BIZMANDU
www.bizmandu.com

विशालका तनावपूर्ण ६ वर्ष, आधा अर्बमा ठमेलमा तयार भयो अत्याधुनिक नोभा क्लब

२०८२ पुष २५

विशालका तनावपूर्ण ६ वर्ष, आधा अर्बमा ठमेलमा तयार भयो अत्याधुनिक नोभा क्लब
विशालका तनावपूर्ण ६ वर्ष, आधा अर्बमा ठमेलमा तयार भयो अत्याधुनिक नोभा क्लब

काठमाडौं । पोखराका विशाल तुलाचनका लागि पछिल्लो ६ वर्ष सबैभन्दा तनावपूर्ण समय बन्यो। देशभित्र ठूलो लगानीमा क्लब खोल्ने योजना थालेसँगै एकपछि अर्को अवरोध छिचोल्न उनको सबैभन्दा ऊर्जाशील समय खर्चिनुपर्‍यो।

Tata
GBIME
Nepal Life

एकपछि अर्को अवरोध आएपछि विशाललाई विश्वास गरेर लगानीकर्ताका रुपमा भित्रिएका कतिपय व्यक्तिले साथ नै छाडे।

एउटा दृढ ईच्छाशक्ति र प्यासनले ती सबै अवरोध छिचोलेर लक्ष्यमा पुग्न अहिले उनी सफल भएका छन्। त्यो सपनाको आकार तयार भएर संचालनमा आउँदा विशाल खुशी छन्।

स्थापना भएको आधा दशक नपुग्दै कन्दरा ब्यान्ड चर्चामा थियो। विदेशमा हुने साङ्गीतिक कार्यक्रममा पनि कन्दरा खोजी हुन थालेको थियो। किशोरावस्थाका विशाल पनि ‘लोक-पप’ संगीतको महोलमा रमाउन थालेका थिए।

सन् १९९७ मा नै हो, विशालले कन्दरालाई नेपालबाट हङकङको यात्रा गराएको। सोह्र वर्षकै उमेरका विशालका लागि विदेशमा पहिलो ‘इभेन्ट’ थियो त्यो। पप संगीतमा जमेका धिरज राईदेखिका कलाकारलाई उनले त्यहाँ सहभागी गराए। १४ जनाको नेपाली टोलीलाई व्यवस्थापन गरेर देशबाहिर गरिएको इभेन्टले उनलाई थप उत्साहित बनायो। साथी जगत तामाङले पनि भरमग्दुर साथ दिए उनलाई। जसो जसो उमेर परिपक्व बन्दै गयो, विशालले गर्ने इभेन्टहरू थपिँदै गए।

उनले हङकङमा नै ७ वटा इभेन्ट गरे। विदेशमात्र होइन, पोखरा, भैरहवा र काठमाडौंमा पनि उनले यस्ता इभेन्ट सफलता पूर्वक संचालन गरे। नेपालमा क्लब र नाइट लाइफ जमिनसकेकै बेलामा उनमा भने यस्तैखाले इभेन्टको लत बस्दै थियो। अन्तत: उनले यसलाई नै व्यवसाय बनाए।

विदेशमा रात छर्लङ्ग काट्ने क्लब देखेका उनले सोचे – नेपालमा पनि किन यस्तै नबनाउने? त्यतिखेर ठमेलमा फाट्टफुट्ट क्लब संचालनमा थिए। विदेशमा झै तिनमा भव्यताको अभाव देखे। त्यसैले उनले पनि एउटा क्लब खोज्ने योजना बुने र जन्मियो- क्लब नोभा।

मेरो जीवनको ऊर्जावान् समय यसमा नै खर्चेको छु। एउटा प्यासन नभई काम गर्न सकिँदैन। म मेरो उद्देश्यमा प्रष्ट भएकाले आजको नोभा भएको हो।

विशाल तुलाचन

‘नेपालमा पनि नयाँ, ठुलो र अत्याधुनिक क्लब बनाउनुपर्छ भन्ने लागेर रिस्क नै लिएर खोलिएको हो,’विशाल क्लभ नोभाको गर्भको सन्दर्भ सुनाए।

अध्याँरो रात चिर्ने नोभा

विशालले बजार अध्ययन गर्दा देखियो – काठमाडौंमा अझै दुईचारवटा नाइट क्लब चल्छ। नाइट लाइफमा पहिचान बनाएको ठमेललाई नै उनले केन्द्र बनाए। जग्गा भाडामा लिए। क्लब निर्माण थाले। सुरुमा एकल लगानी। पछि साथभाइ जोडिँदै गए। त्यतिखेर नै विश्वभर कोभिड-१९ सुरु भयो। नेपाल पनि त्यसैको प्रकोपमा पर्‍यो। कोभिड -१९ ले धेरैको व्यवसाय गलायो। विशाल पनि प्रकोपको त्यही घानमा परे।

त्यस बाहेक व्यवसाय खोल्दाका कानुनी र मुद्दा मामिलाका उल्झनले उनको प्रयासलाई अझ पर धकेलिदियो। व्यावसायिक साझेदारबाट पनि साथ टुट्न थाल्यो। विशालले भने क्लबको सपना छाडेनन्।

‘मेरो जीवनको ऊर्जावान् समय यसमा नै खर्चेको छु। एउटा प्यासन नभई काम गर्न सकिँदैन। म मेरो उद्देश्यमा प्रष्ट भएकाले आजको नोभा भएको हो,’ विशालले क्लब संचालनको सन्दर्भ सुनाए।

६ वर्ष उनले भोगेका कठिनाईको सूची लम्बेतान छ। तर, उनी त्यो लम्बेतान सूची सुनाएर विगत फर्किन चाहँदैनन्। र, विगतमा पाइलैपिच्छे भोगेका अवरोध खोतल्न पनि खोजेनन्।

‘होइन विगतमा जे भयो त्यो सम्झिन चाहन्न। सबैको सहयोगबाटै यहाँसम्म आइपुगेको हो,’ विशालले निराश मुद्रामा भने।

पछिल्लो समय उनीसँग जोडिएका व्यावसायिक साझेदारहरूले भने उनलाई साथ दिइरहेका छन्। झन्डै ६ वर्षको कठिन मेहनतपछि अहिले ठमेलमा अध्याँरो रात चिर्ने नोभा तयार छ। यो तीन महिनादेखि संचालनमा पनि छ।

५० करोडको लागत

सोह्र वर्षका लागि जग्गा लिगमा लिएर क्लबको भवन तयार पारेका हुन् विशालले। ठमेल जस्तो प्राइम लोकेसनमा गाडी/बाइक पार्किङ क्लबमै छ। यहाँका अधिकांश क्लब पार्किङ बिनाका छन्। उनका अनुसार नोभाको पार्किङमा ६०/७० वटा चारपाङ्ग्रे र दुई सयवटा बाइक/स्कुटर अटाउँछ।

क्लबको लागत पनि अप्रत्यासित रह्यो विशालका लागि। क्लब बनाउन सुरु गर्दा १ डलरको मूल्य १ सय रुपैयाँ थियो। कोभिड-१९ लगत्तै डलरको भाउ बढेर १३५ हुँदै अहिले १४० माथि पुग्यो। यसले क्लबको लागत पनि उकासियो।

‘सबै गर्दा ४५ देखि ५० करोड रुपैयाँ लागत छ यसमा। हामीले अत्याधुनिक सामानहरू प्रयोग गरेकाले पनि महँगो भएको हो,’ विशालले भने।

क्लबमा प्रयोग गरिएका लाइट, साउन्ड सिस्टम र अन्य उपकरण अत्याधुनिक छन्। ती उपकरण भारत, क्यानडा र चीनबाट ल्याइएको हो। विशालका अनुसार स्पिकर क्यानडाबाट ल्याइयो भने लाइट चीन र भारतबाट। नोभामा हाइड्रोलिक लाइटको प्रयोग गरिएको छ।

क्लबबाट निस्कने चर्को ध्वनीले सधैं विवाद निम्त्याउँछ। त्यसैले उनले भित्तामा मात्र होइन सिलिङ र फ्लोरिङमा पनि साउन्डप्रुफ प्रविधि लगाएका छन्। ‘यहाँ १० डेसिबल ध्वनि भए पनि बाहिर जाँदैन। त्यसका लागि हामीले २३ कन्टेनर सामान विदेशबाट ल्याएका छौं,’विशालले भने।

क्लब २५ सय जना क्षमताको छ। अहिले दैनिक २ हजारको हाराहारीमा मानिसहरू पुग्ने गरेका छन्। ठूलो इभेन्टमा हाउस फूल हुन्छ क्लब।

पोखरामा अर्को ‘नोभा’ खोल्ने लक्ष्य

नोभा क्लबभित्र ५ वटा अलग अलग प्राइभेट बार छन्। त्यसबाहेक सय जनाका लागि अलग्गै हल पनि छ जहाँ मुख्य क्लबको ध्वनी पुग्दैन। त्यहाँ आइसोलेट तरिकाले रमाउन मिल्छ आफ्नो अलग समूहसहित। त्यस्तै, क्लबको माहोलबाट बाहिरिएर रिफ्रेस हुनेका लागि आउटडोर स्पेस छ।

सामान्य दिनमा नोभामा १ हजार रुपैयाँ प्रवेश शुल्क लाग्छ। त्यसबाहेक १० हजार रुपैयाँदेखि डेढ लाखसम्मका टेबल पनि उपलब्ध छन्। एउटा टेबलमा तीनदेखि १५ जनासम्म बस्न मिल्छ। ‘पछिल्लो समय क्लब आउनेको संख्या बढेको देखिएको छ,’ लगानीको संघर्ष र संचालनपछिको प्रतिफललाई मूल्यांकन गर्दै विशालले भने।

नोभामा १७० जना कर्मचारीले रोजगारी पाएका छन्। ठूलो इभेन्टमा भने नियमितबाहेकका कर्मचारी थपिन्छन्। क्लबको सुरक्षामा उनी सचेत सुनिए। त्यसैले क्लबमा ५० जना निजी सुरक्षागार्ड राखेका छन्। ठूलो इभेन्टमा यो संख्या सयसम्म पुग्छ।

विशालले काठमाडौं बाहेक पोखरामा पनि यस्तैखाले क्लबको परिकल्पना गर्दैछन्।

‘यो मेरो पर्सनल लाइफको सबै भन्दा ठूलो चिज हो। मेरो पसिना यहीँ छ। अर्को पनि खोल्ने सोच बनाएको छु,’ उनले सुनाए।