुन्।

Tata
GBIME
Nepal Life

विश्व महाधिवेशन गर्नका लागि करिब ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिले गत असोज २९ गते नै हस्ताक्षर बुझाएका संस्थापन पक्षले केन्द्रीय समिति बैठकबाट मंसिर १५ गते पुस २६-२८ का लागि नियमित महाधिवेशन तोकेर एक साताअघि कार्यतालिका फेरेर महाधिवेशन वैशाख मसान्तमा धकेलेपछि गगन र विश्वले विधानको व्यवस्था अनुसार महाधिवशेन गराएका हुन्।

कांग्रेसको विधानमा ४० प्रतिशत प्रतिनिधिले हस्ताक्षर बुझाएको अवस्थामा विशेष महाधिवेशन गर्नुपर्ने व्यवस्था छ।

पार्टी संस्थापनले विशेष महाधिवेशनको औचित्य सहभागी नरहेको भनेर प्रतिनिधिहरुलाई काठमाडौं नआउन उर्दी जारी गरिरहँदा संस्थापन पक्षकै नेताहरु उद्घाटन समारोहमा सहभागी भएका छन्।

संस्थापनइत्तरका नेता डा. शेखर कोइरालालाई साथ दिंदै आएका नेताहरु पनि विशेष महाधिवेशनमा सहभागी भएका छन्।

गोपालमान श्रेष्ठ

यसअघि कांग्रेस विभाजनमा शेरबहादुर देउवालाई साथ दिएका गोपालमान श्रेष्ठ विशेष महाधिवेशन उद्घाटनमा सहभागी भएका छन्। उनले बिरामी हुँदाहुँदै पनि आफू पार्टीको नेतृत्व फेरिनुपर्छ भनेर विशेष महाधिवेशनमा सहभागी भएको बताए।

‘पार्टी विधि र विधान अनुसार चुल्नुपर्छ। विशेष महाधिवेशनले गरेको निर्णय कार्यान्वयन गरिनुपर्छ। कसैले हठ गर्नु हुँदैन,’ उनले भने, ‘साथीहरु इतिहासको ब्याज खाएर पार्टी चल्दैन। पार्टी चल्ने शैली बदल्नुपर्छ। युवाहरुलाई अगाडि सार्नुपर्छ।’

संस्थापन पक्षका सहमहामन्त्री फरमुल्लाह मन्सुर तथा केन्द्रीय सदस्यहरु उदय शमशेर राणा, अर्जुन जोशी, राजन केसी, नानु बाँस्तोला, देवेन्द्रराज कँडेल, पुष्पा भुसाल, विनोद चौधरी लगायतले महामन्त्री गगन र विश्वप्रकाशलाई साथ दिएका छन्।

तारानाथ रानाभाट, महेश आचार्य, ओमकारप्रसाद श्रेष्ठ लगायत पुराना नेता पनि विशेष महाधिवेशन उद्घाटन कार्यक्रममा सहभागी भएका छन्।

शेखरको पक्षका चन्द्र भण्डारी र सुनिल शर्मा पनि भृकुटीमण्डपमा छन्।

शेखर पक्षका नेता एवं कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले देश र पार्टी जोगाउन विशेष महाधिवेशनको सफलता अपरिहार्य रहेको बताएका छन्।

पार्टी सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई उद्घाटन समारोहमा सहभागी गराउने प्रयास सफल नभएपछि गगन र विश्वप्रकाशले विशेष महाधिवेशन उद्घाटन गरेका छन्।

उद्घाटनअघि ललितपुरको कुपण्डोल तथा काठमाडौंका सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पसचोक, शंकरदेव क्याम्पस र कमलपोखरीबाट र्‍याली निकालिएको थियो।

उद्घाटन समारोहमा कांग्रेसका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति छ।