काठमाडौं। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाललाई नयाँ कार्यसमिति चयनको प्रक्रिया अगाडि नबढाउन आदेश दिएको छ।
न्यायाधीश टंकप्रसाद गुरुङ र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले नयाँ नेतृत्व चयनका लागि शुक्रबारका लागि तय कार्यक्रम यथास्थितिमा राख्न बिहीबार आदेश दिएको छ। अदालतले नाडासँग पुस ९ गतेको साधारण सभामा अपनाइएका प्रक्रियासँग सम्बन्धित सबै कागजात मागेको छ।
‘संस्थाको मिति २०८२।९।९ को साधारण सभा उत्प्रेषणको आदेशले बदर गरी पाउँ भन्ने समेत निवेदनमा उल्लेख भएको देखिएबाट परिस्थितिमा आधारभूत परिवर्तन भइसकेको सन्दर्भमा मिति २०८२।९।२५ गते सम्पन्न गर्ने भनी सो पत्रमा उल्लेख भएका थप कार्यक्रम तत्काल सम्पन्न नगरी यथास्थितिमा राखी मिति २०८२।९।९ मा सुरु भएको साधारण सभा, निर्वाचनको प्रकृयामा अपनाइएका सम्पूर्ण कागजातसहितको फाइल झिकाई लिखित जवाफ परेपछि वा अवधि नाघेपछि उत्प्रेषणको रिटसमेत साथै राखी नियमानुसार पेस गर्नू,’ अदालतले भनेको छ।
नाडाले पुस ९ गते साधारण सभा गरी १० गते निर्वाचन तालिका सार्वजनिक गरेको थियो। तालिका अनुसार १७ गते उम्मेदवारी दर्ताको तालिका थियो। त्यसदिन २५ सदस्यीय कार्यसमितिका लागि २५ जनाले नै उम्मेदवारी दर्ता गराएका थिए।
अध्यक्षमा निवर्तमान महासचिव सुरेन्द्र उप्रेतीको मात्र उम्मेदवारी परेको थियो। अरु पदाधिकारी र सदस्य पनि निर्विरोध भएका थिए। नाडाले निर्विरोध भएको नयाँ कार्यसमितिलाई शुक्रबारको निर्वाचनबाट निर्वाचित भएको घोषणा गर्ने तालिका थियो।
निर्वाचन तालिकाविनाको पुस ९ गतेको साधारण सभा रोक्न माग गर्दै नाडा कार्यसमितिका तत्कालीन सदस्य आकाश गोल्छा पुस ६ गते अदालत गएका थिए।
गोल्छाको रिट निवेदनमा उच्च अदालतले साधारण सभा र निर्वाचन प्रक्रियामा अपनाइएका कागजात मागेको हो। गोल्छाले निवर्तमान नेतृत्वले अगाडि बढाएको प्रक्रिया नै त्रुटीपूर्ण भएकाले अदालतले निर्वाचन प्रक्रिया यथास्थितिमा राख्न आदेश दिएको बताए।
अदालतले फाइल झिकाउनका लागि अवधि तोकेको छैन। यस्तै सुनुवाईको अर्को मिति पनि तोकिएको छैन। जसका कारण नाडामा नयाँ नेतृत्व चयन प्रक्रिया अनिश्चित बनेको छ।
पुस १७ गते आफ्नो मात्रै उम्मेदवारी परेका कारण निर्विरोध भए पनि निर्वाचनबाट विजयी भएको घोषणा नहुँदै उप्रेतीले अध्यक्षका रुपमा कार्यसमितिको बैठक डाकेको खुलेको छ।
उनले निर्वाचित भएको घोषणा नभएको नयाँ कार्यसमितिको बैठकको मिति शुक्रबारलाई तोकेर २२ गते पत्र काटेका हुन्। पत्र नाडाको ह्वाट्स एप ग्रुपमा पनि हालिएको थियो।
उप्रेतीले शपथ लिन बाँकी रहँदै अध्यक्षको रुपमा पत्र लेख्नु गलत भएको स्वीकार गरे। ‘पत्र ग्रुपमा पनि गएको रहेछ। त्यो अलिक गलत भयो,’ उनले भने।
उनले आफूहरु निर्विरोध भए पनि अदालतको आदेशका कारण शुक्रबारका लागि तय निर्वाचनका सबै गतिविधि रोकिएको बताए।