BIZMANDU
www.bizmandu.com

सिजनमा छैन दूध उत्पादन पर्याप्त, डेरीमा पोहोरको जस्तो पाउडर र बटर स्टक धेरै नहुने

२०८२ पुष २६

सिजनमा छैन दूध उत्पादन पर्याप्त, डेरीमा पोहोरको जस्तो पाउडर र बटर स्टक धेरै नहुने
सिजनमा छैन दूध उत्पादन पर्याप्त, डेरीमा पोहोरको जस्तो पाउडर र बटर स्टक धेरै नहुने

काठमाडौं। दूधको मध्य सिजन भए पनि यस वर्ष उत्पादन अपेक्षाभन्दा कम रहेको पाइएको छ। हरेक वर्ष सिजनमा दूधको उत्पादन बढी हुने भएकाले डेरी उद्योगीहरूले त्यसलाई पाउडर दूध र बटरमा रूपान्तरण गरी स्टक राख्ने गर्छन्। सिजनमा बढी दूधको कन्भर्जनले अफसिजनमा दुग्धजन्य पदार्थको माग पूरा गर्न मद्दत गर्छ।

Tata
GBIME
Nepal Life

तर केही वर्षयता दुग्धजन्य पदार्थको खपत घटेसँगै सरकारी तथा निजी डेरीहरूले किसानलाई समयमा भुक्तानी दिन नसक्ने अवस्था देखिएको थियो।

दुग्ध विकास संस्थानका प्राविधिक व्यवस्था विभाग प्रमुख एवम् सूचना अधिकारी निलकण्ठ गौतम गत वर्षको तुलनामा चालु वर्ष सरकारी र निजी प्लान्टमा दैनिक दूध संकलन कम भएको बताउँछन्। ‘एनालाइसिस गर्दा उत्पादन कम भएको देखिएको छ। पहिले यस सिजनमा दूध धेरै आउँथ्यो र कन्भर्जनमा दबाब पर्थ्यो, अहिले दैनिक २०–२५ हजार लिटर मात्र दूध कन्भर्जन भइरहेको छ,’ उनले भने।

हाल देशभर दैनिक एक लाख १५ हजार लिटर दूध संकलन भइरहेको छ। यसको करिब ८५–९० हजार लिटर दूध र दुग्धजन्य पदार्थ बजारमा खपत हुन्छ। पुस महिनामा बिहे, व्रतबन्ध र शुभकार्य कम हुने भएकाले बजारमा माग र खपत घट्ने क्रम बर्सेनि उस्तै हुन्छ। माघमा बजार माग बढ्छ।

गत वर्ष उत्पादन बढी भएकाले दैनिक १ लाख ५० हजार लिटरभन्दा बढी दूध संकलन हुन्थ्यो। बजारमा नबिकेको दूध कन्भर्जन गर्दा पाउडर दूध र बटरको स्टक बढ्थ्यो। नयाँ उत्पादन बढ्दा पुरानो स्टक नबिक्ने भएपछि किसानलाई भुक्तानी दिन समस्या हुन्थ्यो।

गौतमले भने, ‘यो वर्ष दूध कम संकलन भएका कारण पुरानो स्टक छिट्टै खपत भएको छ र किसानलाई भुक्तानी दिन सजिलो भएको छ। संस्थानसँग हाल ४०–४५ करोड रुपैयाँ भुक्तानी बाँकी छ।’

डेरी उद्यमी भने पशुपालकहरुले चिस्यान केन्द्रहरुमा गरिरहेको आपूर्ति परिमाण हेर्दा उत्पादन स्थिर रहेको देखिएको बताउँछन्। डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले भने, ‘दूधको उत्पादन सामान्य छ। देशभर दैनिक ७० लाख लिटर भन्दा बढी दूध उत्पादन भइरहेको छ। यस दूधबाट छुर्पी, चिज, बटर जस्ता दुग्धजन्य पदार्थ बनाइन्छ। तर सबै उत्पादन बजारमा आउँदैन। हाल दैनिक २–३ लाख लिटर दूध मात्र कन्भर्जनमा प्रयोग भइरहेको छ।’

चितवन मिल्क उद्योगका प्रबन्धक दुर्गा पराजुलीले पनि सिजनको मध्यसम्म कच्चा दूध अपेक्षाभन्दा कम आएको बताए। गत वर्ष दैनिक २ लाख लिटर दूध कन्भर्जन हुन्थ्यो भने यस वर्ष ७० हजार लिटर मात्र कन्भर्जन भइरहेको छ। उनी अनुमान गर्छन् कि उत्पादन कम भएका कारण दूध संकलन घटेको हो र सिजनमै कच्चा दूध नआए अफसिजनमा उत्पादन घट्न सक्नेछ।

‘धेरै जाडो भए खपत बढ्ने हो, तर अहिले चिसो कम भएका कारण र उत्पादन कम भएको कारण संकलन घटेको हो। यो वर्ष दुग्धजन्य पदार्थको स्टक धेरै छैन। पुरानो स्टक खपत भइसकेको छ र नयाँ उत्पादन स्टकमा राखिएको छ,’ उनले भने, ‘नौनीको खपत राम्रो छ भने पाउडर दूध अफसिजनमा मात्र मागमा छ। चितवन मिल्क उद्योगसँग हाल करिब ५००० ब्लक बटर र १० हजार बोरा धुलो दूध स्टकमा छ।’

अर्कोतर्फ, एक डेरी व्यवसायीले बताए अनुसार, भारतमा दूध र दुग्धजन्य पदार्थको उत्पादन कम भएको कारण नेपालबाट अवैध रूपमा दूध भारततर्फ जान थालेको छ। भारतमा गत बाढीका कारण तरकारी र दुध उत्पादनमा कमी आएको छ। सीमा नजिकका क्षेत्रमा दूध तस्करी हुँदा बजारमा दूध संकलन घटेको व्यवसायीले बताए।

हाल सरकारी र निजी डेरीहरूले किसानलाई नियमित भुक्तानी दिइरहेका छन्। दुग्ध विकास संस्थानसँग केवल पुरानो भुक्तानी बाँकी छ। भारतमा नेपालको दूध बढी मूल्यमा बिक्री हुन थालेपछि तस्करी बढेको छ। साइकल र बाइकमार्फत दूध भारततर्फ लैजाने क्रम बढेको उनीहरूले जानकारी दिए।