BIZMANDU
www.bizmandu.com

सुन तोलामा दुई हजार घट्दा चाँदीमा एक सय गिरावट, के अब सस्तिने पालो हो?

२०८२ पुष २४

सुन तोलामा दुई हजार घट्दा चाँदीमा एक सय गिरावट, के अब सस्तिने पालो हो?
सुन तोलामा दुई हजार घट्दा चाँदीमा एक सय गिरावट, के अब सस्तिने पालो हो?


काठमाडौं। सुनचाँदीको लगातार बढेको कारोबार मूल्य क्रमिक घट्दैछ। अघिल्लो दिनका तुलनामा बिहीबार सुन तोलामा दुई हजार र चाँदी एक सय रुपैयाँ घटेको छ।

Tata
GBIME

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिक्री मूल्य सुन प्रति तोला २ लाख ६५ हजार ७ सय रुपैयाँ भएको छ। यसअघि बुधबार तोलाको २ लाख ६७ हजार ७ सय रुपैयाँ थियो।

चालु महिनाको प्रारम्भमा तोलाको २ लाख ५९ हजार रुपैयाँ रहेको कारोबार मूल्य बढ्दै २ लाख ७० हजार ६ सय रुपैयाँसम्म पुगेको थियो।

घटबढको क्रम जारी रहँदा गत आइतबार तोलाको २ लाख ६० हजार ४ सय रुपैयाँमा आइपुगेको थियो। ४ हजार ६ सय रुपैयाँ बढेर सोमबार कारोबार मूल्य २ लाख ६५ हजार पुग्यो। मंगलबार ३१ सय बढेर २ लाख २ लाख ६८ हजार १ सय रुपैयाँ पुग्यो। बुधबार ४ सय घट्यो भने बिहीबार २ हजार घटेको हो।

चाँदी प्रति तोला ४ हजार ८ सय ३५ रुपैयाँ भएको छ। अघिल्लो दिनका तुलनामा यो एक सय रुपैयाँ घटेको हो। बुधबार तोलाको ४ हजार ९ सय ३५ रुपैयाँ पुगेको थियो, जो नेपाली बजारमा चाँदीका लागि सर्वाधिक उच्च मूल्यको कीर्तिमान थियो। चालु महिनाको सुरुमा चाँदी तोलाको ३ हजार ८ सय ८५ रुपैयाँ थियो। घट्दा पनि ४ हजार ५ रुपैयाँभन्दा तल गएको छैन।

अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रति औंस ४४२६.५२ डलरमा झरेको छ। अघिल्लो दिन ४४५९.८९ डलर थियो। चाँदी पनि प्रति औंस ७९.०६ डलरबाट घटेर ७७.१२ डलरले कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धिमा ऐतिहासिक रेकर्डहरू कायम गरेको सुनचाँदीको मूल्यमा अहिलेको गिराबवट सामान्य हो। अहिलेको गिरावटलाई धेरैले नाफा सुरक्षित (प्रोफिट बुकिङ) गर्ने समयको रूपमा लिएका छन्। लामो समयदेखि मूल्य बढिरहेकाले लगानीकर्ताहरूले आफूसँग भएको सुन बेचेर नाफा सुरक्षित गर्न थालेका छन्, जसले गर्दा बजारमा आपूर्ति बढेर मूल्य केही घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलर बलियो हुँदा सुनको मूल्यमा गिरावट आउने गर्दछ। हाल डलरको सूचकांकमा देखिएको सुधारले सुनको मूल्यलाई थोरै दबाबमा पारेको छ। अमेरिकी केन्द्रीय बैंक फेडको ब्याजदर सम्बन्धी निर्णयहरू र आगामी आर्थिक तथ्यांकहरूको पर्खाइमा लगानीकर्ताहरू रहँदा बजारमा केही अस्थिरता देखिएको छ।

अमेरिकी डलर बलियो बन्दा सुन–चाँदी अन्य मुद्रामा महँगो पर्छ, जसले माग घटाउँछ। केन्द्रीय बैंकहरूले ब्याजदर चाँडै नघट्ने संकेत दिँदा ब्याज दिने साधनतर्फ लगानी सर्छ र सुनचाँदीको आकर्षण घट्छ। मुद्रास्फीति केही नियन्त्रणमा आउँदा सुरक्षित आश्रयको माग कम हुन्छ। साथै, सुनको मूल्य पछ्याएर सेयर जस्तै कारोबार हुने कोषबाट लगानी निकासी र सेयर बजारतर्फ जोखिम लिन चाहने प्रवृत्तिले पनि मूल्य घटाउन दबाब दिएको छ।

बजार विश्लेषकहरूका अनुसार यो गिरावट स्थायी नभएर एउटा ‘करेक्सन’ मात्र हुन सक्छ। सन् २०२६ का लागि अधिकांश ठूला बैंक तथा वित्तीय संस्थाहरूको प्रक्षेपण अझै पनि सकारात्मक छ। उनीहरूले मूल्य घट्छ भनेका छैनन्।