काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहमहामन्त्री विपिनकुमार आचार्यले समानुपातिक उम्मेदवारको बन्द सूचीबाट नाम फिर्ता लिएको घोषणा गरेका छन्।
विपिनले आइतबार फेसबुकमार्फत समानुपातिकको बन्द सूचीबाट उम्मेदवारी फिर्ता लिएको भन्दै अब प्रत्यक्षतर्फ चुनाव लड्ने घोषणा गरेका छन्।
‘पार्टीभित्रको आन्तरिक बेथिति होस् वा समग्र राजनीति र देशको बेथिति सफा गर्ने लडाईं लड्नका लागि पर्दा पछाडि जति काम गरे पनि एक दिन पर्दा च्यातेर अगाडि आउनै पर्छ,’ उनले भनेका छन्, ‘देशले विश्वास गर्ने फेस बन्न जरुरी हुन्छ। ब्याकफुटको लडाई लड्नेहरू धेरैजसो टेकन फर ग्रान्टेड लिइन्छन् त्यसैले अब पालो फ्रन्ट फुटमा खेल्ने। समानुपातिकतर्फको बन्दसूचीको एक नम्बरमा रहेको मेरो नाम छोडेर प्रत्यक्षतर्फको यात्रा अघि बढाउँदैछु।’
स्रोतका अनुसार विपनिनलाई सभापति रवि लामिछानेले ब्याक गराएका हुन्।
पार्टीले गरेको प्राइमरी इलेक्सनमा आफूभन्दा बढि मत ल्याएकाहरुलाई पछि पार्दै विपिनले खस आर्यतर्फ आफ्नो नाम समानुपातिक सूचीको पहिलो नम्बरमा राखेपछि रास्वपाभित्र असन्तुष्टि चुलिएको थियो। त्यसपछि रवि निकट व्यक्तिहरुले नै विपिनलाई समानुपातिक सूचीबाट हटाउन सुझाव दिएका थिए। त्यही सुझावका आधारमा रविले विपिनलाई ब्याक गराएको स्रोतले बतायो।