म्याग्दी। निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनामा सुरुङभित्रका प्रमुख संरचना निर्माण कार्य सम्पन्न भएको छ। नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर लिमिटेडले रघुगंगा गाउँपालिका–४ र ५ को सिमानामा निर्माण गरिरहेको आयोजना तयार हुन अब धेरै छैन।
आयोजनाको बाँधदेखि तिल्केनीचौरसम्म जोडिने मुख्य सुरुङ, पेनस्टक पाइपलाइन, भर्टिकल प्रेसर साफ्ट, बटम प्रेसर साफ्ट, टप पेनस्टक तथा पेनस्टक पाइपलाइन जडान सम्पन्न भएको छ। आयोजनाको कुल ६ किलोमिटर २७० मिटर लामो मुख्य सुरुङ, १ किलोमिटर ८२ मिटर लामो पेनस्टक पाइपलाइन, १९६ मिटर भर्टिकल प्रेसर साफ्ट, ६१ मिटर अग्लो सर्ज साफ्ट र ३२९ मिटर बटम प्रेसर साफ्ट निर्माण भएको छ।
२०८१ साउन १५ गते मुख्य सुरुङ ‘ब्रेकथ्रु’ भएको र हाल प्लास्टर तथा ढलान कार्य सम्पन्न भएको रघुगंगा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले जानकारी दिए। केही अडिट जक्सनमा ग्राउटिङ र लाइनिङ बाँकी रहेको उनले बताए।
आयोजनाको हालसम्म ९२ प्रतिशत भौतिक प्रगति भएको र २०८२ फागुनभित्र परीक्षण उत्पादन सुरु गर्ने लक्ष्यसहित बाँध, सुरुङ, विद्युत्गृह तथा इलेक्ट्रोमेकानिकलतर्फको काम अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ।
रघुगंगा गाउँपालिका–४ दग्नाम र वडा ५ झिँको फेदीमा ३१ मिटर लामो र १७ मिटर अग्लो बाँध निर्माण भएको छ। तिल्केनीचौरस्थित विद्युत्गृहको संरचना निर्माण ९८ प्रतिशत सम्पन्न भइसकेको छ। दुईवटा २०–२० मेगावाट क्षमताका युनिटमध्ये एउटा युनिटमा टर्बाइन र जेनेरेटर जडान सम्पन्न भई दोस्रो युनिटको जडान अन्तिम चरणमा पुगेको आयोजनाका व्यवस्थापक राजबहादुर विष्टले जानकारी दिए।
राहुघाट जलविद्युत् आयोजनाले वार्षिक २४ करोड युनिटभन्दा बढी विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ। रासस