काठमाडौं। सेयर बजार लगातार दोस्रो दिन बढेको छ। नेप्से परिसूचक मंगलबार ९.९३ अंक बढेर २६४९.३० विन्दुमा पुगेको छ। होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन बाहेकका उपसमूहले बजार बढाएका हुन्।
फाइनान्सको सूचक सबैभन्दा धेरै २.८७ प्रतिशतले बढेको छ। बजारमा १४८ कम्पनीका लगानीकर्ताले कमाएका छन्। जीवन विकास लघुवित्तको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ।
बजारमा १०३ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। रुरु जलविद्युत कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै ८.४१ प्रतिशतले घटेको छ।
सूचकसँगै बजारमा कारोबार रकम पनि बढेको छ। मंगलबार ७ अर्ब १२ करोड ३३ लाख रुपैयाँको सेयर किनबेच भएको छ। यो कारोबार रकम पछिल्लो दुई महिनायताकै सर्वाधिक हो। यसअघि कात्तिक १६ गते ९ अर्ब २० करोड रुपैयाँको सेयर किनबेच भएको थियो।
एसवाई प्यानल नेपालको सर्वाधिक २४ करोड ८८ लाख रुपैयाँको सेयर किनबेच भएको छ।
बुटवल पावर कम्पनीको २३ करोड ६७ लाख रुपैयाँको सेयर कारोबार भएको छ। यस्तै, शिवम् सिमेन्टको २३ करोड ४७ लाख रुपैयाँको सेयर किनबेच भएको छ।